काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले कुनै पनि 'न्युक्लियर ब्ल्याकमेल' नसहने बताएका छन् । सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै भारतविरुद्ध आतंककारी आक्रमण भएकाले त्यसको जवाफ दिइने बताएका हुन् ।
मोदीले सम्बोधनका क्रममा भने, 'हामीले आफ्नै तरिकाले आफ्नै सर्तमा जवाफ दिएरै छाड्छौँ । जहाँबाट आतंक सुरु भएको हो त्यहाँ पुगेर कठोर कारबाही गर्छौँ ।' अप्रिल २२ मा जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको मृत्यु भएको थियो ।
त्यसपछि भारतले पाकिस्तानी भूमिमाथि आतंकवादी क्याम्पमा भन्दै अपरेसन सिन्दूर चलाएको थियो । सोमबार भारतीय प्रधानमन्त्री मोदीले अगाडि भने, 'कुनै पनि न्युक्लियर ब्ल्याकमेल भारत सहँदैन । न्युक्लियर ब्ल्याकमेलको आडमा बढिरहेको आतंकवादीहरूको अड्डामा भारतले सटिक र निर्णायक प्रहार गर्नेछ ।'
सोमबार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरूले भारत र पाकिस्तानबीच युद्धविराम गराएको दाबी गरेका छन् । आणविक तनाव रोकिँदा धेरैको ज्यान पनि जोगिएको उनको भनाइ छ । उनले अगाडि भने, 'हामीले आणविक तनाव रोकिदिएका छौँ । आणविक युद्ध नै हुन सक्थ्यो र त्यसमा लाखौँको ज्यान जान सक्थ्यो ।'
