पूर्वीकंगोमा आएको बाढीका कारण १०० भन्दा बढीको मृत्यु

वैशाख २७, २०८२

रासस

More than 100 dead due to floods in eastern Congo

बुकावु — प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रमा रातको समयमा आएको बाढीका कारण १०० जनाभन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार एएफपीलाई जानकारी दिएका छन् ।

मुसलधारे वर्षाका कारण बिहीबार–शुक्रबार राति सुद किवु प्रान्तको कसाबा गाउँमा आएको बाढीले भौतिक संरचनाका साथै व्यापक मानवीय क्षति पुगेको क्षेत्रीय अधिकारी बर्नार्ड अकिलीले एएफपीसँग बताए । 

मुसलधारे वर्षाका कारण कासाबा नदीको किनारबाट रातिको समयमा वरपरका खाली ठाउँमा रहेका ढुंगा, ठूला रूख र माटो बगाएर खोलामा ताल बनेको र सोही तालको किनारामा रहेका घरहरू भत्किएका उनले बताए । 

क्षेत्रीय प्रशासक सामी कालोन्जीले बाढीका कारण कम्तीमा १०४ जनाको मृत्यु भएको र व्यापक भौतिक क्षति भएको बताएका छन् । 

अर्का एक स्थानीय बासिन्दाले एएफपीलाई बताएअनुसार शनिबारसम्म ११९ जनाको शव फेला परेको छ ।

टाङ्गानिका तालको छेउमा रहेको र तालबाट मात्र पुग्न सकिने उक्त गाउँमा इन्टरनेट सेवा नभएको एक स्थानीय मानवीय सहायताकर्मीले एएफपीलाई बताए ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गाका विशेष गरी पूर्वमा ठूला तालहरूको किनारमा यस्ता प्राकृतिक प्रकोपहरू बारम्बार हुने गरेका छन् । 

सन् २०२३ मा दक्षिण किवु प्रान्तको किवु तालको किनारमा रहेका विभिन्न समुदायका करिब ४०० जनाको बाढीका कारण मृत्यु भएको थियो । 

रासस

Link copied successfully