काठमाडौँ — भारत र पाकिस्तानबीचको तनाव शुक्रबार पनि कायमै रह्यो । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि भारत–पाकिस्तानबीचको तनाव उत्कर्षोन्मुख छ ।
कश्मीरमा २६ पर्यटकको ज्यान लिने गरी भएको आक्रमणको जवाफमा भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएर पाकिस्तान नियन्त्रित कश्मीर र भित्री पाकिस्तानसमेत सुरु गरेको हो । जवाफमा पाकिस्तानले पनि बिहीबार साँझ भारतका विभिन्न स्थानमा ३ सयदेखि ४ सय ड्रोन आक्रमण गरेको भारतीय सैन्य अधिकारीहरूले दाबी गरेका छन् ।
भारतले सुरु गरेको ‘अपरेसन सिन्दूर’ पछि त्यस हमलामा महिला र बालबालिकासहित ३१ जना निर्दोष नागरिक मारिएको प्रतिक्रिया दिँदै पाकिस्तानले पनि जवाफी कारबाही गरेको बताएको छ । भारत र पाकिस्तानबीच दशकौंपछि द्वन्द्व चरमोत्कर्षमा पुगेसँगै विवादित कश्मीरका सीमामा दुवैतर्फ आक्रमणमा परी सर्वसाधारणहरू हताहत भइरहेका छन् ।
भारतीय विदेश मन्त्रालयले बिहीबार राति पाकिस्तानले ३/४ सयवटा ड्रोन आक्रमण गरेको जनाएको छ । शुक्रबारको प्रेस ब्रिफिङमा कर्नेल सोफिया कुरैसीले बिहीबार राति भारतका विभिन्न ३६ स्थानमा पाकिस्तानले ड्रोन आक्रमण गरेको जानकारी दिएकी हुन् ।
‘लेहदेखि सरक्रिकसम्म ३६ ठाउँमा ३/४ सय ड्रोनका माध्यमबाट घूसपैठको प्रयास भयो । भारतीय सुरक्षा बलले काइनेटिक र ननकाइनेटिक उपकरण प्रयोग गरी थुप्रै ड्रोन खसाले,’ कर्नेल कुरैसीले ब्रिफिङमा भनिन् । पाकिस्तानले भने भारतीय पक्षले लगाएको आरोप खण्डन गर्दै आएको छ ।
बिहीबार राति पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले बीबीसीसँगको कुराकानीमा ड्रोन आक्रमण नगरेको दाबी गरेका थिए । ‘हामीले अहिलेसम्म केही गरेका छैनौं,’ उनले भनेका थिए, ‘जब पाकिस्तानले आक्रमण गर्नेछ, सबैलाई थाहा हुनेछ ।’ कर्नेल कुरैसीका अनुसार पाकिस्तानले टर्किएमा बनेका ड्रोनबाट आक्रमण प्रयास गरेको हो । त्यस्तै उनले सीमा क्षेत्रमा पाकिस्तानले भीषण गोलाबारी गरेको पनि बताएकी छन् । सीमापारबाट भएको आक्रमणमा केही मानवीय क्षति भएको बताए पनि त्यसको संख्याबारे भने उनले केही खुलाइनन् ।
भारत र पाकिस्तानबीचको पछिल्लो द्वन्द्वले युद्धको रूप लिन थालेसँगै त्यसलाई कम गर्न कूटनीतिक प्रयासहरू सुरु भए पनि हाललाई त्यो कम हुने संकेत देखिएको छैन । दुवै देशले पछिल्लो तनावका बीच एकअर्काको सीमापार हमला गर्नका लागि मानवरहित ड्रोनहरूको प्रयोगलाई व्यापकता दिएका छन् । बुधबारदेखि भारतले पाकिस्तानमा सुरु गरेको हमलामा मुख्य गरेर ड्रोनहरू नै प्रयोग गरेको बताएको छ । यस्तै, बिहीबार र शुक्रबार पनि भारतले ड्रोनमार्फत पाकिस्तानका रावलपिण्डी, लाहोर र कश्मीरका विभिन्न स्थानमा आक्रमण गरेको बताइएको छ ।
दुई छिमेकी राष्ट्रबीच चर्किएको युद्धका कारण दुवै देशका सीमामा बस्ने सर्वसाधारणहरू त्रसित छन् । दुवै देशका सीमा क्षेत्रमा रातको समयमा ‘ब्ल्याक आउट’ गर्ने गरिएको छ । भारत र पाकिस्तानका नियन्त्रण रेखा नजिकै कुनै समय व्यस्त रहने सहर र गाउँहरूका बजार, विद्यालय र सडकहरू अहिले सुनसान हुन थालेका छन् ।
भारतीय सेनाले पाकिस्तान माथि सुरु गरेको कारबाहीलाई थप सशक्त बनाउनका लागि आफ्ना रिजर्भ फोर्सलाई पनि तैनाथ गर्न सुरु गरेको छ ।
पाकिस्तानले अवन्तिपुरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, भटिन्डा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुजलाई निसाना बनाएको भारतले जनाएको छ । ती सहरमा गरिएका हमलालाई हवाई प्रतिरक्षा प्रणालीद्वारा निष्क्रिय पारिएको दाबी भारतीय रक्षा मन्त्रालयले गरेको छ । लगत्तै भारतले पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा प्रणाली ‘निष्क्रिय’ पारिदिएको भारतको दाबी छ ।
बुधबारयता २५ वटा भारतीय ड्रोन खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । तीमध्ये ३ ड्रोन रावलपिन्डीमा खसालेको दाबी छ । पाकिस्तानका कराँचीलगायतका केही सहरमा ड्रोनका कारण क्षति पुगेका तस्बिर सार्वजनिक भएका छन् ।
पाकिस्तानले भारत प्रशासित जम्मु सहरमा बिहीबार साँझ हमला सुरू गरेसँगै क्रिकेट शृंखला आईपीएलअन्तर्गत हिमाञ्चलको धर्मशालामा बिहीबार साँझ भइरहेको पञ्जाब र दिल्लीबीचको खेल पनि पहिलो इनिङ्सको ११ औं ओभरमा रोकिएको थियो । भारतको पञ्जाब प्रान्तको पठानकोट सहरमा पनि विस्फोट सुनिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले समाचार लेखेको छ ।
पाकिस्तानले जम्मु–कश्मीरमा गरेको आक्रमणमा ज्यान गुमाउनेको संख्या १६ पुगेको भारतीय विदेश सचिव विक्रम मिस्रीले पुष्टि गरेका छन् । उनका अनुसार ५९ जना घाइते छन् । ‘पाकिस्तानले सर्वसाधारणमाथि आक्रमण गरेको छ, पहलगाममा २२ अप्रिलमा भएको आक्रमणमा पाकिस्तान जिम्मेवार छ भन्ने फेरि पुष्टि भएको छ,’ प्रेस ब्रिफिङमा मिस्रीले भने ।
भारतसँग तनाव बढेपछि पाकिस्तानको पञ्जाब प्रान्तका विद्यालय दुई दिनका लागि बन्द गरिएको छ । पञ्जाब सरकारले शुक्रबार र शनिबार सबै विद्यालय बन्द राख्न आदेश दिएको हो । ओ–लेभल र ए–लेभलका परीक्षा भने तोकिएकै तालिकाअनुसार जारी रहने जनाइएको छ । भारतको पञ्जाब प्रान्तमा पनि तीन दिन विद्यालय बन्द गरिएको छ ।
पाकिस्तानको लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कर्मचारीलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । दूतावासले वेबसाइटमा सूचना जारी गर्दै लाहोरको मुख्य विमानस्थल वरपरको क्षेत्र खाली गर्ने पाकिस्तानी अधिकारीको तयारी रहेको पनि जानकारी दिएको छ ।
