लियो चोधौं नयाँ पोप

वैशाख २६, २०८२

एजेन्सी

Leo the Fourteenth is the new Pope

काठमाडौँ — रोमन क्याथोलिक चर्चको २६७ औं पोपका रूपमा कार्डिनल रोबर्ट फ्रान्सिस प्रिभोस्ट निर्वाचित भएका छन् । उनी पहिलो अमेरिकी मूलका पोप हुन् । उनलाई अब पोप लियो चौधौंको रूपमा चिनिनेछ । बिहीबार पोप निर्वाचित भएसँगै लियोले सेन्ट पिटर बासिलिकाको बाल्कनीबाट हजारौं दर्शकसामु आफ्नो पहिलो सम्बोधन गरेका थिए । उनले शान्तिका लागि आह्वान गर्नुका साथै दिवंगत पोप फ्रान्सिसलाई श्रद्धाञ्जली अर्पण गरे । 

अमेरिकाको सिकागोमा जन्मिएका लियो ६९ वर्षका छन् । उनले आफ्नो अधिकांश समय ल्याटिन अमेरिकामा मिसनरीका रूपमा बिताएका थिए । उनी अमेरिका र पेरु दुवै देशका नागरिक हुन् । पेरुमा उनले विशपका रूपमा सेवा गरेका थिए । उनले यसअघि विशप नियुक्तिमा प्रभावशाली ‘भ्याटिकन कार्यालय’को नेतृत्व गरेका थिए । यसअघिका पोप फ्रान्सिसको गएको अप्रिलमा ८८ वर्षको उमेरमा निधन भएको थियो । 

पोपको निर्वाचनपछि विश्वभरका नेताहरूले उनलाई बधाई दिँदै नयाँ पोपसँग विश्वव्यापी मुद्दामा सहकार्य गर्ने तत्परता व्यक्त गरेका छन् । उनी रोमन क्याथोलिक चर्चको नेतृत्व गर्ने पहिलो अमेरिकी धर्मगुरु भएकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस ऐतिहासिक चयनलाई देशका लागि ठूलो सम्मान भनेका छन् । शनिबार मात्रै ट्रम्पले आफूलाई पोपका रूपमा देखाइएको एआई-जेनेरेटेड तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेपछि  क्याथोलिकहरूले आपत्ति जनाएका थिए । 

एजेन्सी

Link copied successfully