जनवरीदेखि अप्रिलसम्म ७९ नेपाली निष्कासित, गैरकानुनी रूपमा बस्दै आएका, आपराधिक गतिविधिमा संलग्न रहेकालाई निष्कासन
अमेरिका — अमेरिकाले सन् २०२५ को सुरुवाती चार महिनामा ६५ हजार ६ सय ८२ आप्रवासीलाई निष्कासन गरेको छ । गैरकानुनी रूपमा बस्दै आएका, आपराधिक गतिविधिमा संलग्न रहेका र अदालतबाट निष्कासनको आदेश पाइसकेकालाई यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले निष्कासन गरेको हो ।
आइसको तथ्यांकअनुसार गत जनवरीदेखि अप्रिलसम्म निष्कासन गरिएकामध्ये ७९ नेपाली र ४ जना भुटानी शरणार्थी छन् । १ करोड १० लाख गैरकानुनी आप्रवासी रहेको अमेरिकामा हालसम्म निष्कासित भएकाको संख्या ०.५९ प्रतिशत मात्र हो । गैरकानुनी आप्रवासी निष्कासनसँगै उनीहरूलाई रोजगारी दिने व्यवसायीलाई समेत आइसले पक्राउ गरेको छ ।
आइसका अनुसार पक्राउ परेका ती व्यवसायीबाट १० लाख अमेरिकी डलर जरिवाना लिइएको छ । ‘हामीले सार्वजनिक सुरक्षा र राष्ट्रिय सुरक्षा खतरामा पार्ने गतिविधि गरेकालाई समेत पक्राउ गरेका छौं, ती सबै गैरकानुनी आप्रवासी मात्र छैनन्,’ आइसको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई निष्कासन गर्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने आदेश जारी गरेका थिए । त्यसअनुसार सीमामा सुरक्षाकर्मीको परिचालनसँगै प्रविधियुक्त कडाइका कारण गैरकानुनी आप्रवासी निष्कासनको संख्या बढाइएको छ भने सीमाबाट प्रवेश गर्ने संख्या न्यून छ ।
राष्ट्रिय सुरक्षा अभियानलाई कायम राख्दै गैरकानुनी आप्रवासी निष्कासनलाई अझै तीव्रता दिने र पक्राउ दरलाई बढाइने आइसका उपनिर्देशक म्याडिसन डी सियानले अमेरिकी सञ्चारमाध्यमलाई बताएका छन् । ‘हामीले मानव तस्करी गर्ने गिरोहलाई समेत अनुसन्धानमा ल्याएका छौं, तस्करले प्रत्येक वर्ष ५ देखि ७ सय अवैध आप्रवासीलाई अमेरिकामा ल्याउने गर्दै आएका छन्,’ उनले भनेका छन् ।
आइसको तथ्यांकअनुसार पहिलो चरणमा निष्कासन हुने सूचीमा रहेका १ हजार ३ सय ६५ नेपालीमध्ये ७९ जनालाई नेपाल पठाइसकिएको छ । काठमाडौंस्थित अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी टीकाराम ढकालका अनुसार निष्कासित हुनेमा जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३० र अप्रिलमा २६ जना छन् । जसमा ६६ पुरुष र १३ जना महिला छन् ।
अमेरिकाबाट निष्कासित नेपालीलाई चार्टर विमान, भारत हुँदै र नियमित उडानमार्फत नेपाल ल्याइएको सूचना अधिकारी ढकालले बताए । हालसम्म दुई पटक चार्टर विमानमार्फत निष्कासन गरिएकाहरूलाई काठमाडौंस्थित अध्यागमनमा बुझाइएको उनले जानकारी दिए । ‘डिपोर्ट भई अमेरिकाबाट नेपाल आएका ७९ जनालाई हामीले सामान्य सोधपुछ र उनीहरूको प्रोफाइल जाँच गरेर परिवारको जिम्मा लगाइसकेका छौं,’ ढकालले भने ।
डिपोर्टपछि नेपाल आइपुगेका ४ भुटानी शरणार्थीलाई भने प्रहरीको निगरानीमा रहने गरी शरणार्थी शिविरमा राखिएको छ । ढकालका अनुसार उनीमध्ये ३ जनालाई झापाको बेलडाँगी शरणार्थी शिविरमा र एक जनालाई मोरङको पथरीमा राखिएको छ । उनीहरूलाई प्रत्येक पाँच दिनमा प्रहरी कार्यालयमा उपस्थित हुनेगरी शरणार्थी शिविरमा राखिएको हो । निष्कासन हुनेमा अधिकांश नेपाली न्युयोर्क, क्यालिफोर्निया, टेक्सास, भर्जिनिया, मेरिल्यान्ड, पेन्सिलभेनिया राज्यमा बसोबास गरेका थिए ।
वासिङ्टन डीसीस्थित नेपाली दूतावाससँग भने हाल निष्कासनका लागि प्रक्रियामा रहेकाहरूबारे कुनै तथ्यांक छैन । आगामी दिन निष्कासन प्रक्रियामा रहेकाबारे तथ्यांक नभएको र पासपोर्ट नभएहरूको ट्राभल डकुमेन्ट बनाउन अनुरोध भइआएमा मात्र जानकारी हुने दूतावासका इकोनोमिक काउन्सिलर युगराज पाण्डेले बताए ।
‘निष्कासनको प्रक्रियामा रहेकाबारे हामीलाई जानकारी हुँदैन र कूटनीतिक अवस्थामा अमेरिकाको नीतिबारे हामीले चासो राख्न पनि मिल्दैन,’ पाण्डेले भने, ‘पासपोर्ट नभएकाको नागरिकताका आधारमा हामीले ट्राभल डकुमेन्ट बनाउनुपर्ने अवस्थामा मात्र नेपालीको निष्कासनबारे जानकार हुन्छौं ।’
आइसको तथ्यांकअनुसार सन् २०१९ मा १ सय ६२, २०२० मा ९७, २०२१ मा २३, २०२२ मा २८, २०२३ मा २२ र २०२४ मा ५७ जना गरी ६ वर्ष अमेरिकाबाट ३ सय ८९ नेपाली निष्कासित भएका छन् । प्यु रिसर्च सेन्टरको रिपोर्टअनुसार अमेरिकामा हाल १ करोड १० लाख कागजातविहीन आप्रवासी छन् ।
