मस्को — युक्रेनी ड्रोन आक्रमणपछि बन्द रुसी विमानस्थल सञ्चालनमा आएका छन् । युक्रेनले लगातार दोस्रो रात ड्रोन आक्रमण गरेपछि रुसी राजधानी मस्कोका चारवटै विमानस्थल बन्द गरिएको थियो । आक्रमणमा मानवीय क्षति भने भएको छैन ।
रुसी अधिकारीहरूका अनुसार आक्रमणका कारण बन्द विमानस्थल मंगलबार बिहानबाट सञ्चालन गरिएको हो । युक्रेनले प्रहार गरेका १ सय ५ ड्रोन रुसी वायुसेनका प्रतिरक्षा एकाइले खसालेको रुसी सरकारी मिडियाले उल्लेख गरेका छन् ।
तीमध्ये कम्तिमा १९ युक्रेनी ड्रोन रुसी राजधानीलाई लक्षित गरि प्रहार गरिएको मस्कोका मेयर सर्गेई सोब्यानिनले बताएका छन् । त्यस्तै अन्य ड्रोन पेन्जा र भोरोनेज लगायतका रुसी सहरलाई लक्षित गरिएको बीबीसीले उल्लेख गरेको छ । मस्कोमा गरिएको ड्रोन आक्रमणबारे युक्रेनले भने हालसम्म कुनै टिप्पणी गरेको छैन ।
रुसले घोषणा गरेको अस्थायी युद्धविरामको केही दिन अघि युक्रेनले ड्रोन आक्रमण गरेको हो । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एकमा घोषणा गर्दै ८ मे देखि ११ मे सम्म युक्रेनमा युद्धविराम हुने बताएका थिए । सन् १९४५ मा नाजी जर्मनीमाथि सोभियत संघको विजयको अवसरमा रुसले मे ९ मा विजय दिवस परेडका साथै विभिन्न कार्यक्रम गर्दैछ ।
