जेरुसेलम — इजरायलको सुरक्षा क्याबिनेटले गाजामा कब्जा गर्ने योजनालाई स्वीकृति दिएको छ । एक इजरायली अधिकारीका अनुसार हमासविरुद्ध आफ्नो सैन्य आक्रमणलाई विस्तार गर्ने योजनालाई स्वीकृति दिइएको हो ।
ती अधिकारीका अनुसार उक्त योजनामा गाजामा कब्जा गर्ने प्रस्ताव पनि छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले क्याबिनेटले हमासलाई नष्ट गर्ने र बाँकी बन्धकलाई बचाउनका लागि ‘बलपूर्वक अभियान’ चलाउने निर्णय गरिएको बताएका छन् ।
गाजाको २१ लाख जनसंख्यालाई बचाउनका लागि स्थानान्तरण गरिने नेतान्याहूले बताए । क्याबिनेटले निजी कम्पनीद्वारा सहयोग पुर्याउने योजनालाई पनि सैद्धान्तिक रुपमा मन्जुरी दिएको छ ।
यससँगै दुई महिनादेखि जारी नाकाबन्दी अन्त्य हुनेछ । यसबारे संयुक्त राष्ट्रले नाकाबन्दीले गाजामा खाद्यान्नको गम्भीर अभाव सिर्जना भएको बताएको छ ।
