गाजा युद्धविराम वार्ताको कुनै अर्थ छैन : हमास 

वैशाख २३, २०८२

एजेन्सी

Gaza ceasefire talks mean nothing: Hamas

जेरुसलेम — प्यालेस्टिनी समूह हमासले गाजा युद्धविराम वार्ताको कुनै अर्थ नभएको बताएको छ । इजरायलले गाजा क्षेत्रमा स्थल आक्रमण विस्तार गर्ने र उक्त क्षेत्र कब्जा गर्ने बताएपछि हमासले वार्तामा नबस्ने बताएको हो । 

‘गाजामा नयाँ युद्धविराम र बन्धक रिहाइ सम्झौतामा थप वार्ता गर्नुको कुनै अर्थ छैन,’ हमासका वरिष्ठ अधिकारी बासेम नैमले भने, ‘इजरायलले आफ्नो भोकमरी युद्ध जारी राखेसम्म प्यालेस्टिनी सशस्त्र समूहले नयाँ प्रस्तावमा संलग्न हुने छैन ।’ 

आइतबार इजरायलले हमासको नियन्त्रणमा रहेका बन्धकको रिहाइका लागि आक्रमण विस्तार गर्ने योजना अघि सारेको हो । उक्त योजना इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले अनुमोदन गरिसकेको छ । योजनामा गाजा क्षेत्र कब्जा गर्ने रणनीति समेत समावेश रहेको बीबीसीले जनाएको छ । 

आक्रमणको योजनासँगै तयारीका लागि इजरायली रक्षा बल (आईडीएफ) ले दशौं हजार जगेडा फौजलाई बोलाइसकेको छ । आईडीएफले बाँकी इजरायली बन्धकलाई घर फर्काउने र हमासलाई पराजित गर्ने उद्देश्यले ‘दबाब बढाउँदै’ गएको जनाएको छ । तर नयाँ रणनीति अनुसारको कारबाही भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्को साता उक्त क्षेत्रमा हुने भ्रमण पछि मात्र लागू हुने बताइएको छ । 

इजरायली योजनाको बेलायत, फ्रान्स र संयुक्त राष्ट्र संघले आलोचना गरेका छन् । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले इजरायली योजनाप्रति चिन्ता व्यक्त गर्दै ‘यसले अनगिन्ती नागरिकको मृत्यु र गाजाको थप विनाश निम्त्याउन’ बताएका छन् । 

एजेन्सी

Link copied successfully