बेलायतमा आतंकवादविरूद्धको कारबाहीमा ८ जना पक्राउ

वैशाख २१, २०८२

एजेन्सी

8 arrested in Britain in anti-terror operation

लन्डन — बेलायतमा आतंकवादविरूद्ध प्रहरीले गरेका दुई छुट्टाछुट्टै अनुसन्धानमा ८ पुरुष पक्राउ परेका छन् । महानगरीय प्रहरीले ‘विशेष क्षेत्रलाई लक्षित गर्ने’ षड्यन्त्रको अनुसन्धानका क्रममा शनिबार इंग्ल्याण्डका विभिन्न स्थानमा पाँच जनालाई पक्राउ गरेको बताएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये २९ वर्षका दुई जना तथा ४० र ४६ वर्षका हुन् । अर्का एक जनाको राष्ट्रियता र उमेर खुल्न बाँकी रहेको जनाइएको छ । त्यस्तै, प्रहरीको छुट्टै अनुसन्धानमा शनिबार लन्डनमा अन्य तीन जना इरानी पुरुष पक्राउ परेका हुन् । प्रहरीले यी दुई कारबाही अन्तर सम्बन्धित नभएको बताएको छ । 

गृहमन्त्री यवेट कुपरले ‘देशलाई सुरक्षित राख्नका लागि चालिएको कारबाहीको लागि’ प्रहरी र सुरक्षा सेवाहरूलाई धन्यवाद दिएकी छन् । ‘यी गम्भीर घटना हुन् जसले राष्ट्रिय सुरक्षा खतरामा हाम्रो प्रतिक्रियाको आवश्यकता प्रदर्शन गर्दछ,’ बीबीसीसँग उनले भनेकी छन् । 

पाँच जना पुरुषलाई पक्राउ गरिएको कारबाहीमा चार जनालाई आतंकवाद ऐन अन्तर्गत हिरासतमा राखिएको छ । पाँचौं व्यक्तिलाई प्रहरी र आपराधिक प्रमाण ऐन (पेस) अन्तर्गत पक्राउ गरिएको हो । पाँचै जनालाई आतंकवादको तयारी गरेको शंकामा पक्राउ गरिएको हो । उनीहरूलाई स्विन्डन, पश्चिम लन्डन, स्टकपोर्ट, रोचडेल र म्यानचेस्टरमा पक्राउ गरिएको हो । 

प्रहरीले ‘विशिष्ट परिसर’ लाई लक्षित गर्ने संदिग्ध षड्यन्त्रसँग सम्बन्धित अनुसन्धान गरेको बताएको छ । ‘प्रभावित स्थल’ बारे भने प्रहरीले केही उल्लेख गरेको छैन । तर सम्बन्धितलाई सचेत गराइएको र आवश्यक सहयोग प्रदान गरिरहेको प्रहरीले जनाएको छ । 

उक्त अनुसन्धान मेटको प्रतिआतंकवाद कमाण्डको नेतृत्वमा गरिएको हो । ग्रेटर म्यानचेस्टर र विल्टसायर प्रहरी तथा देशभरका प्रतिआतंकवाद अधिकारीले अनुसन्धानमा सहयोग गरेका हुन् । ‘अनुसन्धान अझै प्रारम्भिक चरणमा छ र हामीले यस मामिलासँग सम्बन्धित जनतालाई थप जोखिम हुन सक्ने विषयमा थप पहिचान गर्न अनुसन्धानको दायरा बढाएका छौं,’ मेटको प्रतिआतंकवाद कमाण्डका प्रमुख कमान्डर डोमिनिक मर्फीले भने ।

अर्को कारबाहीमा पक्राउ परेका पुरूषहरू ३९, ४४ र ५५ वर्षका छन् । उनीहरूलाई उत्तर-पश्चिम लन्डन र पश्चिम लन्डनमा तीन अलग-अलग ठेगानाबाट राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत पक्राउ गरिएको हो । प्रहरीले यो अनुसन्धान पाँच जनाको गिरफ्तारीसँग सम्बन्धित नभएको बताएको छ ।

एजेन्सी

Link copied successfully