अस्ट्रेलियामा सत्तारूढ लेबर पार्टी विजयी, अल्बानिजी पुन: प्रधानमन्त्री बन्ने

वैशाख २०, २०८२

नारायण खड्का

Australia's ruling Labor Party wins, Albany becomes Prime Minister again

अस्ट्रेलिया — अस्ट्रेलियामा शनिबार सम्पन्न निर्वाचनमा सत्तारुढ लेबर पार्टीले जीत हासिल गरेको छ । जीतसँगै प्रधानमन्त्री एन्थोनी अल्बानिजी पुनः तीन वर्षका लागि प्रधानमन्त्री बन्ने भएका छन् । प्रमुख प्रतिपक्षी दल लिबरलका नेता पिटर डट्टन आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका छन् । 

जीतपछि पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा अल्बानिजीले यो जीत सम्पूर्ण अस्ट्रेलियालीको भएको बताएका छन् । उनले आफ्नो मुख्य उद्देश्य र एजेण्डा अस्ट्रेलियाली जनताप्रति केन्द्रित रहेको र निरन्तर रहने बताएका छन् । उनले दलका बिभिन्न नेता तथा परिवार उपस्थित कार्यक्रममा अल्बानिजीले लेबर सबैको अस्ट्रेलियाली जनताको सरकार बन्ने बताए । उनले लेबरलाई पुन: जीत दिलाएर जनताले महत्वपूर्ण निर्णय लिएको सुनाए । 

आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका विपक्षी दलका नेता डट्टनले हारको जिम्मेवारी लिदै माफी मागेका छन् । निर्वाचन हारेसँगै उनी दलको नेता समेत रहने छैनन् । उनले आफुले प्रधानमन्त्रीलाई फोन गरेर बधाई दिइसकेको बताए । डट्टनले अस्ट्रेलियाली जनताको मन र चाहनालाई बुझेर आफुले निरन्तर काम गरिरहेको र गरिरहने बताए ।  

अस्ट्रेलियाली राजनीतिमा मुख्य गरेर लेबर र लिबरल गठबन्धनको बर्चस्व रहेको छ । यी दुई दलसँगै तेस्रो ठुलो दल ग्रिन र अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारले निर्वाचनमा प्रतिष्पर्धा गरेका थिए । यसपटकको निर्वाचनमा वर्तमान प्रधानमन्त्री अल्बानिजीले सहज जीत हासिल गरेका छन भने विपक्षी दलका नेता डट्टनले लेबर उम्मेदवार अली फ्रान्ससँग पराजित भएका छन् । उक्त निर्वाचन क्षेत्रबाट डट्टन दुई दशकभन्दा लामो समयदेखि निर्वाचित हुदै आएका थिए । Australia's ruling Labor Party wins, Albany becomes Prime Minister again

अस्ट्रेलियाको तल्लो र माथिल्लो सदनमा गरेर २ सय २६ सिटका लागि मतदान भएको हो । तल्लो सदन (लेजिस्लेटिभ काउन्सिल) मा १ सय ५० जना र माथिल्लो सदन सिनेटमा ७६ सिटका लागि शनिबार मतदान भएको हो । अस्ट्रेलियास्थित समाचारसंस्था एबिसीका अनुसार अहिलेसम्म लेबर ८५ सीटमा अघि छ भने लिबरल जम्मा ३९ सीटमा अघि देखिएको छ । साथै लेबर र लिबरल बाहेक स्वतन्त्र उम्मेदवार ११ स्थानमा अघि छन् । 

करिब ५ साता लामो निर्वाचन तयारी र प्रचारप्रसारका क्रममा लेबर र लिबरल दुवैले स्वास्थ्य, अध्यागमन, बढ्दो महँगी, मानसिक स्वास्थ्य लगायतका विभिन्न जनप्रेमी मुद्दालाई प्राथमिकताका साथ अघि बढाएका थिए । पछिल्लो समयमा डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि पनि अस्ट्रेलियाको संसदीय निर्वाचनलाई चासोका साथ हेरिएको थियो । अस्ट्रेलियाली निर्वाचनमा यसपटकको हार लिबरल कोअलिसनको सबैभन्दा नराम्रो हार भएको जनाइएको छ । लिबरलले आफ्ना केही सीट समेत गुमाउन पुगेको छ । 

अघिल्लो कार्यकालमा तत्कालिन लिबरल कोअलिसनका नेता तथा प्रधानमन्त्री स्कट मरिसनको नेतृत्वलाई हराएर अल्बानिजी प्रधानमन्त्री बनेका थिए । मतपत्र गन्ने क्रम चलिरहेका कारण निर्वाचनको सम्पूर्ण नतिजा भने आइसकेको छैनन् । सञ्चारमाध्मयले लेबरले बहुमत हासिल गर्ने दाबी गरेका छन् । 

अस्ट्रेलियाको निर्वाचनमा मतदान अनिवार्य छ भने मतदान नगर्ने मतदातालाई जरिवाना गर्ने नियम छ । यसपटकको निर्वाचनमा निर्वाचनको दिन अघि नै करिब ८५ लाख जनताले मतदान गरिसकेका थिए । मतदानलाई सहज पार्न हुलाकबाट समेत केही दिनअघि देखि नै मतदानको व्यवस्था गरिएको थियो भने देशबाहिर रहेका नागरिकलाई समेत मतदान गर्न पाउने अधिकार दिइएको थियो । 

नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully