संघीय निर्वाचनमा पार्टीले जित हात पारेपछि क्यानडालाई अमेरिकामा गाभ्ने ट्रम्पको अभीष्ट पूरा हुन नदिने कार्नीको टिप्पणी
काठमाडौँ — सोमबार सम्पन्न क्यानडाको संघीय निर्वाचनमा प्रधानमन्त्री मार्क कार्नीको लिबरल पार्टीले जित हात पारेको छ । जितलगत्तै प्रधानमन्त्री कार्नीले क्यानडा कहिल्यै पनि अमेरिकासामु नझुक्ने उद्घोष गरेका छन् ।
संघीय निर्वाचनमा उनको लिबरल पार्टी विजयी भएलगत्तै उनले क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने बताएका राष्ट्रपति ट्रम्प लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री कार्नीले अमेरिकाले आफ्नो भूमि, स्रोतसाधन, पानी र देश नै कब्जा गर्न खोजिरहेको बताउँदै भने, ‘उनको त्यस्तो अभीष्ट कहिल्यै र कदापि पूरा हुन दिने छैनौं ।’
कार्नीले यसअघिका चुनावी भाषणमा जस्तै यसपाला पनि अमेरिका र क्यानडाको सम्बन्धमा पछिल्लो समय देखापरेको तिक्तताबारे पनि बोले । केन्द्रीय बैंकका पूर्वगभर्नर कार्नीले यसअघि राष्ट्रपति ट्रम्पको नेतृत्वले क्यानडामाथि ‘अँध्यारा दिन’ को सुरुवात गरेको बताएका थिए ।
ट्रम्पले क्यानडालाई अमेरिकामा गाभ्ने र क्यानडाको अर्थतन्त्रको प्राणका रूपमा रहेको द्विपक्षीय व्यापारलाई अस्तव्यस्त बनाउने गरी कर वृद्धिका विषयमा बारम्बार बोल्दै आएका छन् । कन्जरभेटिभ पार्टीका नेता पियर पोइलिएभ्रले भने आफ्नो संसदीय सिटसमेत गुमाएका छन् ।
राजधानी ओटावास्थित आफ्नै निर्वाचन क्षेत्रको सिट गुमाउनु पोइलिएभ्रको राजनीतिको ओरालो यात्राका रूपमा बुझिएको छ । जबकि केही महिनाअघिसम्म उनी क्यानडाका भावी प्रधानमन्त्री बन्ने निश्चित उम्मेदवार मानिएका थिए । ट्रम्पले ‘अमेरिका फस्ट’ भनेर चुनावी नारा तय गरेजस्तै पोइलिएभ्रले चुनावमा ‘क्यानडा फस्ट’ को नारा अघि सारेका थिए ।
क्यानडासँग सम्बन्ध सुधार्न भारत र चीन इच्छुक
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडाली समकक्षी मार्क कार्नीलाई मंगलबार नै जितका लागि बधाई दिँदै नयाँदिल्ली र ओटावाबीचको सम्बन्ध पुनःस्थापित हुने आशा व्यक्त गरेका छन् ।
‘हामी हाम्रो साझेदारी सुदृढ गर्न र हाम्रा जनताका लागि थप अवसर खोल्न तपाईंसँग काम गर्न तत्पर छौं,’ मोदीले वक्तव्य जारी गर्दै भनेका छन् । यसअघि एक क्यानडाली सिखको हत्यामा ओटावा प्रशासनले नयाँदिल्लीको संलग्नताको आरोप लगाएपछि भारत र क्यानडाबीचको सम्बन्ध बिग्रिएको थियो । उक्त आरोपलाई भारतले अस्वीकार गर्दै आएको छ ।
क्यानडामा भारतपछि सिख समुदायको बाहुल्य रहेको छ । जहाँ ‘खालिस्तान’ का कार्यकर्ता रहेका छन् । खालिस्तान भारतीय क्षेत्रका धार्मिक अल्पसंख्यकका लागि स्वतन्त्र राज्यको खोजी गर्ने एउटा पृथकतावादी आन्दोलन हो ।
ओटावाले भारतलाई २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय क्यानडाली नागरिक हरदीप सिंह निज्जरको हत्या गरेको र आन्दोलनसँग सम्बन्धित सिख कार्यकर्तालाई लक्षित गरेको पनि आरोप लगाएको थियो । भारतले भने ती आरोपहरूको निरन्तर खण्डन गर्दै आएको छ ।
उक्त वादविवाद दुवै देशले एकअर्काका शीर्ष कूटनीतिज्ञलाई निष्कासन गर्नेसम्ममा पुगेको थियो । पछिल्ला यिनै घटनाक्रमले गर्दा द्विदेशीय कूटनीतिक सम्बन्ध झन्–झन् खराब बन्दै गइरहेका बेला भारतीय प्रधानमन्त्री मोदीले समकक्षी कार्नीको माध्यमले क्यानडासँग सम्बन्ध पुनःस्थापित गर्न खोजेका हुन् ।
त्यसैगरी, चीनले पनि प्रधानमन्त्री कार्नीको लिबरल पार्टीको विजयसँगै क्यानडासँग सम्बन्ध सुधार गर्न खुला रहेको बताएको छ । ‘चीन आपसी सम्मान, समानता र आपसी लाभका आधारमा क्यानडासँगको सम्बन्ध विकास गर्न इच्छुक छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने ।
बेइजिङ र ओटावाबीचको सम्बन्ध पनि हालैका वर्षमा तनावपूर्ण रहँदै आएको छ । २०१८ डिसेम्बरमा भ्यानकुभरमा अमेरिकी वारेन्टमा एक वरिष्ठ चिनियाँ दूरसञ्चार कार्यकारीको गिरफ्तारीको घटनासँगै बेइजिङले जासुसीको आरोपमा दुई क्यानडालीलाई प्रतिशोधात्मक हिरासतमा लिएकाले घटनापछि दुई देशबीचको सम्बन्ध निकै चिसिएको थियो ।
त्यसैगरी, २०१९ र २०२१ मा क्यानडाको चुनावमा चिनियाँ हस्तक्षेपको आरोप लागेपछि सम्बन्ध थप तनावपूर्ण भएको थियो । उक्त हस्तक्षेपको आरोपबारे बेइजिङले भने खण्डन गर्दै आएको छ । ओटावाले हङकङमा सुरक्षा कडाइका बारेमा र चीनका उइगुर मुस्लिम अल्पसंख्यक समुदायको व्यवहारमाथि पनि आलोचना गरेपछि चीन–क्यानडा सम्बन्ध बिग्रिएको थियो ।
चीनले केही साताअघि मात्रै चार क्यानडाली नागरिकलाई मृत्युदण्ड दिएपछि बिग्रिरहेको सम्बन्धलाई कार्नीको प्रधानमन्त्रीमा पुनः उदयपछि बेइजिङले सम्बन्ध सुधार्नका लागि नयाँ प्रस्ताव गरेको हो ।
