नेपालद्वारा जलवायु परिवर्तनका प्रभाव र हिमाल संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण

वैशाख १६, २०८२

लक्ष्मी लम्साल

The effects of climate change by Nepal and the attention of the world community for mountain protection

बेइजिङ — नेपालले बेइजिङस्थित विभिन्न देशका प्रतिनिधिहरूमाझ विश्वव्यापी जलवायु परिवर्तनका प्रभाव र हिमाली क्षेत्रको संरक्षणका लागि ध्यानाकर्षण गराएको छ ।

बेइजिङस्थित नेपाली राजदूतावासले मंगलबार सिल्क रोड सिटिज अलाइन्सको सहयोग तथा चोङचिङ कृषि समूह, वान् च्याङ वु च्ये अन्तर्राष्ट्रिय कल्चरल एक्सचेन्ज लगायतका संस्थाहरुको सहभागितामा एउटा बृहत् सेमिनारको आयोजना गरेर जलवायु परिवर्तनका प्रभावबारे ध्यानाकर्षण गराएको हो ।

कार्यक्रममा चीनका लागि सामाजिक प्रतिनिधि लिउ चनमिन, चीनका लागि जर्मन राजदूत प्याट्रिसिया हिलदेगार्ड फ्लोर, चीनस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सिद्धार्थ चटर्जी लगायत विभिन्न देश तथा क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तित्वका साथै चीन तथा नेपालमा कार्यरत नेपाली र विदेशी वैज्ञानिक, विज्ञहरूको सहभागिता थियो ।

The effects of climate change by Nepal and the attention of the world community for mountain protection

सेमिनारमा प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सन्देश मार्फत नेपालले सगरमाथा संवाद आयोजना गरेर जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन लागेको जानकारी दिइयो । उनले हिमाली क्षेत्र र तिब्बती क्षेत्र विश्व जलस्रोत र पर्यावरणको भण्डार भएकाले यसको संरक्षणमा नेपालले गरेका प्रयास तथा सबै मुलुकहरुको हातेमालोको आवश्यकता औंल्याए । उनले भने, ‘हिमाल नेपालको मात्रै होइन, तर विश्वका सम्पदा हुन् ।’

नेपाल, चीन, भुटान, भारतलगायत राष्ट्रहरू हिन्दुकुश हिमाली क्षेत्रबाट गाँसिएर पर्यावरणीय सभ्यतासँग अन्तर्सम्बन्धित भएको भन्दै प्रधानमन्त्री ओलीको हिमाल र नदी साझा भएकाले सहकार्य गर्नुपर्ने र भावी पुस्ताको भविष्यका लागि एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।  

चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले वातावरणीय प्रभावका कारण हिमाली क्षेत्रको अवस्था खस्किँदै गएकोले यसतर्फ ध्यानाकर्षण गराउन नेपाल चिन्तित भएको बताए । नेपालको प्रकृति संरक्षण कोषका विज्ञ मनिष पाण्डेले जलवायु संकतको प्रतिक्रिया नीति तथा सगरमाथा डायलग विषयक कार्यपत्र प्रस्तुत गरे ।

The effects of climate change by Nepal and the attention of the world community for mountain protection

चाइनिज एकेडेमी अफ साइन्स, इन्स्टिच्युट अफ टिबेटन प्लेटो रिसर्चका एसोसियटेड प्रोफेसर डीबी कट्टेलले तेस्रो ध्रुवमा जलवायु तथा हिउँले ढाकिएका क्षेत्रको पछिल्लो विविधताबारेको प्रारम्भिक अन्वेषण प्रस्तुत गरे । उनको कार्यपत्र अनुसार हिउँको आवरण प्रवृत्तिमा उच्च भिन्नता छ भने पूर्वी हिमालयको उत्तरी र दक्षिणी ढलानहरूबीच क्षयदर उच्च छ ।

विश्वव्यापी तापमान बढ्दै गएको भन्दै उनले काराकोरम वरिपरि वर्षा बढ्दै गएको तर पूर्वी हिमालयको दुवै छेउमा ब्रह्मपुत्र बेसिनको वरपर घट्दै गएको चर्चा गरे ।

कार्यक्रममा प्राध्यापक, वैज्ञानिक र जलवायु तथा वातावरणको क्षेत्रमा कार्यरत विज्ञहरू जलवायु परिवर्तन, वातावरणीय प्रभाव र यसको असर सम्बन्धी प्रस्तुति दिएका थिए ।

विभिन्न देशका विज्ञहरूको सहभागिता रहेको कार्यक्रममा जलवायु परिवर्तनका क्षेत्रमा स्थानीय तथा परम्परागत बुझाइ, वैज्ञानिक अध्ययन अनुसन्धान र प्रभावकारी नीतिको खाँचो जस्ता विषयमा विभिन्न राष्ट्रहरूबीच संवाद र सहकार्यमार्फत् साझा प्राकृतिक स्रोत साधनहरूको समन्वयात्मक एवं समुन्नत सदुपयोग गर्नुपर्नेमा जोड दिइएको थियो ।

The effects of climate change by Nepal and the attention of the world community for mountain protection

सेमिनारको दोस्रो सत्रमा नेपालको जलवायु क्षेत्रमा लगानी विषयक प्रस्तुती समावेश गरिएको थियो। ल्हासाका लागि नेपाली महावाणिज्यदूत लक्ष्मी निरौला, क्वाङ्चौका लागि नेपाली महावाणिज्यदूत भरत खनाल लगायतले जलवायु लगानीका विभिन्न पाटोबारे चर्चा गरे ।

कार्यक्रमस्थलमा वृक्षारोपण गरेर पर्यावरण संरक्षणका लागि रुखको भूमिकाका बारेमा सन्देश दिइयो भने पेन्टिङ तथा निबन्ध लेखन प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरियो । साथै चाइना मिडिया ग्रुपले जलवायु सम्बन्धी तयार पारेको वृत्तचित्र पनि प्रस्तुत गरिएको सीएमजी नेपाली सेवाकी प्रमुख लिउ वन सुमेघाले जानकारी दिइन् । 

लक्ष्मी

Link copied successfully