अमेरिका — अमेरिकी सेनाले यमनमा ८ सयभन्दा अधिक हुथी विद्रोही क्षेत्रलाई निशाना बनाइएको दाबी गरेको छ । अमेरिकी सेनाका अनुसार उसले १५ मार्चदेखि यमनमा हुथी विद्रोहीविरुद्ध लगातार हवाई र सैनिक आक्रमण गरेको छ ।
आइतबार हालैका अभियानबारे जानकारी दिँदै एक बयानमा अमेरिकी सेन्ट्रल कमाण्डले भनेको छ, ‘सैयौं हुथी लडाकू र नेताहरुलाई मारिएको छ ।’
लाल सागर र अदनको खाडीमा इरान समर्थित हुथीको खतरालाई अन्त्य गर्न कारबाही जारी रहेको अमेरिकाले जनाएको छ । यमनको ठूलो क्षेत्र हुथीको नियन्त्रणमा छ । हुथीले आइतबार राजधानी सानामा अमेरिकी आक्रमणमा महिला र बच्चासहित कम्तिमा ८ जनाको मृत्यु भएको जनाएको छ ।
हुथीका तर्फबाट सञ्चालित स्वास्थ्य मन्त्रालयले यसै महिनाको सुरुवातमा लाल सागर तटमा अमेरिकी हवाई आक्रमणमा कम्तिमा ७४ जनाको मृत्यु भएको र १७१ जना घाइते भएको जनाएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना हुथी नियन्त्रित क्षेत्रमा ठूलो मात्रामा आक्रमणको लागि आफ्ना सेनालाई आदेश दिएका थिए । साथै हुथीको नामोनिशान मेट्ने धम्कीसमेत दिएका थिए ।
