युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेनमा रातभर ६४ क्षेप्यास्त्र र १ सय ५० भन्दा बढी ड्रोन आक्रमण गरिएको बताएका छन् । जसमध्ये ११ बलिस्टिक र ५५ वटा क्रुज क्षेप्यास्त्र रहेको उनले बताए
किभ/मस्को — रुसी सेनाले युक्रेनी राजधानी किभमा गत बुधबार गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । आक्रमणमा ७७ जना घाइते भएका युक्रेनी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । त्यस्तै, खार्किभको आक्रमणमा दुई जनाको ज्यान गएको छ ।
किभका मेयर भिटाली क्लिट्स्कोले घाइतेहरूको अस्पतालमा उपचार भइरहेको जनाएका छन् । उनका अनुसार अस्पताल लगिएका मध्ये ६ जना बालबालिका छन् । ‘आक्रमणका कारण ६ स्थानमा आगो लागेको थियो,’ उनले भने । क्लिट्स्कोका अनुसार घाइतेमध्ये ३१ जनाको अस्पतालमा उपचार भइरहेको छ । आक्रमणमा १२ वटा भवनमा क्षति पुगेको र केही मानिस भग्नावशेषमा फसेको उनको भनाइ छ । गृहमन्त्री इहोर क्लाइमेन्कोले ‘भग्नावशेषबाट फोन कल सुनिएको’ बताए । उनले सुमी र जाइटोमिरसहित अन्य क्षेत्रमा पनि रुसी सेनाले आक्रमण गरेको बताए । तर सबैभन्दा बढी किभ प्रभावित भएको उनको भनाइ छ ।
त्यस्तै, खार्किभका मेयर इगोर तेरेखोभले पनि उत्तर–पूर्वी युक्रेनी सहरमा रुसी सेनाले आक्रमणका गरेको बताएका छन् । खार्किभमा १४ वटा ड्रोन र १० वटा क्षेप्यास्त्र गरी २४ वटा आक्रमण भएको उनले बताए । तीमध्ये एउटा क्षेप्यास्त्र धेरै जनसंख्या भएको क्षेत्रमा प्रहार गरिएको र दुई जनाको मृत्यु भएको तेरेखोभको भनाइ छ । उनका अनुसार एउटा होटल, एउटा विद्यालय भवन र अन्य पूर्वाधारमा पनि क्षति पुगेको छ ।
बुधबारको आक्रमण युक्रेनी राजधानीमा २०२४ जुलाई ८ यताकै घातक हो । ओखमात्डित बाल अस्पतालसहित नागरिक पूर्वाधारमा गरिएको उक्त आक्रमणमा ३४ जनाको ज्यान गएको थियो । आक्रमणमा १ सय २१ जना घाइते भएका थिए । पछिल्लो समय रुसी सेनाले युक्रेनी नागरिकका पूर्वाधार केन्द्रविरुद्ध आक्रमण बढाएको देखिएको छ । गत अप्रिल ४ मा क्राइभी रिहमा गरिएको आक्रमणमा २१ जनाले ज्यान गुमाएका थिए । अप्रिल १३ को आक्रमणमा सुमीमा ३५ जनाको मृत्यु भएको थियो । त्यस्तै, मार्हानेट्समा अप्रिल २३ मा गरिएको आक्रमणमा ९ जना मारिएका थिए । आक्रमणबारे रुसी सेनाले भने कुनै टिप्पणी गरेको छैन । तर रुसले बिहीबार ८७ युक्रेनी ड्रोन अवरुद्ध गरेको जनाएको छ । तीमध्ये दुइटा ड्रोन मस्को क्षेत्रमा र ४५ ड्रोन क्रिमियामाथि प्रहार भएका रुसको दाबी छ ।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनमा रातभर ६४ क्षेप्यास्त्र र १ सय ५० भन्दा बढी ड्रोन आक्रमण गरिएको बताएका छन् । प्रहार गरिएका मध्ये ११ वटा बलिस्टिक र ५५ वटा क्रुज क्षेप्यास्त्र रहेको उनले बताए । युक्रेनमाथिको आक्रमण तत्काल रोक्नुपर्ने जनाउँदै जेलेन्स्कीले युक्रेनको साथमा उभिएका विश्व समुदायप्रति आभारी रहेको बताएका छन् । ‘हमलाहरू तुरुन्तै र बिनासर्त बन्द गरिनुपर्छ,’ जेलेन्स्कीले भनेका छन् ।
जेलेन्स्कीले दक्षिण अफ्रिकाको भ्रमण तालिका छोट्याएका छन् । सामाजिक सञ्जाल एक्समा उनले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई भेटेको र तत्काल युक्रेन फर्कन अन्य तालिका छोट्याएको उल्लेख गरेका छन् । त्यसक्रममा राष्ट्रपति रामाफोसाले युक्रेनको शान्ति प्रक्रियाबारेमा हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गरेको पुष्टि गरेको बताएका छन् । उनले आफू र ट्रम्प दुवै जना युद्ध सकेसम्म चाँडो अन्त्य गर्नुपर्नेमा सहमत भएको बताएका छन् । ‘युक्रेनी विदेशमन्त्रीले देशका राजनीतिक र नागरिक समाजका नेतालाई पछिल्लो अवस्थाबारे पूर्ण रूपमा जानकारी गराउन दक्षिण अफ्रिकामा सबै आवश्यक बैठकहरू गर्नेछन्,’ उनले लेखेका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति वार्ताप्रति राष्ट्रपति जेलेन्स्कीको दृष्टिकोणको आलोचना गरेका थिए । जेलेन्स्कीले युक्रेनले क्रिमियामा रुसको कब्जा स्वीकार नगर्ने कुरामा जोड दिएपछि ट्रम्पले उक्त टिप्पणी ‘शान्ति वार्ताका लागि धेरै हानिकारक’ भएको बताएका थिए । ‘उनी शान्ति पाउन सक्छन् वा उनी सम्पूर्ण देश गुमाउनुअघि अर्को तीन वर्ष लड्न सक्छन्,’ ट्रम्पले भनेका छन्, ‘जेलेन्स्कीले आज दिएको बयानले हत्या क्षेत्रलाई लम्ब्याउनेबाहेक केही गर्दैन ।’ रुसले किभलाई ऊर्जा पूर्वाधारमा आक्रमण र इस्टर युद्धविराममा विराम ‘बाधा पुर्याएको’ आरोप लगाइरहेको छ ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले ‘युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की सम्झौताहरू पालना गर्न पूर्ण रूपमा असमर्थ छन्’ भनेर देखाएको बताएकी छन् । युक्रेनी सेनालाई ‘नव–नाजीहरू र भाडाका सैनिकको गिरोह’ भएको उनको भनाइ छ ।
