वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसले आक्रमण रोक्नुपर्ने बताएका छन् । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा ट्रम्पले आफू किभमा गरिएको आक्रमणबाट खुशी नभएको जनाउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्नह गरेका छन् ।
‘म किभ (युक्रेनी राजधानी) मा गरिएको रुसी आक्रमणबाट खुसी छैन,’ उनले लेखेका छन्, ‘यो आवश्यक छैन, र यो धेरै खराब समय हो । भ्लादिमिर (रुसी राष्ट्रपति भ्लादिमिर पुटिन), रोक्नुहोस् ! सातामा ५ हजार सैनिकहरू मरिरहेका छन् । शान्ति सम्झौता सम्पन्न गरौं !’
रुसी सेनाले पछिल्लो समय युक्रेनका नागरिक पूर्वाधारलक्षित आक्रमणलाई तीव्रता दिएको छ । बुधबार राति किभ र खार्किभमा गरिएका आक्रमणमा ११ जनाको ज्यान गएको छ । आक्रमणमा कम्तीमा ७७ जना घाइते भएका युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनमा रातभर ६४ क्षेप्यास्त्र र १ सय ५० भन्दा बढी ड्रोन आक्रमण गरिएको बताएका छन् । प्रहार गरिएकामध्ये ११ वटा बलिस्टिक र ५५ वटा क्रुज क्षेप्यास्त्र रहेको उनले बताएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति वार्ताप्रति राष्ट्रपति जेलेन्स्कीको दृष्टिकोणको आलोचना गरेका थिए । जेलेन्स्कीले युक्रेनले क्रिमियामा रूसको कब्जा स्वीकार नगर्ने कुरामा जोड दिएपछि ट्रम्पले उक्त टिप्पणी ‘शान्ति वार्ताका लागि धेरै हानिकारक’ भएको बताएका थिए ।
