किभ — रुसी सेनाले युक्रेनी राजधानी किभमा गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । आक्रमणमा ६३ जना घाइते भएका युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
किभका मेयर भिटाली क्लिट्स्कोले घाइतेहरूको अस्पतालमा उपचार भइरहेको जनाएका छन् । उनका अनुसार अस्पताल लगिएकामध्ये ६ जना बालबालिका छन् । ‘आक्रमणका कारण ६ स्थानमा आगो लागेको थियो,’ उनले भने । भग्नावशेषमा केही मानिसहरू फसेको उनको भनाइ छ ।
गृहमन्त्री इहोर क्लाइमेन्कोले ‘भग्नावशेषबाट फोन कल सुनिएको’ बताए । उनले सुमी र जाइटोमिरसहित अन्य क्षेत्रमा पनि रुसी सेनाले आक्रमण गरेको बताए । तर सबैभन्दा बढी किभ प्रभावित भएको उनको भनाइ छ । आक्रमणबारे रुसी सेनाले भने कुनै टिप्पणी गरेको छैन ।
रुसले विहीबार ८७ युक्रेनी ड्रोन अवरुद्ध गरेको जनाएको छ । तीमध्ये दुइटा ड्रोन मस्को क्षेत्रमा र ४५ ड्रोन क्रिमियामाथि प्रहार भएका रुसको दाबी छ ।
