हार्वर्ड विश्वविद्यालयले हाल्यो ट्रम्प प्रशासनविरुद्ध मुद्दा 

वैशाख ९, २०८२

एजेन्सी

Harvard University filed a lawsuit against the Trump administration

मासाचुसेट्स — हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध संघीय अदालतमा मुद्दा हालेको छ । ट्रम्प प्रशासनले हार्वार्डलाई दिँदै आएको २ अर्ब अमेरिकी डलर भन्दा बढीको संघीय अनुदान रोकेपछि विश्वविद्यालयले सोमबार बोस्टनस्थित संघीय अदालतमा मुद्दा दायर गरेको हो ।

गत साता हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनको मागहरूको सूची अस्वीकार गरेका कारण दुई पक्षबिच विवाद बढिरहेको थियो । ती मागहरू विश्वविद्यालयको विविधता सम्बन्धी कार्यक्रमहरू रोक्न र यहूदीविरुद्ध लड्न भन्दै अघि सारिएको थियो । जुन विश्वविद्यालयले अस्विकार गरेको थियो । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै २ अर्ब २० करोड डलरको संघीय बजेट रोक्ने निर्णय गरिसकेका छन् । उनले विश्वविद्यालयको कर छुट सुविधा पनि हटाउने धम्की दिएका छन् । हार्वर्डका अध्यक्ष एलन एम. गार्बरले सोमबार विश्वविद्यालयलाई लेखेको पत्रमा यस्ता कुरा दीर्घकालीन असर पार्ने बताएका छन् । ‘सरकारको यस्तो हस्तक्षेपको गम्भीर र दीर्घकालीन असर पर्छ’ पत्रमा उल्लेख गरिएको छ । 

सोमबार राति हृवाइट हाउसले एक विज्ञप्तिमार्फत प्रतिक्रिया दिएको थियो । हृवाइट हाउसका प्रवक्ता हृयारिसन फिल्ड्सले, हार्वर्डले आवश्यक आधारभूत सर्तहरु पूरा गर्न नसकोको बताएका थिए । फिल्ड्स भन्छन्, ‘हार्वर्डजस्ता संस्थाहरूलाई दिइने संघीय सहयोगले अमेरिकी करदाताको पैसाबाट अत्यधिक तलब लिने कर्मचारीहरूलाई फाइदा पुर्‍याउँछ । अब यस्को अन्त्य हुन्छ । करदाताको पैसा सुविधा हो, अधिकार होइन । हार्वर्डले त्यो सुविधा पाउन आवश्यक आधारभूत सर्तहरू पुरा गर्न सकेको छैन ।’ 

हार्वर्डका अध्यक्ष गार्बरले भने बजेट रोकिँदा बालबालिकाको क्यान्सर, अल्जाइमर्स र पार्किन्सन्स रोगजस्ता महत्वपूर्ण अनुसन्धानहरू प्रभावित भएको बताएका छन् । ‘केही हप्तादेखि संघीय सरकारले यस्तो महत्वपूर्ण अनुसन्धानका लागि सहयोग गर्ने साझेदारीहरूमाथि आक्रमण सुरु गरेको छ । यो मुद्दा सरकारको यस्तो प्रयाससाग सम्बन्धित छ, जसमा संघीय बजेट रोकेर हार्वर्डको शैक्षिक निर्णयमा प्रभाव पार्ने उद्देश्य राखिएको छ’, विश्वविद्यालयले दायर गरेको मुद्दामा उल्लेख गरिएको छ । 

केही दिनअघि ट्रम्प प्रशासनले बजेटबाहेक हार्वर्डको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्ना क्षमता पनि खतरामा पार्ने धम्की दिएको थियो । यहूदी धर्म मान्ने अध्यक्ष गर्बरले हार्वर्ड क्याम्पसमा यहूदी विरोधीसम्बन्धि समस्या रहेको कुरा स्वीकार गरे । तर उनले यो समस्यासाग समाधानका लागि विशेष कार्यदल गठन गरिएको बताए । उनका अनुसार, विश्वविद्यालयले यहूदी र मुस्लिम समुदायप्रति पूर्वाग्रह भएको विषयमा दुई कार्यदलले गरेको अनुसन्धान प्रतिवेदन चााडै सार्वजनिक गर्नेछ ।

हार्वर्ड मात्र होइन अन्य थुप्रै संस्थाहरूले पनि संघीय बजेट रोकावटको समस्या सामना गरिरहेका छन् । यी बजेटले नयाा वैज्ञानिक अनुसन्धानहरूमा ठूलो योगदान पुर्‍याउने गरेको छ । प्रशासनले अन्य निजी आइभी लिग विश्वविद्यालयहरूलाई पनि लक्षित गरेको छ, जसमध्ये कर्नेल विश्वविद्यालयको १ अर्ब डलर र ब्राउन विश्वविद्यालयको ५१ करोड डलर डलरको संघीय बजेट रोकिएको छ ।

गत वर्ष प्रो–प्यालेस्टिनियन आन्दोलनको केन्द्र बनेको कोलम्बियालगायत अन्य विश्वविद्यालयले ४० करोड डलरको संघीय बजेट रोक्ने धम्कीपछि केही मागहरू स्वीकार गरेका छन् । व्हाइट हाउसले हार्वर्डको क्याम्पसमा नियुक्ति र भर्ना प्रक्रिया परिवर्तन गर्नुका साथै अन्य मागहरु राख्दै पत्र पठाएको थियो । त्यसको जवाफमा हार्वर्डले एक कडा विरोधपत्र जारी गर्दै ती मागहरू अस्वीकार गर्‍यो ।

‘विश्वविद्यालयले आफ्नो स्वतन्त्रता र संविधानप्रदत्त अधिकार कहिल्यै छाड्ने छैन,’ भन्ने उल्लेख गर्दै हार्वर्डका वकिलहरूले अप्रिल १४ मा ट्रम्प प्रशासनलाई जवाफ दिएको थियो । अमेरिकी पूर्वराष्ट्रपति तथा हार्वर्डका पूर्वविद्यार्थी बाराक ओबामाले विश्वविद्यालयको समर्थन गर्ने बताएका छन् ।

एजेन्सी

Link copied successfully