वासिङटन/नयाँदिल्ली — अमेरिका र भारतले नयाँ आर्थिक अवसर खुला गर्न र द्विपक्षीय व्यापार सम्झौताका लागि वार्ता गर्न खोजिरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले सोमबारदेखि भारतको चार दिने भ्रमणमा गर्दैछन् । वासिङटन र बेइजिङबीच पछिल्लो समय व्यापार युद्धका कारण तनाव बढिरहेका बेला भेन्सको भारत भ्रमण तय भएको हो ।
भेन्सले नयाँदिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग अर्थव्यवस्था, व्यापार र भूराजनीतिक सम्बन्धबारे छलफलका लागि भेट गर्ने बताइएको छ । भेन्सको भ्रमणलाई राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले एक महत्त्वपूर्ण कूटनीतिक मिसनका रूपमा हेरेको छ । एसियाली क्षेत्रमा बेइजिङ नयाँदिल्लीको मुख्य प्रतिस्पर्धी हो ।
भारत र अमेरिकाबीच व्यापार सम्झौताले दुई देशबीचको आर्थिक सम्बन्धलाई उल्लेखनीय रूपमा बढाउने र सम्भावित रूपमा कूटनीतिक सम्बन्धलाई बलियो बनाउने देखिन्छ । हालै एक खर्ब ९० अर्ब डलरको द्विपक्षीय व्यापारका साथ अमेरिका भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार पनि हो ।
भारतको विदेश मन्त्रालयले भेन्सको भ्रमणले ‘दुवै पक्षलाई द्विपक्षीय सम्बन्धमा भएको प्रगतिको समीक्षा गर्ने अवसर प्रदान गर्ने र आपसी हितको क्षेत्रीय र विश्वव्यापी घटनाक्रममा विचार आदानप्रदान हुने’ जनाएको छ ।
राष्ट्रिय गुप्तचरकी निर्देशक तुलसी गबार्ड भूराजनीतिक सम्मेलनका लागि भारत आएको केही सातापछि र मोदीले वासिङ्टनमा ट्रम्पलाई भेटेको दुई महिनापछि भेन्सको भारत आगमन हुने भएको हो ।
ह्वाइट हाउसमा फर्केपछि ट्रम्पसँग वार्ता गर्न र भेट गर्न अमेरिका जाने मोदी पहिलो नेतामध्ये एक हुन् । आफ्नो भ्रमणका क्रममा मोदीले अमेरिकासँग ‘मेगा साझेदारी’ को प्रशंसा गरेका थिए । त्यस्तै उनले अमेरिकी वस्तुमा भन्सार दर कटौती गरिसकेपछि ट्रम्पको भन्सार दरको सम्भावित प्रभावलाई कम गर्न वार्ता प्रक्रिया सुरू गरे ।
यद्यपि ट्रम्पले भारतीय आयातमा २६ प्रतिशत शुल्क घोषणा गरे । तर उनले ९० दिनका लागि आयात कर स्थगन गरेका छन् । यसले भारतीय निर्यातकर्तालाई पनि अस्थायी राहत प्रदान गरेको छ ।
आफ्नो भ्रमणका क्रममा मोदीले आफू अमेरिकी वस्तुमा थप भन्सार दर कटौती गर्न, कागजातविहीन भारतीय नागरिकलाई फिर्ता पठाउन र सैन्य उपकरण खरिद गर्न तयार रहेको जनाउँदै व्यापारसम्बन्धी तनाव हुन नदिने प्रयास गरे । जसका कारण व्यापार सम्झौताका लागि वार्ता गर्न दुवै देश सहमत पनि भए ।
त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार अर्बपति, स्पेसएक्सका सिइओ तथा अमेरिकी दक्षता विभाग प्रमुख इलन मस्कसँग ‘प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्यको अपार सम्भावनाबारे छलफल गरेका थिए । कुराकानीमा मोदीले ‘भारतले प्रविधि र नवप्रवर्तनका क्षेत्रमा अमेरिकासँग साझेदारी अगाडि बढाउन प्रतिबद्ध रहेको’ बताएका छन् ।
भारत द्विपक्षीय व्यापार, प्रत्यक्ष विदेशी लगानी, रक्षा सहयोगका लागि अमेरिकाको नजिकको साझेदार हो भने इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभाव विरुद्ध लड्न एक महत्त्वपूर्ण रणनीतिक मित्र हो । अमेरिका, भारत, जापान र अस्ट्रेलिया क्वाडका सदस्य पनि हुन् । क्वाडलाई यस क्षेत्रमा चीनको विस्तारविरुद्ध सन्तुलनका रूपमा हेरिन्छ ।
एप्पल इंक र गुगल जस्ता प्रमुख अमेरिकी कम्पनीले हालका वर्षमा भारतमा आफ्नो सञ्चालन विस्तार गरेका छन् । गत महिना मस्कको स्टारलिंकले भारतका दुई शीर्ष टेलिकम अपरेटरसँग उपग्रहमा आधारित इन्टरनेट सेवाहरू प्रदान गर्न सम्झौता गरेको थियो ।
व्यापार सम्बन्धलाई थप बढावा दिन अमेरिका र भारतले अपेक्षित व्यापार सम्झौता अन्तर्गत सन् २०३० सम्ममा उनीहरूको द्विपक्षीय व्यापारलाई पाँच खर्ब डलरभन्दा बढी गरी दोब्बर बनाउने महत्त्वाकांक्षी लक्ष्य राखेका छन् ।
यस्तो अवस्थामा नयाँदिल्लीका लागि पनि अमेरिकासँगको वार्ता आवश्यक छ । त्यसका साथै ट्रम्पको पारस्परिक भन्सार दरका विषयमा पनि भारतले थप वार्ता र सम्झौता गर्न चाहन्छ । विशेष गरी कृषि, प्रशोधित खाद्य, अटो कम्पोनेन्ट, उच्च–अन्त मेशिनरी, चिकित्सा उपकरण र गहना क्षेत्रमा पनि भारत र अमेरिकाबीच सहकार्य हुने देखिन्छ । देशको अर्थतन्त्र सुधार्ने र निर्यात नेतृत्व पुन:प्राप्ति गर्दै रोजगारी सिर्जना गर्नु पनि मोदी सरकारका लागि अन्यावश्यक देखिएको छ ।
ट्रम्पको पहिलो कार्यकालमा मोदीले राम्रो सम्बन्ध स्थापित गरेका थिए । चिनियाँ राष्ट्रपति सी चिनफिङले वासिङटनसँगको बढ्दो तनावबीच बेइजिङलाई एसिया–प्रशान्त क्षेत्रमा भरपर्दो व्यापार साझेदारको रूपमा राख्ने लक्ष्य राखेका कारण यी दुई नेताले विशेष गरी व्यापारमा आफ्ना देशबीचको सहयोगलाई अझ बढाउने सम्भावना देखिन्छ ।
भारतले अमेरिकाबाट पाँचौँ पुस्ताको स्टिल्थ लडाकू जेटसहित थप तेल, ऊर्जा र रक्षा उपकरणहरू खरिद गर्नेछ । अमेरिकाले भारतमा आफ्नो कृषि र डेरी उत्पादनका लागि बजारमा बढी पहुँच चाहेको देखिन्छ । तर कृषि क्षेत्रले देशको अधिकांश कामदारलाई रोजगारी दिने भएकाले नयाँदिल्ली अहिलेसम्म अनिच्छुक रहेको छ ।
भेन्सका लागि भारत भ्रमण पारिवारिक पनि हो । उनकी पत्नी उषा भेन्स दक्षिण भारतीय हिन्दू आप्रवासी परिवारकी हुन् । आफ्नो संस्मरण ‘हिलबिली एलेजी’ मा भेन्सले आफ्नी पत्नीलाई ‘भारतीय आप्रवासीकी अत्यन्त बुद्धिमान छोरी’ भनेर वर्णन गरेका छन् ।
उषालाई उनले यल ल स्कूलमा भेटेका थिए । उषाका अभिभावक सन् १९७० को अन्त्यमा अमेरिका सरेका थिए । भेन्सको साथमा उषा, छोराछोरी र अमेरिकी प्रशासनका अन्य वरिष्ठ सदस्य सहभागी हुनेछन् । दम्पतीले जयपुर र आगराको भ्रमण गर्ने र सांस्कृतिक स्थलमा सहभागी हुने जनाइएको छ ।
