किभ/मस्को — इस्टरका अवसरमा गरिएको युद्धविराम उल्लंघन गरेकोमा रुस र युक्रेनले एक अर्कालाई आरोप लगाएका छन् । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसले ३० घण्टाका लागि युद्धविराम घोषणा गरे पनि आक्रमण जारी राखेको बताएका छन् ।
युक्रेनले युद्धविराम पालना गरेको तर रुसले तोडेको जेलेन्स्कीको दाबी छ । ‘रुसी सेनाले युद्धविरामबारे आम धारणा सिर्जना गर्ने प्रयास गरिरहेको छ । तर कतिपय स्थानमा यसले युक्रेनलाई क्षति पुर्याउने प्रयास त्यागेको छैन,’ उनले भनेका छन् ।
राष्ट्रपति जेलेन्स्कीका अनुसार युद्धविराम घोषणापछि रुसले १९ स्थानमा आक्रमण गरेको र ८ सय ८७ गोलाबारीका घटना भएको दाबी गरेका छन् । युक्रेनले अस्थायी युद्धविराम पालना गर्न नगरेकाले युक्रेनले परिस्थिति अनुसार कार्य गर्ने चेतावनी दिएका छन् । ‘युक्रेनले यसमा जवाफी कदम चाल्नेछ,’ जेलेन्स्कीले भनेका छन् ।
तर रुसले भने युक्रेनले युद्धविराम तोडेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार शनिबार राति युक्रेनले रुसका विभिन्न स्थानमा गोलाबारी तथा सयौं पटक ड्रोन आक्रमण गरेको छ ।
शनिबार रुसी राष्ट्रपतिले भ्लादिमिर पुटिनले ‘इस्टर’ का अवसरमा आइतबार मध्यरातसम्मका लागि युद्धविराम घोषणा गरेका थिए । पुटिनले इस्टरको अवसरमा रुसी सेनाले स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि आइतबार मध्यरातसम्म सबै सैन्य कारबाही रोक्ने जनाएका थिए ।
पुटिनले युद्धविराम मानवीय विचारद्वारा निर्देशित भएको बताएका थिए । त्यसका साथै उनले युक्रेनी पक्षले पनि सोहीअनुसार कदम चाल्ने अपेक्षा राखेको बताएका थिए । तर युक्रेनले युद्धविराम उल्लंघन वा कुनै प्रकारको उकास्ने कार्य गरेको खण्डमा रुसले जवाफी कारबाही गर्ने पुटिनले चेतावनी दिएका थिए । ‘उक्साउने स्थिति या युद्धविरामको उल्लंघन हुन्छ भने रुसी सैनिक जवाफी कारबाहीका लागि तयार छ,’ पुटिनले भनेका थिए ।
पुटिनले युद्धविराम घोषणा गर्नुअघि जेलेन्स्कीले अघिल्लो शुक्रबार रुसले गरेको आक्रमणको निन्दा गरेका थिए । ‘रुसले गुड फ्राइडेलाई बलिस्टिक, क्रूज, शाहिद क्षेप्यास्त्र प्रहार गरेर र हाम्रा जनता र सहरलाई अपांग बनाएर सुरू गर्यो,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
रुस युद्ध अन्त्य गर्न सधैं खुला रहेको अमेरिकालाई सन्देश दिन पुटिनले अप्रत्यासित युद्धविराम गरेको जनाकारहरूको दाबी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौतामा पुग्न ‘धेरै गाह्रो’ भएको खण्डमा अमेरिकाले रुस-युक्रेन वार्तामा मध्यस्थता गर्ने कुरामा विचार गर्ने बताएसँगै पुटिनले ३० घण्टा लामो ‘इस्टर युद्धविराम’ गरेका हुन् ।
