फ्लोरिडा युनिभर्सिटीमा गोली चल्दा २ जनाको मृत्यु, ६ घाइते

वैशाख ५, २०८२

सुदीप शिवाकोटी

2 killed, 6 injured in shooting at University of Florida

अमेरिका — अमेरिकाको फ्लोरिडा स्टेट युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहीबार मध्याह्नमा युनिभर्सिटीभित्र एक विद्यार्थीले चलाएको गोली लागेर हालसम्म २ को मृत्यु भएको हो । घाइते ६ जना स्थानीय तल्लाहासी हेल्थ मेडिकेयरमा उपचाररत छन् ।

स्थानीय प्रहरी युनिट तल्लाहासीका प्रहरी प्रमुख लरेन्स रेभेलका अनुसार गोली प्रहार गर्ने व्यक्ति फ्लोरिडा राज्यकै विद्यार्थी २० वर्षीय फिनिक्स इक्नेर रहेको समाचार संस्था एपीले उल्लेख गरेको छ । फ्लोरिडा स्टेट युनिभर्सिटीका प्रहरी प्रमुख जेसन ट्रम्बोवरले मृत्यु भएका दुई जना विद्यार्थी नभएको बताएका छन् । 

गोली काण्डका आरोपित इक्नेरले आफ्नी पूर्वसैनिक आमाले व्यक्तिगत प्रयोगका लागि घरमा राखिएको हतियार प्रयोग गरेको प्रहरीको दाबी छ । तल्लाहासीका प्रहरी प्रमुख लरेन्सले आरोपित इक्नेरले प्रहरीको आदेश पालना गर्न नमानेपछि गोली हानेर उनलाई घाइते बनाएर पक्राउ गरेको बताए । गोली काण्डको कारण भने हालसम्म सार्वजनिक गरिएको छैन । 

‘गोली लागेर दुईको मृत्युसँगै पाँच जना घाइते भएका हुन्, भने एक जना भाग्ने क्रममा प्रहरीको गोली लागेर घाइते भएका छन् ।’ प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

घाइतेको उपचार भइरहेको तल्लाहासी मेमोरियल हेल्थ केयरले घाइते सबैको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको छ । गोली प्रहार गर्ने विद्यार्थी स्थानीय लियान काउन्टीको युवा सल्लाहकार परिषद्को सदस्यसमेत थिए ।

यसैगरी, दुई दिनअघि मंगलबार टेक्सस राज्यको डालास सहरमा अवस्थित विल्मर हचिन्स हाइ स्कुलमा भएको गोलीकाण्डमा चार जना विद्यार्थी घाइते भएका थिए । घटनापछि प्रहरीले एक जना आरोपिलाई पक्राउ गरेको थियो । घटना विद्यार्थीहरुबीचको झगडाका कारण भएको प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा दाबी गरेको छ । 

डालास आईएसडी प्रहरी विभागको सहायक प्रमुख क्रिस्टिना स्मिथले घाइतेहरुको उपचार जारी रहेको अमेरिकी सञ्चारमाध्यमहरुमा बताएका छन् । स्मिथले, ‘यो अनुसन्धान अहिलेको लागि निकै नयाँ छ, त्यसैले के कारणले गोली चल्यो भन्ने जानकारी हालसम्म प्राप्त भएको छैन ।’ उनले भनिन् ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully