क्यानबेरा — अस्ट्रेलियामा बेरोजगारी दरमा वृद्धि भएको छ । अष्ट्रलियाले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार फेब्रुअरीको तुलनामा मार्चमा बेरोजगारी दर ०.१ प्रतिशतले बढेको हो ।
अष्ट्रेलियाको तथ्यांक विभाग (एबीएस) का अनुसार बेरोजगारी दर मार्चमा ४.१ प्रतिशत पुगेको हो । फेब्रुअरीमा बेरोजगारी दर ४.० प्रतिशत थियो । एबीएसका अनुसार त्यसअघि लगातार पाँच महिना भने ४.० प्रतिशतमा रहेको थियो ।
पछिल्लो १२ महिनामा रोजगारमा रहेका अस्ट्रेलियालीको संख्या ३ लाख ८ अर्थात २.२ प्रतिशतले बढेको जनाइएको छ । जुन कोभिड महामारीपूर्वको २० वर्षको औसत २.० प्रतिशतभन्दा बढी हो । रोजगारमा रहेका अस्ट्रेलियालीको संख्या फेब्रुअरी र मार्चबीचमा ३२ हजार २ सयले वृद्धि भएको एबीएसले जनाएको छ । सोही अवधिमा बेरोजगारहरूको संख्या ३ हजारले बढेको छ ।
एबीएसका श्रम तथ्यांक प्रमुख सीन क्रिकले रोजगार–जनसंख्या अनुपात (काम गर्ने उमेरको जनसङ्ख्या) मार्चमा ६४.१ प्रतिशत रहेको बताएका छन् । रोजगारीमा वृद्धिको बावजुद क्रिकले अष्ट्रेलियालीहरूले काम गर्ने समय मार्चमा ०.३ प्रतिशतले घटेको बताउँदै यसको कारण चक्रवातलगायत प्रमुख मौसमी घटना भएको जनाए ।
