अमेरिकासँग व्यापार युद्ध लड्न तयार : चीन

वैशाख ३, २०८२

एजेन्सी

Ready to fight trade war with US: China

बेइजिङ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा बेइजिङमा निर्भर रहेको बताएपछि चीनले अमेरिकासँग व्यापार युद्ध लड्न ‘नडराउने’ चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका लिन जियानले अमेरिका वार्तामार्फत समस्या समाधानका लागि गम्भिर नभएको दाबी गरेका छन् । 

‘यदि अमेरिका वास्तवमै संवाद र वार्ताको माध्यमबाट समस्या समाधान गर्न चाहन्छ भने उसले चेतावनी र ब्ल्याकमेलिङ जस्ता अत्यधिक दबाबको नीति रोक्नुपर्छ र समानता, सम्मान र पारस्परिक लाभका आधारमा चीनसँग वार्ता गर्नुपर्छ,’ लिन जियानले भने । तर उनले वार्ताका लागि अमेरिकालाई पुनः आह्वानसमेत गरेका छन् । 

ट्रम्पले सुरूमा फेन्टानिल आपूर्ति शृंखलामा चीनको भूमिका रहेको दाबी गर्दै चीनबाट आयात हुने सामानमा कर लगाएका थिए । त्यसयता दुवै देश व्यापार युद्धमा होमिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने धेरैजसो सामानमा थप १४५ प्रतिशत आयात कर लगाइसकेका छन् । बेइजिङले पनि अमेरिकी आयातमा प्रतिशोधात्मक १२५ प्रतिशत कर लगाएको छ । 

तर ट्रम्प प्रशासनले स्मार्टफोन र ल्यापटपजस्ता केही प्राविधिक उत्पादनहरूमा पछिल्लो कर वृद्धिबाट अस्थायी छूट दिएको छ । तर मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पले बल चीनको कोर्टमा रहेको बताएका छन् । त्यसको प्रतिक्रियामा लीनले भनेका छन्, ‘यो कर युद्ध अमेरिकाले नै सुरू गरेको हो र चीनको अडान स्पष्ट छ कि कर युद्ध वा व्यापार युद्धमा कोही पनि विजेता हुँदैन । यसको मतलब, चीन युद्ध गर्न चाहँदैन, तर परेको खण्डमा यसको सामना गर्न डराउँदैन ।’ 

एजेन्सी

Link copied successfully