डालास हाईस्कुल गोलीकाण्ड : चार विद्यार्थी घाइते, एक संदिग्ध पक्राउ

वैशाख ३, २०८२

एजेन्सी

Dallas High School Shooting: Four Students Injured, One Suspect Arrested

टेक्सास — मंगलबार विल्मर हचिन्स हाइ स्कुलमा भएको गोलीकाण्डमा चार जना विद्यार्थी घाइते भएका छन् । घटनापछि प्रहरीले एक जना संदिग्धलाई पक्राउ गरेको छ ।

डालास इन्डिपेन्डेन्ट स्कुल डिस्ट्रिक्टले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै संदिग्धको पक्राउको जानकारी दिएको हो । यद्यपि, उक्त विज्ञप्तिमा थप विवरण दिइएको छैन ।

एबीसी न्युजका अनुसार सुरुमा यो घटना विद्यार्थीहरुबीचको झगडा थियो । त्यहाँ कुनै सक्रिय आक्रमणकारीको प्रवेश थिएन । घाइते चारै जना विद्यार्थीलाई नजिकका अस्पतालमा भर्ना गरिएको छ । डालास आईएसडी प्रहरी विभागको सहायक प्रमुख क्रिस्टिना स्मिथले उनीहरूको अवस्थाबारे विस्तृत जानकारी नदिए पनि उपचार भइरहेको बताएकी छिन् । 

स्मिथले पत्रकार सम्मेलनमा भनिन्, ‘यो अनुसन्धान अहिलेको लागि निकै नयाँ छ, त्यसैले के कारणले गोली चल्यो भन्ने जानकारी हालसम्म प्राप्त भएको छैन ।’

उनका अनुसार प्रयोग गरिएको बन्दुक नियमित विद्यालय प्रवेश प्रक्रियाबाट आएको थिएन । उनले भनिन्, ‘यो हाम्रो कर्मचारी, प्रणाली वा स्क्यान मेसिनहरूको कमजोरी थिएन ।’ यद्यपि उनले थप प्रष्टिकरण दिइनन् ।

एक जना विद्यार्थीले स्थानीय सञ्चारमाध्यम वाफालाई भने अनुसार, खानाको समयमा हलमा रहेका बेला उनले गोलीको आवाज सुने । त्यसपछि विद्यार्थीहरू दौडिएको र चिच्याएको देखेपछि उनी ब्याण्ड रुममा लुकेका थिए । 

घटनापछि खिचिएको भिडियोहरूमा विद्यार्थीहरूलाई विद्यालयबाट निकालिँदै गरेको देखिन्छ, र घटनास्थलमा प्रहरी र दमकलका सवारीसाधनहरू पुगेका छन् ।

विद्यालयलाई सुरक्षित बनाइएको छ भने सर्वसाधारणलाई क्याम्पसबाट टाढा रहन आग्रह गरिएको छ ।

डालास आईएसडीकी सुपरिन्टेन्डेन्ट स्टेफ्नी एलिजाल्डेले सबै विद्यार्थीलाई अभिभावकहरूसँग पुनःमिलन गराइएको जानकारी दिइन् । घटनापछि यससाता बाँकी दिन विद्यालय बन्द रहने र मानसिक स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइने उनले बताइन् ।

उनले भनिन्, ‘आज हामी सबैले अनपेक्षित र दुःखद घडीको सामना गर्नुपर्‍यो । यो अब बारम्बार दोहोरिन थालेको छ, जुन सामान्य हुनुहुँदैन ।’

टेक्सासका गभर्नर ग्रेग एबटले पीडितप्रति समवेदना प्रकट गर्दै दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत् भनेका छन्, ‘विलमर हुचिन्स हाई स्कुलमा भएको यस अमानवीय हिंसाको घटनाप्रति हामी दुःखी छौं ।’

एजेन्सी

Link copied successfully