रुसी आक्रमणमा युक्रेनमा ३४ जना मारिए 

वैशाख १, २०८२

एजेन्सी

34 people killed in Ukraine in Russian attack

काठमाडौँ — रुसले युक्रेनको सुमी सहरमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा ३४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कम्तिमा दुई बालबालिका छन् । १५ बालबालिकासहित १ सय १७ जना घाइते भएका छन् । 

युक्रेनी अधिकारीहरूका अनुसार सुमी सहरमा रुसी सेनाले दुई क्षेप्यास्त्र प्रहार गरेको हो । इस्केन्डर-भेरिएन्ट बलिस्टिक क्षेप्यास्त्र सुमी विश्वविद्यालय वरपरको क्षेत्रमा प्रहार गरिएको हो । 

रुसी आक्रमणमा ४ शैक्षिक संस्था र पाँच अपार्टमेन्टसहित २० भवन क्षतिग्रस्त भएका युक्रेनी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटनापछिका तस्बिर र भिडियोमा क्षेप्यास्त्र प्रहार गरिएको वरिपरिका सडकमा रगतले लतपतिएका शव छरिएका देखिन्छन् । 

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले घाइतेमध्ये एक बालिका यसै वर्ष जन्मेकी बताएका छन् । चिकित्सकहरूले सकेसम्म धेरै जीवन बचाउन प्रयास गरिहरेको उनको भनाइ छ । ‘रुसले ठ्याक्कै यस्तै प्रकारको आतंक चाहन्छ र यो युद्धलाई तन्काइरहेको छ । आक्रमणकारीमाथि दबाबबिना शान्ति असम्भव छ,’ जेलेन्स्कीले भनेका छन् ।

आक्रमणबारे रुसले भने कुनै टिप्पणी गरेको छैन ।

एजेन्सी

Link copied successfully