युक्रेन युद्ध रोक्न पुन: सक्रिय भए ट्रम्प

युक्रेन युद्ध अन्त्य गर्ने विषयमा यसअघि ट्रम्प र पुटिनबीच दुईपटक टेलिफोन कुराकानी भइसकेको छ । दुवै देशका प्रतिनिधिले साउदी अरबमा वार्तासमेत गरेका छन् ।

चैत्र ३०, २०८१

बुद्धिसागर मरासिनी

Trump reactivated to stop Ukraine war

काठमाडौँ — तीन वर्षभन्दा लामो समयदेखि युद्धरत रुस र युक्रेनबीच युद्धविरामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुन: सक्रिय भएका छन् । ट्रम्पले युद्धविरामबारे छिटो निर्णय लिन रुसी समकक्षीलाई आह्वान गरिरहेका बेला ट्रम्पका विशेषदूत स्टिभ विट्कफले रुसी राष्ट्रपति पुटिनलाई भेटेका हुन् ।

शुक्रवार रुसको सेन्ट पिटर्सबर्ग पुगेका विटकफले पुटिनसँग चार घण्टाभन्दा लामो समय वार्ता गरेका हुन् । ट्रम्पले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेयता विटकफले तेस्रोपटक पुटिनसँग भेटवार्ता गरेका हुन् । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले चार घण्टाभन्दा लामो समयसम्म चलेको वार्ता युक्रेन युद्ध समाधानका पक्षमा केन्द्रित रहेको जनाएको छ । त्यस्तै पुटिनका विशेषदूत किरिल दिमित्रीभले वार्ता निकै फलदायी भएको जनाएका छन् । 

तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने वार्ताको गतिका विषयमा पुटिनसँग निराशा व्यक्त गरेका बीबीसीले उल्लेख गरेको छ । ‘अब रुस अगाडि बढ्नुपर्छ । एउटा भयानक र अर्थहीन युद्धमा सातामै हजारौं मानिसले ज्यान गुमाइरहेका छन्,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् । 

यसअघि राष्ट्रपति ट्रम्पले आफुले राष्ट्रपति पद सम्हालेको २४ घण्टामा नै रुस-युक्रेन युद्ध अन्य गर्ने दाबी गरेका थिए । शुक्रवार भने ट्रम्पले आफू अमेरिकी राष्ट्रपति नै रहेको भए रुसले युक्रेनमाथि पूर्ण-स्तरको आक्रमण नै नगर्ने दाबी गरे । ‘यस्तो युद्ध हुनै पर्दैनथ्यो । यदि म राष्ट्रपति भएको भए हुने पनि थिएन,’ ट्रम्पले भनेका छन् । 

युक्रेनका लागि ट्रम्पका विषेशदूत किथ केलोगले देश विभाजन हुन सक्ने विषयमा असहमति जनाएपछि ट्रम्पको प्रतिक्रिया सार्वजिनक भएको हो । ‘द टाइम्स’ पत्रिकासँगको अन्तर्वार्तामा केलोगले बेलायती र फ्रान्सेली फौज युक्रेनको पश्चिमी क्षेत्रमा नियन्त्रित इलाकामा रहने सक्ने प्रस्ताव गरेका थिए । 

केलोगले ती क्षेत्रमा विश्वास दिलाउने शक्तिका रूपमा त्यस्ता फौझ राख्न सकिने बताएका थिए । त्यस्तो शक्तिले युद्धविराम र दीर्घकालीन रूपमा युक्रेनको आत्मविश्वास बढाउन मद्दत गर्ने दाबी गरिएको छ । त्यस्तै, उनले कब्जा गरिएका युक्रेनका पूर्वी भागमा रुसी सेनालाई रहनसक्ने प्रस्ताव पनि गरेका बीबीसीले उल्लेख गरेको छ । टाइम्स पत्रिकाका अनुसार केलोगले दोस्रो विश्वयुद्धपछि बर्लिनमा अपनाइएको मोडल अपनाउन पनि सकिने बताएका हुन् । 

तर त्यसको विरोधपछि उनले आफूले भनेको कुरालाई गलत रूपमा प्रस्तुत गरिएको भन्दै समाजिक सञ्जालमार्फत खण्डन गरेका छन् । ‘म युक्रेनको सार्वभौमिकताको समर्थनमा युद्धविरामपछिको अवस्थाबारे कुरा गरिरहेको थिएँ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मैले युक्रेन विभाजन गर्ने कुरा गरेको होइन ।’ तर यसबारे युक्रेन वा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट कुनै प्रतिक्रिया आइसकेको छैन ।

यसअघि युरोपेली राष्ट्रहरूले युक्रेनलाई सैन्य सहायताका लागि २१ अर्ब यूरो दिने सहमति गरेका थिए । त्यस अवसरमा बोल्ददै युरोपेली देशका रक्षामन्त्रीहरूले युक्रेन युद्ध अन्त्यका कुनै संकेत नदेखेको बताएका थिए । तर पुटिन र विटकफबीचको वार्ताअघि रुसी राष्ट्रपति कार्यालय क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले सम्बन्ध सामान्यीकरणको प्रक्रिया जारी रहेको बताएका थिए । 

राष्ट्रपति पुटिनसँगको भेटअघि विटकफले पुटिनका विशेषदूत दिमित्रीभसँग सेन्ट पिटर्सबर्गमा भेटवार्ता गरेका थिए । ४९ वर्षीय दिमित्रीभ रुसको सार्वभौम सम्पत्ति कोषका प्रमुख हुन् । उनले गत साता वासिङ्टनको भ्रमण समेत गरेका थिए । उनी रुस युक्रेन युद्ध सुरू भएयता अमेरिकाको भ्रमण गर्ने सबैभन्दा वरिष्ठ रुसी अधिकारी हुन् ।Trump reactivated to stop Ukraine war

यसैबीच युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले युक्रेन युद्ध लम्बाएको आरोप लगाएका छन् । गृहनगर क्रिभी रिमा ४ अप्रिलमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणस्थलको भ्रमणका क्रममा जेलेन्स्कीले रुस युद्ध अन्त्यका लागि जिम्मेवार नभएको बताएका हुन् । आक्रमणमा ९ बालबालिकासहित १९ जनाको ज्यान गएको थियो । 

त्यस्तै जेलेन्स्कीले सयौं चिनियाँ नागरिक रुसी सेनासँग लडिरहेको पनि दाबी गरेका छन् । युक्रेनले हालै युद्धमा सहभागी दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको उनको दाबी छ । ‘सयौं चिनियाँ नागरिक रुसका तर्फबाट लडिरहेको जानकारी हामीलाई प्राप्त भएको छ,’ जेलेन्स्कीले भने, ‘यसको अर्थ रुसले चिनियाँहरूको जीवन प्रयोग गरेर पनि युद्धलाई लम्ब्याउन खोजिरहेको स्पष्ट छ ।’

जेलेन्स्कीले मानिसहरूको ज्यान र सहर बचाउन हवाई प्रतिरक्षा प्रणालीका लागि पुन: आह्वान गरे । ‘हामीले राष्ट्रपति ट्रम्पसँग यसबारे छलफल गरेका छौं । युक्रेनले मागिरहेको मात्र छैन । हामी थप प्रणाली किन्न पनि तयार छौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । छिमेकी रुस जस्तो भएपछि जीवन बचाउन पनि शक्तिशाली हतियारमा भर पर्नुपर्ने उनको भनाइ छ । 

युक्रेन युद्ध अन्त्य गर्ने विषयमा यसअघि ट्रम्प र पुटिनबीच दुईपटक टेलिफोन वार्ता समेत भइसकेको छ भने दुवै देशका प्रतिनिधिबीच साउदी अरबमा वार्ता समेत भइसकेको छ । ट्रम्पले राष्ट्रपतिको कार्यकाल सम्हालेको तीन सातामा नै रुसी समकक्षी पुटिनसँग टेलिफोन कुराकानी गरेका थिए । कुराकानीमा दुई नेताबीच युक्रेन युद्ध अन्त्य गर्ने सहमित भएको थियो । त्यसका साथै उनीहरूले एक अर्कालाई आ-आफ्नो देश भ्रमणका लागि निम्ता पनि दिएका थिए । 

त्यसको एक सातापछि दुवै देशबीच विदेशमन्त्रीस्तरीय वार्ता भएको थियो । साउदीमा भएको वार्तामा रुस-युक्रेन युद्ध अन्त्य गर्न उच्चस्तरीय टोलीबीच कुराकानी हुने सहमति भएको थियो । त्यसयता दुई देशले एक अर्कालाई अप्रत्यासित समर्थन र प्रस्ताव गरे । 

२५फेब्रुअरीमा राष्ट्रसंघीय महासभामा भएको मतदातमा अमेरिकाले रुसको पक्षमा मद दियो भने रुसले कब्जामा गरेको युक्रेनी भूभागसहित रुसका दुर्लभ खनिज भण्डारको विकासका लागि पुटिनले अमेरिकासँग सहकार्यको प्रस्ताव राखे । तर रुसी राष्ट्रपति पुटिनले युद्ध अन्त्यका लागि ‘युक्रेनमा संक्रमणकालीन प्रशासन स्थापना गर्नुपर्ने’ बताएपछि भने दुई नेताबीचको सम्बन्ध केही चिसिएको थियो । रुसले 

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले कार्यकाल सकिएपछि पनि कुनै चुनाव नगराएको र पदमा रहिरहेको भन्दै उनको वैधतामाथि प्रश्न उठाउँदै आएका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्की ३१ मार्च २०१९ मा भएको चुनावबाट राष्ट्रपतिमा निर्वाचित भएका हुन् । २० मे २०१९ मा पद सम्हालेका जेलेन्स्कीको पाँच वर्षे कार्यकाल दश महिनाअघि नै सकिइसकेको छ, तर युक्रेनमा नयाँ मतदान भएको छैन । Trump reactivated to stop Ukraine war

यसअघि ट्रम्पले पनि जेलेन्स्कीलाई ‘तानाशाह’ को संज्ञा दिँदै सत्तामा आएदेखि ‘चुनाव नगराएको’ आरोप लगाएका थिए । अमेरिकी दबाबपछि खनिज सम्झौताका लागि जेलेन्स्की ह्वाइहाउस पुगेका थिए । तर अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भेन्ससँगको चर्काचर्कीपछि जेलेन्स्की सम्झौताबिना नै बाहिरिए । 

तर ट्रम्प प्रशासनले युक्रेनलाई दिँदै आएको सैन्य तथा गुप्तचर सहयोग रद्द गरिदिएपछि जेलेन्स्की अमेरिकी योजनाअनुसार युद्धविराम अन्त्य गर्न र युक्रेनी दुर्लभ खनिजको स्वामित्व अमेरिकालाई दिन तयार भएका थिए । त्यसपछि जेलेन्स्की एकमहिने युद्धविरामका लागि तयार भए पनि युद्धविरामले युक्रेनलाई पुनः संगठित हुने मौका दिने भन्दै रुसले प्रस्ताव अस्वीकार गरेको थियो । 

त्यसलगत्तै ट्रम्प र पुटिनबीच पुन: टेलिफोन वार्ता भयो र 'ब्ल्याक सी'मा सामान ढुवानीको सुरक्षाका विषयमा चाँडै वार्ता गर्ने सहमति जुट्यो । तर रुसले त्यसका लागि पश्चिमा देशले लगाउँदै आएका केही प्रतिबन्ध हटाउनुपर्ने माग अघि सारेपछि ट्रम्प चिढिएका थिए । 

पुटिनले जेलेन्स्कीको विश्वसनीयतामा प्रवेश गर्न थाले पछि आफूलाई रिस उठेको ट्रम्पले प्रतिक्रिया दिएका थिए । त्यसका साथै ट्रम्पले पुटिन युद्धविरामका लागि सहमत नभएमा रुसी तेल किन्ने देशहरूमा अतिरिक्त कर लगाउने धम्की पनि दिए । तर रुसी राष्ट्रपति पुटिन ट्रम्पको धम्कीबाट नगलेपछि ट्रम्पले पुन: वार्तामार्फत नै समस्या समाधानका लागि सक्रिय देखिएका हुन् । 

(एजेन्सीहरूको सहयोगमा)

बुद्धिसागर मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

Link copied successfully