गाजा युद्ध अन्त्यका लागि कायरोमा वार्ता

चैत्र ३०, २०८१

एजेन्सी

Talks in Cairo to end Gaza war

कायरो — प्यालेस्टिनी आन्दोलनका वरिष्ठ नेताहरूले शनिबार कायरोमा इजिप्टका मध्यस्थकर्तासँग वार्ता गरिरहेका बेला हमासले गाजामा युद्ध अन्त्यका लागि युद्धविराम सम्झौताको दिशामा ‘वास्तविक प्रगति’ को अपेक्षा गरेको वार्तामा संलग्न एक अधिकारीले बताएका छन् ।

गाजामा जारी हिंसाबीच हमास र इजिप्टका मध्यस्थकर्ताबीच कायरोमा कुराकानी भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा बन्धक बनाइएकाहरूको रिहाइका लागि सम्झौतानजिक पुगेको बताएको केही दिनपछि दुवै पक्ष वार्तामा जुटेका हुन् । 

हमासका एक अधिकारीले एएफपीलाई बताएअनुसार प्यालेस्टिनी समूहले इजिप्टका मध्यस्थकर्तासँगको बैठकबाट महत्वपूर्ण प्रगति हुने अपेक्षा गरेको छ । 'बैठकले युद्ध अन्त्य गर्न, आक्रमण रोक्न र गाजाबाट इजरायली सैनिक फिर्ता सुनिश्चित गर्न सम्झौतामा पुग्ने दिशामा वास्तविक प्रगति हासिल गर्नेछ भन्ने हामी आशा गर्दछौँ,' युद्धविराम वार्तासँग निकट एक अधिकारीले भनेका छन् । 

हमास प्रतिनिधिमण्डलको नेतृत्व समूहका प्रमुख वार्ताकार खलिल अल–हयाले गरेका छन् । इजरायल र इजिप्टबीच सम्भावित युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको खाका आदानप्रदान भएको इजरायली सञ्चारमाध्यममा उल्लेख भएपनि हमासले अहिलेसम्म युद्धविरामको नयाँ प्रस्ताव प्राप्त गरेको छैन । 'मध्यस्थकर्ताहरूसँग सम्पर्क र छलफल जारी छ,' उनले भने, 'इजरायलले गाजामा ‘आफ्नो आक्रमण जारी राखेको छ । यसले वार्ताको वातावरणलाई प्रभावित पारिरहेको छ ।’

इजिप्टको प्रस्तावमा ४० देखि ७० दिनसम्म चल्ने युद्धविराम र प्यालेस्टिनी कैदीहरूको पर्याप्त रिहाइको बदलामा आठ जीवित बन्धक रिहाइ र  आठ शव हस्तान्तरण गरिने विषय समावेश रहने द टाइम्स अफ इजरायलले जनाएको छ । राष्ट्रपति ट्रम्पले यसै साता मन्त्रिपरिषद्को बैठकमा भनेका थिए, 'हामी गाजामा बन्धक बनाइएकालाई फिर्ता ल्याउने कामको नजिक पुगेका छौँ ।' 

ट्रम्पका मध्यपूर्व विशेषदूत स्टिभ विटकोफलाई उद्धृत गर्दै इजरायली सञ्चारमाध्यमले 'एउटा गम्भीर सम्झौताले आकार लिइरहेको र यो केही दिनमा टुंगोमा पुग्ने' जनाएका छन् । इजरायलले हमाससँगको दुई महिना लामो युद्धविराम अन्त्य गर्दै १८ मार्चमा गाजामा पुनः आक्रमण सुरू गरेको थियो । त्यसयता १५ सय भन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एजेन्सी

Link copied successfully