अमेरिकामा गोलीकाण्ड १० वर्षमा ४ हजारको हत्या

सबैभन्दा बढी आपराधिक गतिविधि हुने राज्यमा राजधानी वासिङ्टन डीसी, न्यु मेक्सिको, लुइजियाना, कोलोरोडो, साउथ क्यारोलिना, अर्कान्सस्, ओक्लाहोमा, वासिङ्टन, टेनिसी, ओरेगन, मिसौरी, अलस्का, युटहा, हवाई र टेक्सस

चैत्र २४, २०८१

सुदीप शिवाकोटी

4,000 killed in US shootings in 10 years

अमेरिका — अमेरिकाको न्यु मेक्सिको राज्यको लास क्रुसिज प्रहरीले गत सोमबार दिउँसो १५ वर्षीय किशोरलाई गोलीकाण्डमा संलग्न रहेको आरोपमा पक्राउ गर्‍यो । मार्च २० मा न्यु मेक्सिकोमा तीन जनाको हत्या र १४ जना घाइते हुने गरी भएको गोली काण्डमा उनी संलग्न रहेको प्रहरीको आरोप छ ।

प्रहरीले उक्त घटनामा संलग्नताको आरोपमा ती किशोरसहित तीन जनालाई नियन्त्रणमा लिइसकेको छ । लास क्रुसिज प्रहरीले फेसबुक पोस्टमार्फत सार्वजनिक गरेको विवरणअनुसार गोलीकाण्डमा १९ वर्षका दुई र १६ वर्षीय एक युवकको मृत्यु भएको थियो ।

अमेरिकामा हरेक दिनजसो कुनै न कुनै राज्यमा यस्ता घटना घटिरहेका हुन्छन् । २०२५ को तीन महिना अवधिमा मात्र अमेरिकामा ५३ वटा गोलीकाण्ड सार्वजनिक भइसकेका छन् । गन भ्वाइलेसन्स् अर्काइभ (जेभीए)को तथ्यांकअनुसार जनवरीमा १८, फेब्रुअरीमा २२ र मार्चको तेस्रो सातासम्म १४ जनाको सामूहिक गोलीकाण्डमा मृत्यु भएको थियो । ती घटनामा २ सय ४२ जना घाइते भएका थिए । जनवरीमा ९८, फेब्रुअरीमा ५७ र मार्चको तेस्रो सातासम्म ८७ जना घाइते भएको जनाइएको छ ।

अमेरिकामा २०१४ देखि २०२५ फेब्रुअरीसम्मको १० वर्ष २ महिना अवधिमा गोलीकाण्डमा ४ हजार २० जनाको मृत्यु भएको छ । जेभीएको तथ्यांकअनुसार उक्त अवधिमा भएका ५ हजार २ सय ३६ वटा गोलीकाण्डमा ४ हजार २० जनाको मृत्यु भएको हो । यी घटनाहरू सार्वजनिक पार्क, बार, समुदाय, चाडपर्व, व्यावसायिक क्षेत्र, विद्यालयहरूमा बढी घटेको जेभीएले उल्लेख गरेको छ । २०१४ मा २ सय २९, २०१५ मा २ सय ८१, २०१६ मा ३ सय ९, २०१७ मा २ सय ९९, २०१८ मा २ सय ७६, २०१९ मा ४ सय ६, २०२१ मा ४ सय ३८, २०२२ मा ४ सय १३, २०२३ मा ४ सय २२ र २०२५ को मार्च तेस्रो सातासम्म ५४ जना गरी ४ हजार २० जनाको गोलीकाण्डमा मृत्यु भएको तथ्यांक छ ।

जीभीएको तथ्यांकअनुसार २०२० मे पछि विगतका वर्षहरूको तुलनामा सामूहिक गोलीकाण्डमा वृद्धि भएको देखिएको छ । जामा ओपन नेटवर्क जर्नलमा उल्लेख गरेअनुसार अप्रिल २०२० देखि जुलाई २०२१ को जीभीए तथ्यांक विश्लेषण गर्दा अनुसन्धानकर्ताले जुलाई २०२० मा अघिल्लो वर्षको तुलनामा गोलीकाण्ड दोब्बर बढी भएको टिप्पणी गरेका छन् । २०१९ को कोभिडपछि लगातार तीन वर्ष गोलीकाण्डका घटना र हिंसामा वृद्धि भएको जीभीएले जनाएको छ । तथ्यांकअनुसार २०१४ मा २ सय ७२, २०१५ मा ३ सय ३२, २०१६ मा ३ सय ८२, २०१७ मा ३ सय ४५, २०१८ मा ३ सय ३५, २०१९ मा ४ सय १३, २०२० मा ६ सय १०, २०२१ मा ६ सय ८९, २०२२ मा ६ सय ४४, २०२३ मा ६ सय ५८, २०२४ मा ५ सय ३ र २०२५ मार्चसम्म ५३ वटा गोलीकाण्ड भइसकेका छन् ।

अमेरिकामा न्यूनतम प्रक्रिया पूरा गरेपछि बन्दुक आफ्नो साथमा राख्न पाउने र किन्न पाउने प्रावधान छ । यहाँ अधिकांशले घर, गाडी वा आफ्नो साथमा बन्दुक राख्ने गरेका छन् । जसका कारण गोलीकाण्डका घटना अत्यधिक हुने गरेको अनुसन्धानकर्ताको अनुमान छ । धेरै राज्यले बन्दुक बोक्न लगाइएका प्रतिबन्धहरू धेरै हदसम्म हटाउँदै गएकाले पनि हत्याकाण्ड बढिरहेको बीबीसीले उल्लेख गरेको छ । जुन २०२१ मा टेक्सासका गभर्नर ग्रेग एबोटले ‘परमिटलेस क्यारी बिल’मा हस्ताक्षर गरेपछि राज्यवासीले इजाजतपत्र वा प्रशिक्षणबिना नै ह्यान्डगन बोक्न अनुमति पाएको बीबीसीले जनाएको छ । जर्जियामा पनि इजाजतपत्र वा अनुमतिपत्रबिना नै बन्दुक बोक्न पाउँछन् । यसरी अनुमतिपत्रबिना बन्दुक बोक्न वा राख्न पाइने जर्जिया अमेरिकाको २५ औं राज्य हो । 

जीभीएका अनुसार अमेरिकामा सबैभन्दा बढी आपराधिक गतिविधि हुने राज्यमा राजधानी वासिङ्टन डीसी, न्यु मेक्सिको, लुइजियाना, कोलोरोडो, साउथ क्यारोलिना, अर्कान्सस्, ओक्लाहोमा, वासिङ्टन, टेनिसी, आरेगन, मिसौरी, अलस्का, युटहा, हवाई र टेक्सस पर्दछ । 

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully