ट्रम्प सरकारबाट बाहिरिन लागेका हुन् इलन मस्क ?

चैत्र २१, २०८१

कान्तिपुर संवाददाता

Is Elon Musk going to leave the Trump government?

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्रिपरिषद् सदस्यसहित आफ्ना केही निकटस्थहरूलाई बताएअनुसार अर्बपति इलन मस्क अब सरकारी भूमिकाबाट चाँडै बाहिरिँदै छन् । अमेरिकी समाचार पोर्टल ‘पोलिटिको’ ले ट्रम्प प्रशासनका सक्रिय साझेदार, उत्साही सर्मथक र वासिङ्टनका आक्रामक प्रवक्तासरह रहेका मस्क यसबाट पछि हट्न लागेको समाचार सार्वजनिक गरेको छ ।      

ट्रम्प र मस्कबीच हालैको छलफलपछि यो निर्णय भएको ह्वाइट हाउसका तीन विश्वसनीय स्रोतलाई उद्दृत गर्दै पोलिटिकोले जनाएको छ । मस्कले 'डज' भनिने सरकारी दक्षता विभागको नेतृत्व गर्दै आएका थिए । यो विभाग ट्रम्पले संघीय खर्च कटौती गर्न भन्दै इलनकै लागि भनेर स्थापना गरेका थिए । 

राष्ट्रपति ट्रम्प मस्क र डज दुवैको कामबाट सन्तुष्ट भए पनि अब मस्क आफ्ना व्यवसायहरूमा फर्किने र सरकारलाई परोक्ष रूपमा सहयोग गर्ने बताइएको छ । ‘ट्रम्प प्रशासनका कतिपय भित्री र केही बाह्य सहयोगीहरू मस्कका अनपेक्षित व्यवहार र मन्त्रिपरिषद्‌मा उनले स्पष्ट रूपमा आफ्ना योजना र संवाद प्रस्तुत गर्न नसकेकोमा असन्तुष्ट छन्,’ एबीसीको समाचारमा भनिएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता क्यारोलाइन लेभिटले डजको उद्देश्य पूरा भएपछि र कार्य समापनसँगै मस्क विशेष सरकारी कर्मचारीका रूपमा सार्वजनिक सेवाबाट बाहिरिने बताएकी छन् । तर, उनी आउँदा हप्ताभित्रै सरकारी भूमिकाबाट पछि हट्ने खबर ‘वाहियात’ भएको लेभिटको भनाइ छ । तथापि उनले डजको जिम्मेवारी पूरा भएसँगै मस्क बाहिरिने स्पष्ट पारेकी छन् ।  

बुधबार ह्वाइट हाउसले भने सरकारी खर्च कटौती गर्ने र संघीय कर्मचारीको संख्या चुस्त बनाउने अभियान पूरा गर्न मस्क पदमै रहने जनाएको थियो । न्यायाधिश नियुक्तीका लागि मंगलबार विस्कन्सिन सर्वोच्च अदालतमा भएको चुनावमा ट्रम्प र मस्कले समर्थन गरेका न्यायाधिश पराजित भएसँगै मस्क सरकारी भूमिकाबाट पछि हट्ने खबर बाहिरिएका हुन् ।

मस्क निजी क्षेत्रमा फर्किने खबरपछि सरकारी ठेक्का प्राप्त गरेका कतिपय कम्पनीहरूको शेयर मूल्य वृद्धि भएको रोयर्टसले उल्लेख गरेको छ । मस्कको टेस्लाकै शेयर पनि बुधबार दिउँसो करिब ५ प्रतिशतले बढेको थियो । गत हप्ता मात्रै फक्स न्युजसँगको अन्तरवार्तामा मस्कले डजमा आफ्नो १३० दिने कार्यकालभित्र संघीय खर्चमा १ ट्रिलियन डलर कटौती गर्ने लक्ष्य पूरा गरिछाड्ने जिकिर गरेका थिए ।    

कान्तिपुर

Link copied successfully