मन्डाले/बैंकक — म्यानमारमा शुक्रबार गएको भूकम्पका कारण ज्यान गुमाउको संख्या २ हजार ८ सय ८६ पुगेको छ । ४ हजार ६ सय ३९ जना घाइते भएका अधिकारीहरूले जनाएका छन् । ३ सय ७३ जना हराइरहेका छन् ।
म्यानमार रेडक्रस सोसाइटीका अध्यक्ष म्यो न्युन्टले उपकरण तथा सुरक्षा चिन्ताका कारण उद्धारमा तथा राहत वितरणमा समस्या भइरहेको जनाएका छन् । ‘प्राकृतिक प्रकोपको मूल्यांकन र आपत्कालीन आपूर्ति वितरणमा समन्वयको अभाव प्रमुख समस्या बनेको छ,’ न्युन्टले भने ।
शुक्रबार दिउँसो म्यानमारको सागिङ सहरको उत्तर–पश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार त्यसको केही मिनेटमा सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो ।
यूएसजीएसका अनुसार भूकम्पको गहिराइ जमिनको सतहबाट १० किलोमिटर तल थियो । भूकम्पको केन्द्रबिन्दु म्यानमारको मन्डाले सहरबाट १७ किमि टाढा पर्छ । म्यानमारको सैन्य सरकारले मन्डाले विमानस्थलमा अस्थायी अस्पताल र राहत शिविर सञ्चालनमा ल्याएको जनाएको छ ।
भूकम्पका कारण थाइल्यान्डको राजधानी बैंककमा १८ जनाले ज्यान गुमाइसकेका छन् । थाई अधिकारीहरूका अनुसार ३३ जना घाइते छन् । बैंककमा निर्माणाधिन भवन भत्किएको स्थानमा अझै ७२ जना हराइरहेका छन् ।
