ट्रम्प भन्छन्, यसका लागि केही उपायहरू छन्, मैले ठट्टा गरेको हैन, धेरैले त्यसो गरेको हेर्न चाहन्छन् तर म उनीहरूलाई भन्ने गर्छु– हामीले गर्नुपर्ने काम धेरै छन्, अहिले हाम्रो सरकार प्रारम्भिक चरणमा नै छ
वासिङटन — डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेको १० साता मात्र भएको छ । तर राष्ट्रपतिको कार्यभार सम्हालेको तीन महिना पनि नपुग्दै उनको तेस्रो कार्यकालबारे चासो र चर्चा सुरु भइसकेको छ । यसअघि ट्रम्प २०१७ देखि चार वर्ष अमेरिकाको राष्ट्रपति थिए ।
ट्रम्पले अझ फेरि एक पटक राष्ट्रपति बन्ने इच्छा रहेको र त्यो ठट्टा नभएको बताएसँगै अमेरिकी राजनीति तरंगित भएको छ । त्यसका साथै ट्रम्प तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्न पाउने वा नपाउने विषयमा कानुनी व्यवस्थाबारे पनि छलफल सुरु भएको छ । अमेरिकाको संविधानमा भने कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपतिमा निर्वाचित हुन नसक्ने उल्लेख छ । ‘कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपतिमा निर्वाचित हुन पाउँदैन,’ संविधानमा लेखिएको छ । तर ट्रम्पका केही समर्थकले भने संवैधानिक व्यवस्थामा कुनै उपाय निकाल्न सकिने बताएका बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकी सञ्चारमाध्यम एनबीसीको एक अन्तर्वार्तामा ट्रम्पलाई तेस्रो पटक ह्वाइट हाउस प्रवेश गर्न खोजेको विषय र त्यसको सम्भावनाबारे सोधिएको थियो । त्यसको जवाफमा ट्रम्पले सम्भावना कायमै रहेको र उपाय निकाल्न सकिने बताएका हुन् । ‘त्यसो गर्नका लागि केही उपायहरू छन् ।
मैले ठट्टा गरेको होइन । धेरै मानिस मैले त्यसो गरेको हेर्न चाहन्छन्,’ ट्रम्पले भने, ‘तर म उनीहरूलाई भन्ने गर्छु– हामीले गर्नुपर्ने काम धेरै छन् । अहिले हाम्रो सरकार प्रारम्भिक चरणमा नै छ ।’
हाल ७८ वर्षका ट्रम्प आफ्नो दोस्रो कार्यकाल सकिँदा ८२ वर्षका हुन्छन् । त्यो उमेरमा पनि ट्रम्प के देशको सबैभन्दा कठिन र जिम्मेवारीयुक्त कार्यभार सम्हालिराख्न इच्छुक हुन्छन् भनेर सोधिएको प्रश्नमा ट्रम्पले आफूलाई काम गर्न मन पर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले यसअघि गत जनवरीमा पनि आफ्ना समर्थकलाई सम्बोधन गर्दै एक पटक मात्र होइन, दुई वा तीन वा चार कार्यकाल सेवा गर्न पाउनु आफ्नो जीवनकै सबैभन्दा ठूलो उपलब्धि हुने बताएका थिए । तर लगत्तै उनले ‘फेक मिडिया’ का लागि आफूले ठट्टा गरेको दाबी गरेका थिए ।
अमेरिकी संविधानमा भने कुनै पनि व्यक्ति तेस्रो पटक राष्ट्रपति बन्न नपाउने स्पष्ट प्रावधान छ । ‘कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपतिको पदमा निर्वाचित हुन पाउँदैन,’ संविधानको बाइसौं संशोधनमा उल्लेख छ, ‘अरू नै व्यक्ति निर्वाचित भएको भए पनि दुई वर्षभन्दा बढी राष्ट्रपतिको पदमा बसेको वा राष्ट्रपतिको भूमिका निर्वाह गरेको कुनै पनि व्यक्ति एक पटकभन्दा बढी राष्ट्रपतिमा निर्वाचित हुन पाउँदैन ।’
यस अर्थमा संविधान संशोधन नगरी ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना देखिँदैन । संविधान संशोधन गर्न अमेरिकाका दुवै सदनको दुई तिहाइ अनि सबै राज्यहरूबाट तीन चौथाइ समर्थन आवश्यक पर्छ । ट्रम्पको रिपब्लिकन पार्टीको दुवै सदनमा नियन्त्रण कायम भए पनि संविधान संशोधन गर्न चाहिने बहुमत भने छैन । त्यस्तै, अमेरिकाका ५० राज्यका विधायिकामध्ये १८ वटामा विपक्षी दल डेमोक्रेटिकको बहुमत छ । तर ट्रम्पका समर्थकले भने अमेरिकी संविधानमा एउटा छिद्र रहेको र त्यसबारे अदालतमा हालसम्म प्रश्न नउठेको बताउने गरेका छन् ।
अमेरिकी संविधानको बाइसौं संशोधनले कुनै पनि व्यक्तिलाई दुई राष्ट्रपतीय कार्यकालभन्दा बढी निर्वाचित हुन रोक लगाए पनि उत्तराधिकारीका विषयमा केही उल्लेख नगरेको उनीहरूको तर्क छ ।
यसअनुसार ट्रम्प २०२८ को निर्वाचनमा उपराष्ट्रपतिको उम्मेदवार बन्न सक्ने देखिन्छ । त्यस्तो अवस्थामा उनी सम्भवतः हालका उपराष्ट्रपति जेडी भेन्स राष्ट्रपतिको उम्मेदवार बन्दा उपराष्ट्रपतिको उम्मेदवार बन्न सक्ने देखिन्छ । चुनावमा भेन्स विजयी भए भने ट्रम्प पनि स्वतः विजयी हुनेछन् । तर भेन्सले पदभार ग्रहण गरेपछि तत्काल राजीनामा गर्ने र ट्रम्प उनका उत्तराधिकारी बनेर राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न पाउने दाबी समर्थकहरूको छ । राष्ट्रपति ट्रम्पका सल्लाहकार तथा पड्कास्टर स्टिभ ब्यानन भने ट्रम्प अर्को चुनावमा उठ्ने र विजयी हुने सम्भावना रहेको बताउँछन् । त्यो दुईमध्ये एक कुराले निर्धारण गर्ने उनको दाबी छ । तर त्यसबारे उनले विस्तृत उल्लेख नगरेका उनको दाबी छ ।
टेनसीबाट निर्वाचित सांसद एन्डी ओगल्सले कुनै पनि व्यक्ति लगातार नहुने गरी तेस्रो पटक राष्ट्रपति बन्न पाउने गरी संविधान संशोधनका लागि गत जनवरीमा प्रस्ताव राखेका थिए । यस्तो संशोधन भएको खण्डमा पूर्वराष्ट्रपतिहरूमध्ये ट्रम्प मात्र अर्को पटक राष्ट्रपति बन्न पाउनेछन् । २०१६ मा राष्ट्रपति निर्वाचित भएका ट्रम्प चार वर्षपछि पराजित भएका थिए । उनी २०२४ मा पुनः राष्ट्रपतिमा निर्वाचित भए । तर बाराक ओबामा, बिल क्लिन्टन र जर्ज डब्लू बुस निरन्तर दुई कार्यकाल राष्ट्रपति भइसकेका छन् । तर संविधान संशोधनको व्यवस्थाका कारण ओगल्सले अघि सारेको प्रस्ताव हाल पारित हुने सम्भावना कम छ ।
त्यसमाथि उक्त प्रस्तावबारे डेमोक्रेटिकहरूले गम्भीर आपत्ति जनाएका छन् । सरकारमा कब्जा जमाउने र अमेरिकी लोकतन्त्र भताभुंग पार्ने प्रयासमा ट्रम्पले अर्को चाल चाल्न लागेका उनीहरूको भनाइ छ । रिपब्लिकनहरूले पनि तेस्रो कार्यकाल राष्ट्रपति बन्ने ट्रम्पको महत्त्वाकांक्षाको विरोध गर्ने गरेका छन् । रिपब्लिकन सिनेटर मार्क्वेन मलिनले फेब्रुअरीमा आफूले ट्रम्पको त्यस्तो प्रयासलाई समर्थन नगर्ने बताएका थिए । ‘सबै अमेरिकी जनताले नचाहेसम्म म संविधान परिवर्तन गर्ने पक्षमा छैन,’ मलिनले एनबीसीसँग भनेका छन् ।
संविधान तथा निर्वाचन कानुनका जानकारहरू पनि ट्रम्पलाई पुनः राष्ट्रपतिमा निर्वाचित हुने बाटो सहज नभएको बताउँछन् । युनिभर्सिटी अफ नोट्रडाममा निर्वाचन कानुनका प्राध्यापक डेरेक मुलर अमेरिकी संविधानको बाइसौं संशोधनअनुसार राष्ट्रपति पदका लागि संविधानतः अयोग्य कुनै पनि व्यक्ति उपराष्ट्रपति पदका लागि योग्य नहुने बताउँछन् । ‘राष्ट्रपतीय कार्यकालसम्बन्धी प्रावधानसँग खेल्न मिल्ने कुनै अचम्मको जुक्ति भएजस्तो मलाई लाग्दैन,’ उनले बीबीसीसँग भनेका छन् । त्यस्तै, बोस्टनस्थित नर्थइस्टर्न युनिभर्सिटीमा संवैधानिक कानुनका प्राध्यापक जेरमी पोल पनि वर्तमान प्रावधानअनुसार कुनै पनि व्यक्ति तेस्रो पटक राष्ट्रपति बन्न सम्भव नभएको बताउँछन् ।
यसअघि अमेरिकामा फ्र्यांकलिन डिलानो रूजवेल्ट चार पटक राष्ट्रपतिमा निर्वाचित भएका थिए । तर चौथो कार्यकालको तीन महिना पदमा बसेपछि उनको मृत्यु भयो । त्यसताका अमेरिकामा राष्ट्रपतीय कार्यकाल दुई पटकमा सीमित राख्ने संवैधानिक प्रावधान थिएन । तर सन् १७९६ मा जर्ज वासिङ्टनले तेस्रो पटक राष्ट्रपति बन्न अस्वीकार गरेपछि त्यो प्रचलन नै बन्यो । तर उनको कार्यकालपछि संविधानमा बाइसौं संशोधन गरियो र अमेरिकी राष्ट्रपतिको कार्यकालको सीमा तोकिएको हो ।
