गुजरातको पटाका उद्योगमा विस्फोट, कम्तीमा १८ जनाको मृत्यु 

चैत्र १९, २०८१

एजेन्सी

Blast at firecracker factory in Gujarat, at least 18 dead

गान्धीनगर — भारतको गुजरात राज्यस्थित पटा उद्योग र गोदाममा मंगलबार भएको विस्फोटमा कम्तीमा १८ जनाको ज्यान गएको छ । घटनामा ५ जना घाइते भएका भारतीय सञ्चार माध्यहरूले जनाएका छन् । 

मृतकमध्ये अधिकांश उद्योगका कामदार छन् । गुजरात राज्यको बनासकाँठा जिल्लाको डिसा नगरको दीपक ट्रेडर्समा भएको घटनामा उद्योगको केही भाग भत्किएको र कैयौं मानिसहरू फसेको बताइएको छ । उद्योगमा विस्फोटलगत्तै आगलागी फैलिएको थियो । 

प्रहरीका अनुसार घटनामा सुरूमा ६ जनाको मृत्यु भएको खबर आएको थियो । तर आगलागी नियन्त्रणमा आएपछि खोजी गर्दा मृतक संख्या बढेको हो । घटनाका बेला उद्योगमा कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन । 

प्रहरी, नगरपालिकाका कर्मचारी र जिल्ला प्रशासनका करिब २ सय जना उद्धारका लागि खटिएका छन् । प्रहरीले घटनाको अनुसन्धान सुरू गरिसकेको जनाएको छ । स्थानीय प्रशासनले आगलागीको कारण र क्षतिको मूल्यांकन गरिरहेको छ । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले दुर्घटनाका पीडितलाई क्षतिपूर्तीको घोषणा गरेका छन् । 

भारतमा पटाका कारखाना र गोदामहरूमा सुरक्षाका मापदण्डहरू बेवास्ता गरिने भएकाले यस्ता दुर्घटना बारम्बार भइरहेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार त्यस्ता घटनामा वर्सेनी सयौंले ज्यान गुमाउने गरेका छन् । 

एजेन्सी

Link copied successfully