नुक/वासिङटन — अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले ग्रीनल्याण्डलाई चीन र रुसको आक्रमणको जोखिममा छाडेको भन्दै डेनमार्कको आलोचना गरेका छन् । भ्रमणका क्रममा ग्रीनल्याण्ड टापु पुगेका भेन्सले ग्रीनल्याण्डबासीलाई अमेरिकासँग ‘सम्झौता गर्न’ आग्रह गरेका बीबीसीले जनाएको छ ।
भ्रमणका क्रममा बोल्दै भेन्सले बल प्रयोग गरेर टापु कब्जा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पछिल्ला अभिव्यक्ति भने दोहोर्याएनन् । त्यस विपरित उनले ग्रीनल्याण्डवासीलाई डेनमार्कसँगको ३ सय वर्षभन्दा लामो सम्बन्ध तोड्न आग्रह गरे । स्वशासित टापुको सुरक्षाका लागि डेनमार्कले पर्याप्त लगानी नगरेको भेन्सको दाबी छ । तर गत जनवरीमा गरिएको एक सर्वेक्षणमा बहुमत ग्रीनल्याण्डबासीहरू टापु अन्य देशसँग विलयको विपक्षमा छन् ।
भेन्सको भ्रमण भने ग्रीनल्याण्ड र डेनमार्क दुवैले आलोचना गरेका छन् । ग्रीनल्याण्डका प्रधानमन्त्रीले अमेरिकी भ्रमणले ‘सम्मानको कमी देखिएको’ प्रतिक्रिया दिएका छन् । त्यस्तै, डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेनले आफुहरू आलोचनाका लागि खुला भए पनि यसको प्रस्तुतिकरण गलत भएको बताएका छ्न् । रासमुसेनले ग्रीनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति सन् १९४५ मा १७ वटा अखडाबाट घटेर करिब २ सय सैनिक भएको एउटा अखडामा सिमित भएको जनाएका छन् ।
यसअघि भेन्स पत्नी उषाले ग्रीनल्याण्डमा केही दिन बिताउने र त्यसक्रममा राजधानी नुक भ्रमण गर्ने तथा लोकप्रिय वार्षिक कुकुर दौड जस्ता सांस्कृतिक कार्यक्रममा भाग लिने घोषणा गरिएको थियो । उपराष्ट्रपति भेन्सले उत्तर-पश्चिमी तटमा रहेको अमेरिकी पिटुफिक अन्तरिक्ष आधार शिविरको भ्रमण गर्ने बताइएको थियो ।
तर ग्रीनल्याण्ड र डेनमार्क रुष्ट भएसँगै भ्रमण तालिकामा हेरफेर गरिएको थियो । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले भेन्स र उषाले पिटुफिक अन्तरिक्ष आधार शिविरको निरिक्षणका लागि ग्रीनल्याण्डमा एक दिन मात्र बिताउने जनाएको थियो । ह्वाइहाउसले भ्रमण तालिका हेरफेर गरेको जनाएसँगै डेनमार्क र ग्रीनल्याण्डले स्वागत गरेका थिए ।
ग्रीनल्यान्डमा केही घण्टा मात्र रहेका भेन्स र उषाले राजधानी नुकबाट करिब १५ सय किलोमिटर टाढाको पिटुफिक अन्तरिक्ष आधार शिविरको भ्रमण गरे । त्यसक्रममा उनले ‘ग्रीनल्याण्डका मानिसलाई रूस, चीन र अन्य राष्ट्रबाट सुरक्षित राख्नु पर्ने’ बताए ।
भेन्सले ग्रीनल्याण्डका जनतालाई अमेरिकाले टापु नियन्त्रणमा लिन सैन्य बल प्रयोग नगर्ने आश्वस्त पार्न खोजेका बीबीसीले जनाएको छ । उनले ग्रीनल्याण्डबासीलाई आत्मनिर्णय अँगाल्न र १७२१ देखि यस क्षेत्रलाई नियन्त्रण गर्ने डेनमार्कसँग सम्बन्ध तोड्न आग्रह गरे ।
‘हामी आशा गर्छौं कि उनीहरूले अमेरिकासँग साझेदारी गर्ने छनौट गर्नेछन्, किनकि हामी पृथ्वीमा एक मात्र राष्ट्र हौं जसले उनीहरूको सार्वभौमिकताको सम्मान गर्नेछौं र उनीहरूको सुरक्षाको सम्मान गर्नेछौं,’ भेन्सले भने, ‘उनीहरूको सुरक्षा हाम्रो सुरक्षा हो ।’
अमेरिकाले जमिनमा आफ्नो सैन्य उपस्थिति विस्तार गर्ने तत्काल कुनै योजना नभएको भेन्सको भनाइ छ । तर नौसेनामा थप स्रोत परिचालन गर्ने उनले बताए ।
‘डेनमार्कलाई हाम्रो सन्देश धेरै सरल छ,’ भेन्सले भने, ‘तपाईंले ग्रीनल्याण्डका जनताका लागि राम्रो काम गर्नुभएको छैन । तपाईंले ग्रीनल्याण्डका जनतामा कम लगानी गर्नुभएको छ र तपाईंले यो अविश्वसनीय, सुन्दर भूभागको सुरक्षामा कम लगानी गर्नुभएको छ ।’
तर डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले डेनमार्कले ग्रीनल्यान्डको सुरक्षाका लागि कुनै कसर बाँकी नराखेको बताएकी छन् । उनले रक्षाखर्चमा उल्लेखनीय वृद्धि गरेको र नयाँ आर्कटिक जहाज, लामो दूरीका ड्रोन तथा उपग्रह क्षमताका साथ आफ्नो लगानी अझ बढाउने बताएकी छन् । ‘धेरै वर्षदेखि हामी धेरै कठिन परिस्थितिमा अमेरिकीसँगै उभिएका छौं,’ उनले भनिन्, ‘हामी अमेरिकीहरूसँग सहकार्य गर्न सधै तयार छौं ।’
