म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प, कम्तीमा १४४ को मृत्यु

थाइल्यान्डको बैंककमा पनि भूकम्पले निर्माणाधीन ३० तले भवन ढल्दा ८१ श्रमिक बेपत्ता

चैत्र १६, २०८१

एजेन्सी

7.7 magnitude earthquake hits Myanmar, killing at least 144

बैंकक — म्यानमारमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक सय ४४ जनाको मृत्यु भएको म्यानमारको सैन्य सरकारले जनाएको छ । भूकम्पमा परी सयौं व्यक्ति घाइते भएका छन् । भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको उद्धार टोलीका सदस्यले बताएको बीबीसीले उल्लेख गरेको छ ।

शुक्रबार दिउँसो म्यानमारको सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । यूएसजीएसका अनुसार भूकम्पको गहिराइ जमिनको सतहबाट १० किलोमिटर तल थियो ।

भूकम्पको केन्द्रबिन्दु म्यानमारको मण्डले सहरबाट १७ किलोमिटर पर थियो । यो सहरमा करिब १५ लाखको बसोबास छ । प्रत्यक्षदर्शीका अनुसार ताउन्गु सहरमा मस्जिद भत्किँदा कम्तीमा ३ जना, औंगबानमा होटल भत्किँदा २ जनाको मृत्यु र २० जना घाइते भएको रोयटर्सले उल्लेख गरेको छ । 

म्यानमारमा सन् २०२१ मा सेनाले कु गरी सत्ता हत्याएको थियो । सैन्य सरकारले देशभित्रका सूचना सार्वजनिक गर्न कडाइ गर्दै आएको छ । सोही कारण भूकम्पको वास्तविक क्षति सार्वजनिक हुन सकेको छैन । यद्यपि, म्यानमारको सैन्य सरकारका प्रमुख मिन अङ हलइङले १ सय ४४ को मृत्यु र ७३२ जना घाइते भएको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । न्याइपेईमा ९६ सागिङमा १८ र म्यान्डलीमा ३० जनाको मृत्यु भएको जनाइएको छ । 

7.7 magnitude earthquake hits Myanmar, killing at least 144

भूकम्पले म्यानमारको छिमेकी थाइल्यान्डमा ३ जनाको मृत्यु भएको छ । बैंककमा निर्माणाधीन ३० तले सरकारी कार्यालय ढल्दा ८१ श्रमिक फसेका छन् । थाई राजधानीको उत्तरी भेगमा रहेको यो भवन केही सेकेन्डमा भग्नावशेष भएको थियो । यसबीच थाई प्रधानमन्त्री पेतोङतार्न सिनावात्राले आपत्कालीन अवस्था घोषणा गरिएको बताएकी छन् । थाई सेनाका अनुसार बैंककमा भत्किएका अन्य भवन पनि निर्माणाधीन थिए । यहाँ मेट्रो तथा रेल सेवा पनि रोकिएको छ । 

म्यानमारको ठूलो सहर यांगुनका एक स्थानीयले भूकम्पको झड्का करिब ४ मिनेटसम्म महसुस गरेको बीबीसीलाई बताएका छन् । ‘सबै कुरा हल्लिन थालेपछि हामी घरबाट निस्कियौं,’ म्यान्डलीका एक बासिन्दाले रोयटर्सलाई भने, ‘मेरै आँखाअघि एउटा पाँच तले भत्किएको देखें । सबै जना त्रासमा छन् । कोही पनि घरमा फर्किन सकेका छैनन् ।’ 

भूकम्पले म्यानमारको राजधानी न्यापिडोका सडकहरू ध्वस्त पारेको, भवनलाई क्षति पुर्‍याएको तस्बिर सार्वजनिक भएको छ । इरावजी नदीमा बनेको ठूलो पुल पनि ध्वस्त भएको छ । बेइजिङको भूकम्प एजेन्सीका अनुसार कम्पन चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा पनि महसुस गरिएको छ । एजेन्सीले ७.९ म्याग्निच्युडको कम्पन मापन गरेको छ ।

यसबीच म्यानमारको सैन्य सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । सरकारले देशका ६ स्थानमा आपत्कालीन अवस्था घोषणा गरेको पनि जानकारी दिएको छ । सैन्य सरकार प्रमुख हलइङले घाइते राखिएका अस्पतालहरूको भ्रमण गर्दै अन्य देशबाट सक्दो सहयोगको आशा राखेको बताएका हुन् । 

म्यानमारमा यसअघि सन् १९३० देखि १९५६ सम्म सागिङ फल्टको वरपर ६ वटा ठूला भूकम्प आएका थिए । मध्य म्यानमारको प्राचीन राजधानी बगानमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पले सन् २०१६ मा तीन जनाको ज्यान लिएको थियो भने पर्यटन स्थलका मन्दिर र स्तम्भहरू भत्किएका थिए ।

विशेषज्ञका अनुसार म्यानमारका सहरहरूमा तीव्र विकास, पुरानो पूर्वाधार र कमजोर सहरी योजनाले लोकप्रिय क्षेत्रलाई भूकम्प र अन्य विपत्तिबाट असुरक्षित छन् । थाइल्यान्ड पनि ‘भूकम्प जोन’ मा पर्दैन । यहाँ महसुस गरिएका सबै भूकम्प छिमेकी देश म्यानमारमा केन्द्रबिन्दु भएका छन् ।

एजेन्सी

Link copied successfully