अमेरिका आउने विद्यार्थीमा नेपाल १० औं स्थानमा

२०२३/०२४ सम्म अमेरिकामा रहेका ११ लाख ३० हजार अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपालका १६ हजार ७ सय ४२ जना

चैत्र १३, २०८१

सुदीप शिवाकोटी

Nepal ranks 10th among students coming to America

अमेरिका — पछिल्ला वर्षहरूमा अध्ययनका लागि नेपालबाट बाहिरिने विद्यार्थीको संख्या बढ्दो छ । नेपाली विद्यार्थीका लागि विदेशी विश्वविद्यालय अध्ययन गर्ने प्रक्रिया सहज भएसँगै धेरैजसोको रोजाइमा अस्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपियन मुलुकहरू पर्ने गरेका छन् ।

तथ्यांकीय विवरणअनुसार हाल अमेरिकामा पनि नेपाली विद्यार्थीको संख्या बर्सेनि बढेको छ । अमेरिकाका विश्वविद्यालयहरूमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थीको संख्या १० औं स्थानमा छ ।

इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन (आईआईई) ले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल अमेरिकामा १६ हजार ७ सय ४२ नेपाली विद्यार्थी स्नातक, स्नातकोत्तर तहमा अमेरिकाको विभिन्न विश्वविद्यालयमा अध्ययनरत छन् । यो संख्या अमेरिकामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये १.५ प्रतिशत हो । यो संख्याअनुसार विद्यार्थी अमेरिका पठाउने मुलुकमध्ये नेपाल १० औं स्थानमा परेको हो ।

आईआईईको तथ्यांकअनुसार पहिलो स्थानमा भारत छ । अमेरिकामा हाल ३ लाख ३१ हजार ६ सय २ भारतीय विद्यार्थी छन् । दोस्रोमा चीन हुँदै क्रमशः दक्षिण कोरिया, क्यानडा, ताइवान, भियतमान, नाइजेरिया, बंगलादेश हुँदै नवौं स्थानमा ब्राजिलका विद्यार्थी छन् ।

चाइनिज २ लाख ७७ हजार ३ सय ९८, कोरियन ४३ हजार १ सय ४९, क्यानेडियन २८ हजार ९ सय ९८, ताइवानी २३ हजार १ सय ५७, भियतनामी २२ हजार ६६, नाइजेरियन २० हजार २९, बंगलादेशी १७ हजार ९९ र ब्राजिलियन विद्यार्थी १६ हजार ८ सय ७७ रहेको तथ्यांकमा उल्लेख छ । हाल अमेरिकामा एक सय मुलुकका विद्यार्थी छन् ।

आईआईईको प्रतिवेदनअनुसार २०२३/०२४ सम्म अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या ११ लाख ३० पुगेको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा सात प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा १० लाख ५० हजार ९ सय अन्तर्राष्ट्रिय विद्यार्थी थिए ।

अघिल्लो आवमा नेपाली विद्यार्थीको संख्या १५ हजार ९० पुगेको थियो । यो संख्याका आधारमा २०२२/०२३ मा १२ औं स्थानमा रहेको नेपाली विद्यार्थीको संख्या गत आव २०२३/०२४ मा १०.९ प्रतिशतले वृद्धि भएपछि नेपाल अमेरिकामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थी हुने देशमध्ये १० औं स्थानमा रहेको आईआईईले सार्वजनिक गरेको ‘द २०२४ ओपन डोर्स रिपोर्ट’ नामक तथ्यांकीय पुस्तकमा उल्लेख छ ।

यसैगरी पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार अमेरिकामा नेपाली विद्यार्थीको संख्या बर्सेनि बढ्दो छ । आव २०१६/०१७ मा ११ हजार ६ सय ७, २०१७/०१८ मा १३ हजार २ सय ७०, २०१८/०१९ मा १३ हजार २ सय ९९ पुगेको थियो । २०१९/०२० मा भने ५ सय ६९ ले घटेर यस वर्ष नेपाली विद्यार्थीको संख्या १२ हजार ७ सय ३० रहेको तथ्यांकमा उल्लेख छ ।

२०२०/०२१ मा पनि नेपालबाट आउने विद्यार्थीको संख्या घटेको छ । जुन २०१९/०२० को भन्दा १ हजार ५ सय ५८ ले घटेर ११ हजार १ सय ७२ मा सीमित भएको थियो । दुई आर्थिक वर्ष घटेको नेपाली विद्यार्थीको संख्या २०२१/०२२ बाट भने निरन्तर बढेको देखिन्छ ।

आव २०२१/०२२ मा ११ हजार ७ सय ९९ पुगेको विद्यार्थी संख्या बढेर हाल १६ हजार ७ सय ४२ पुगिसकेको छ । यीमध्ये ७ हजार ४ सय ७१ स्नातक, ५ हजार ८ सय ८२ स्नातकोत्तरमा अध्ययनरत छन् । ३ हजार १ सय ७१ ऐच्छिक प्रयोगात्मक तालिम (ओपीटी) र १ सय २२ गैरडिग्री (नोन डिग्री) कार्यक्रममा सामेल भइरहेको आईआईईले जनाएको छ ।

पछिल्लो तीन महिनामा मात्र २ हजार ८ सय ९६ नेपाली विद्यार्थीले अमेरिकाको भिसा पाएका छन् । २०२४ अक्टोबरदेखि डिसेम्बरसम्म ती विद्यार्थीले काठमाडौंस्थित अमेरिकी दूतावासबाट अमेरिका अध्ययनका लागि एफ टु भिसा पाएका हुन् । अक्टोबरमा ५ सय ८, नोभेम्बरमा ७ सय ८४ र डिसेम्बरमा १ हजार ६ सय ४ जनाले भिसा पाएको तथ्यांकमा उल्लेख छ ।

यो संख्या २०२३ को सोही अवधिको तुलनामा १ सय ३८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष २०२३ को अक्टोबरदेखि डिसेम्बरसम्म १ हजार २ सय १२ जनाले मात्र एफ टु भिसा पाएका थिए । जसमध्ये २०२३ को अक्टोबरमा १ सय २०, नोभेम्बरमा ४ सय ७७ र डिसेम्बरमा ६ सय १५ जना थिए ।

अमेरिकाको नेपाल र नेपाली विद्यार्थीप्रतिको दृष्टिकोण लचिलो हुनु, नेपाली विद्यार्थीको विदेसिने मोह बढ्नु, अमेरिकाको शैक्षिक प्रमाणपत्रको स्तर उच्च हुनु, छात्रवृत्ति बढी पाउनु र नेपालका विश्वविद्यालयमा राजनीति बढी हुनुले पछिल्ला वर्षहरूमा अमेरिका आउने नेपाली विद्यार्थीको संख्यामा वृद्धि भएको युनिभर्सिटी अफ नर्थ टेक्सस डेन्टनका प्राध्यापक डा.भोजबहादुर बलायरले बताए ।

‘केही वर्षदेखि अमेरिकाका विश्वविद्यालयहरूमा चाइनिज विद्यार्थीको संख्या अधिक घटिरहेको छ, त्यो सिटमा नेपाली विद्यार्थीले अवसर पाएका छन् ।’ उनले भने, ‘ट्रम्पको यसअघिको कार्यकालमा पनि चाइनिज विद्यार्थी घटेका थिए, अब यो कार्यकालमा पनि घट्ने क्रम सुरु भइसकेको छ । नेपाली विद्यार्थीलाई भिसा दिने नीति थप कडाइ नभएमा संख्या अझै बढ्ने अनुमान गर्न सकिन्छ ।’

प्राध्यापक बलायरका अनुसार अमेरिकाको टेक्सस, न्युयोर्क, क्यालिफोर्निया, भर्जिनिया, ओहायो, पेन्सिलभेनिया, मेरिल्यान्डमा नेपाली विद्यार्थी धेरै छन् । उनले पछिल्ला वर्षहरूमा नेपालबाट आउने विद्यार्थीका लागि नर्सिङ, आईटी, ल्याब टेक्निसियन, बायो मेकानिक, इन्जिनियरिङ र कम्प्युटर साइन्स अध्ययनका लागि प्राथमिकतामा पर्ने गरेको छ । नेपाली विद्यार्थीमध्ये ड्रप आउट (बीचमै पढाइ छाड्ने) निकै कम छ ।

कति नेपाली विद्यार्थीले ड्रप आउट गर्छन् भन्ने यकिन तथ्यांक नभए पनि ५ प्रतिशतभन्दा कम संख्या रहेको उनको दाबी छ । उनले विश्वविद्यालयको शुल्क बुझाउन नसक्दा, नराम्रो संगतमा फस्दा र कोर्स पूरा नगर्दै नेपाल फर्किने जस्ता कारणले मात्र ड्रप आउट हुने भएकाले न्यून संख्या रहेको अनुमान गर्न सकिने बताए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष डा.अर्जुन बञ्जाडेले नेपाली विद्यार्थी बढ्नुले उनीहरूले काम नपाउने अवस्था पनि बढ्ने बताए । उनले पछिल्लो समय नेपाली विद्यार्थीले काम नपाउने र कामको खोजीमा विश्वविद्यालय फेर्ने, एक राज्यबाट अर्को राज्यमा सर्ने गरेको दाबी गरे । ‘नेपाली विद्यार्थीलाई काम दिने अधिकांश नेपाली नै छन् ।

नेपालीको व्यावसायिक फर्म कम भएको राज्यमा विद्यार्थीले काम नपाउने जोखिम धेरै नै हुन्छ । त्यसकारण पनि काम नहुँदा ड्रप गर्नेको संख्या बढ्न सक्छ,’ उनले भने । अध्यक्ष बञ्जाडेका अनुसार अमेरिकामा रहेका नेपालीमध्ये करिब ५० हजार बढी सुरुवातमा विद्यार्थी भिसा पाएर प्रवेश गरेका हुन् ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully