क्यानडा — चीनले यस वर्षको सुरुवातमै मादक पदार्थ सेवनसँग सम्बन्धित अपराधमा आरोपी चार जना क्यानडाका नागरिकलाई मृत्युदण्ड दिएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार क्यानडाका अधिकारीले उक्त खबरको पुष्टि गरेका छन् ।
क्यानडाका विदेशमन्त्री मेलानी जोलीले बुधबार पत्रकारहरुसँग कुरा गर्दै उनीहरु सबैसँग दुई देशको नागरिकता रहेको र उनीहरुको परिवारको अनुरोधमा पहिचान गोप्य राखिएको बताएकी छिन् ।
चीनको उक्त निर्णयको निन्दा गर्दै विदेशमन्त्री जोलीले यो सजाय मौलिक मानवीय गरिमाविपरीत रहेको बताएकी छिन् । साथै उनले व्यक्तिगत रुपमा दयाको अपिलसमेत गरेकी छिन् ।
रिपोर्ट अनुसार क्यानडास्थित चिनियाँ दूतावासका प्रवक्ताले मृत्युदण्ड सजाय सुनाइएका क्यानडाका तीन नागरिकहरुविरुद्ध अपराधको ठोस र मजबुद प्रमाण रहेकाले गैर जम्मेवार टिप्पणी बन्द गर्न क्यानडासँग अनुरोध गरेका छन् ।
चिनियाँ दूतावासले भनेको छ, ‘बेइजिङले सम्बन्धित क्यानडाका नागरिकको अधिकार र हितको पूरा ग्यारेन्टी दिएको छ । चीनको न्यायिक सम्प्रभुत्ताको क्यानडाले सम्मान गर्नुपर्छ ।’
