अमेरिकाको ६ राज्यमा आँधी, ३३ जनाको मृत्यु

चैत्र ३, २०८१

सुदीप शिवाकोटी

Storms in 6 US states, 33 people died

अमेरिका — अमेरिकाको दक्षिणी क्षेत्रका ६ राज्यमा शक्तिशाली आँधीमा परी ३३ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार साँझदेखि शनिबारसम्म करिब २४ घण्टाको अवधिमा आँधीमा परी अमेरिकाको दक्षिणी क्षेत्र मिसौरी, कन्सास, अर्कान्सास, मिसिसिपी, टेक्सस र ओक्लाहोमा राज्यका ३३ जनाको मृत्यु भएको हो ।

अमेरिकी सञ्चार संस्था सीएनएनका अनुसार मृत्यु हुनेमा मिसौरीका १२, कन्सासका आठ, अर्कान्सासका तीन, मिसिसिपीका ६, टेक्सासका तीन र ओक्लाहोमाका एक जना छन् । मिसौरीमा शुक्रबार रातिदेखि शनिबारसम्म २४ घण्टा आँधीले प्रभाव पारेको थियो । 

१२ जनाको मृत्यु भएको मिसौरीमा घरको छाना फुटेको र धेरै व्यवसायिक स्थलहरु ध्वस्त भएका छन्। कन्सासमा शुक्रबार दिउँसो आँधीका कारण मात्र ५० वटा सवारीसाधन दुर्घटना हुँदा कम्तीमा आठ जनाले ज्यान गुमाएका थिए । 

सुख्खा, धुलो, आगोको अनुकुल अवस्था र कम्तिमा सोमबारसम्म आँधीको प्रभाव रहन सक्ने अनुमान गर्दै गभर्नर लौरा केलीले आपतकालीन अवस्था घोषणा गरेकी छिन् ।

अर्कान्सासमा तीन जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएका छन् । अर्कान्सास डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीका अनुसार एक आँधी सर्वेक्षण टोलीले अर्कान्सासको केभ सिटीमा ईएफ ३ शक्तिको अनुरुप क्षति भएको पुष्टि गरेको छ ।

गभर्नर सारा हकाबी स्यान्डर्सले उक्त क्षेत्रमा टोर्नाडोबाट प्रभावित स्थानीय अधिकारीहरुसँग सम्पर्कमा रहेको जनाइएको छ । ६ जनाको मृत्यु भएको मिसिसिपीको वाल्थल र कोभिङ्टन काउन्टीहरुमा घरबार गुमाएकालाई आवश्यक परेको खण्डमा सहयोग, खाना र लत्ताकपडा उपलब्ध गराउने प्रयास भइरहेको र आवश्यक सामग्री उपलब्ध गराउने घोषणा गरेको आपतकालीन व्यवस्थापन निर्देशक रोइस म्याक्कीले बताएको सीएनएनले उल्लेख गरेको छ ।

Storms in 6 US states, 33 people died

मिसिसिपीका गभर्नर टेट रिभ्सका अनुसार कोभिङटन काउन्टीका दुई र वाल्थल काउन्टीका एक जना गरी तीन जना हराएका छन् । कोभिङटन काउन्टीमा १५ जना, जेफरसन डेभिस काउन्टीमा एक जना, पाइक काउन्टीमा दुई जना र वाल्टहाल काउन्टीमा १० जना घाइते भएका छन् । मिसिसिपीका २१ वटा काउन्टीमा टोनर्डोले क्षति पुर्‍याएको छ ।

टेक्ससमा कम शक्तिको आँधीको प्रभाव थियो । टेक्सस ठूलो क्षेत्रफल भए पनि आँधी कम शक्तिशाली भएका कारण धेरै क्षति नभएको बताइएको छ । यसैगरी ओक्लाहोमाको गारफिल्ड काउन्टीमा बढी प्रभावको हावाका कारण धेरै धुलो उड्दा भिजिबिलिटी कम भएपछि गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । 

शनिबार रातिसम्म छ वटै राज्यका २ लाख ५० हजारभन्दा बढी मानिस अझै पनि विद्युतविहीन छन् । 

सुदीप शिवाकोटी शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully