एकमहिने युद्धविराम गर्न युक्रेन तयार

वार्ताबारे अमेरिकी पक्षबाट विस्तृत जानकारी पर्खिरहेको रुसको प्रतिक्रिया

फाल्गुन २९, २०८१

एजेन्सी

Ukraine ready for a month-long ceasefire

वासिङ्टन/जेद्दाह — अमेरिकासँग साउदी अरबमा भएको वार्तापछि युक्रेन तत्काल एकमहिने युद्धविरामका लागि तयार भएको छ । साउदी अरबको जेद्दाहमा मंगलबार भएको वार्तामा युक्रेनले अमेरिकी प्रस्ताव स्वीकार गरेको हो । 

रिट्ज कार्लटन होटलमा भएको वार्तामा युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहा, रक्षामन्त्री रुस्तेमा उमेरोभ, राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्मक सहभागी थिए । विदेशमन्त्री मार्को रुबियो नेतृत्वको अमेरिकी टोलीमा राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज तथा आयोजकका तर्फबाट साउदी विदेशमन्त्री फैसल बिन फरहान र राष्ट्रिय सुरक्षा सल्लाहकार मोसाद बिन मोहम्मद अल–ऐवान उपस्थित थिए । 

युक्रेन युद्धविरामका लागि तयार भएसँगै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुससँग कुरा गर्ने बताएका छन् । ‘आगामी कदम लिने पालो अब मस्कोको’ भएको रुबियोको भनाइ छ । साउदी अरबबाट आयरल्यान्ड पुगेका रुबियोले स्यानन विमानस्थलमा पत्रकारहरूसँग अमेरिकाले रुसलाई सबै शत्रुता अन्त्य गर्न जोडदार आग्रह गर्ने बताएका छन् । 

‘हामी आज उनीहरूसँग सम्पर्क गर्नेछौं । हामीले विभिन्त तहका समकक्षी तथा प्रशासनका विभिन्न सदस्यसँग सम्पर्क गरिरहेका छौं । र, त्यो जारी रहनेछ,’ रुबियोले भने । रुसबाट सकारात्मक जवाफ पाउने आशा व्यक्त गर्दै रुबियोले रुस–युक्रेन द्वन्द्वको कुनै सैन्य समाधान नभएको बताएका थिए । ‘हामी यसलाई सिधै उनीहरूकहाँ पुर्‍याउनेछौं,’ रुबियोले भनेका छन्, ‘बल साँच्चै उनीहरूको कोर्टमा छ ।’ 

तर रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वार्ताबारे अमेरिकी पक्षबाट विस्तृत जानकारी पर्खिरहेको प्रतिक्रिया दिएका छन् । वार्तामा सहमति भएको सम्भावित युद्धविरामबारे टिप्पणी गर्नुअघि अमेरिकीहरूको प्रतिबद्धताको विश्लेषण गर्न आवश्यक रहेको उनले भनाइ छ । 

‘हामी हिजो जेद्दाहमा विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले भनेका सबै कुराको नजिकबाट विश्लेषण गरिरहेका छौं,’ क्रेमलिन प्रवक्ता पेस्कोभले भने । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्भावित वार्ताका विषयमा पेस्कोभले आवश्यक परेको खण्डमा ‘धेरै चाँडै’ टेलिफोन वार्ता गराउने सकिने बताएका छन् । तर राष्ट्रपति पुटिनले ट्रम्पसँग मात्र कुरा गर्ने उनको भनाइ छ । त्यसैले आफ्नो कदम चाल्न आवश्यक पर्ने सबै जानकारी नभएसम्म क्रेमलिनले तत्कालका लागि आफ्नो कोर्टमा हानिएको बल समातिरहेको उनको भनाइ छ । तर यसअघि रुसी राष्ट्रपति पुटिनले युक्रेनले पुनः हतियार उठाउने र पुनः संगठित हुने अवसर प्रयोग गर्ने तर्क गर्दै अस्थायी युद्धविरामको प्रस्तावलाई बारम्बार अस्वीकार गरेका थिए । 

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले एकमहिने युद्धविराम प्रस्ताव ‘सकारात्मक’ भएको र रुसलाई मनाउने जिम्मा अमेरिकाको रहेको बताएका छन् । उक्त प्रस्तावमा युक्रेन सहमत भएसँगै अमेरिकाले तत्कालै सुरक्षा सहयोग र खुफिया सूचना आदानप्रदान पुनः सुरु हुने जनाएको छ । 

खनिज सम्झौताका लागि ह्वाइटहाउस पुगेका युक्रेनी राष्ट्रपति जेलेन्स्कीको अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भेन्ससँग चर्काचर्की परेपछि वासिङ्टनले ती सहयोग रोक्का गरिदिएको थियो । ‘दुवै देशका प्रतिनिधिमण्डलले युक्रेनको दीर्घकालीन सुरक्षा प्रदान हुने गरी दिगो शान्तिका लागि तत्काल वार्ता थाल्ने सहमति गरेका छन्,’ वार्तापछि जारी संयुक्त वक्तव्यमा भनिएको छ ।

यसअघि जेलेन्स्कीले हवाई र सामुद्रिक क्षेत्रमा मात्र सीमित युद्धविरामको प्रस्ताव गरेका थिए । तर अहिले युक्रेनले सहमति जनाएको तीसदिने युद्धविराममा जमिनको युद्धसमेत रोक्ने विषय समावेश गरिएको छ । जेलेन्स्कीले जेद्दाहमा भएको ‘रचनात्मक’ वार्ताका निम्ति ट्रम्पलाई धन्यवाद दिएका बीबीसीले उल्लेख गरेको छ । एक भिडिओ सन्देशमा उनले रुसले ‘युद्ध रोक्ने वा निरन्तर जारी राख्ने’ बारे अब स्पष्ट पार्नुपर्ने बताएका छन् । ‘अब पूर्ण सत्यको समय आएको छ,’ जेलेन्स्कीले भनेका छन् । 

युक्रेनले युद्धविरामका लागि अमेरिकी प्रस्ताव स्वीकार गर्न तयार रहेको बताएपछि केही युरोपेली नेताहरूले त्यसको स्वागत गरेका छन् । बेलायती प्रधानमन्त्री केयर स्टार्मरले युक्रेन र अमेरिकाबीचको वार्तामा भएको प्रगति सकारात्मक रहेको बताएका छन् । ‘हामीले अब दिगो, सुरक्षित शान्ति प्राप्त गर्न हाम्रा प्रयासलाई दोब्बर बनाउनुपर्छ,’ हाउस अफ कमन्सको प्रश्नोत्तरमा उनले भने, ‘हामीले थप प्रगति कसरी गर्न सक्छौं भनेर छलफल गर्न म शनिबार अन्तर्राष्ट्रिय नेताहरूलाई बोलाउनेछु ।’

जर्मन चान्सलर ओलाफ स्कोल्जले तीसदिने युद्धविराम युक्रेनका लागि न्यायपूर्ण शान्तितर्फको महत्त्वपूर्ण र सही कदम भएको बताएका छन् । ‘अब यो पुटिनमा निर्भर छ,’ उनले भनेका छन् । त्यस्तै, स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले पनि प्रस्तावका लागि किभको समर्थनलाई स्वागत गरेका छन् ।

लात्भियाका राष्ट्रपति एडगर्स रिन्केभिक्सले युक्रेनले न्यायपूर्ण र दिगो शान्ति प्राप्त गर्ने वास्तविक इच्छा देखाएको बताउँदै ‘बल अब रूसको कोर्टमा पुगेको’ बताएका छन् । युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध हुने तयारी गरेपछि २४ फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेको थियो । त्यसयता रुसले युक्रेनको करिब २० प्रतिशत भूभागमा नियन्त्रण लिइसकेको छ ।

एजेन्सी

Link copied successfully