क्यानडाको स्टिल र अल्मुनियममा ५० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

फाल्गुन २७, २०८१

एजेन्सी

Trump's announcement of a 50 percent tariff on Canadian steel and aluminum

काठमाडौँ — वासिङटन (एजेन्सी)- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने सबै स्टील र अल्मुनियममा ५० प्रतिशत कर लगाउने घोषणा गरेका छन् । यसअघि ट्रम्पले बुधबारदेखि कार्यान्वयन आउने गरी क्यानाडेली आयातमा २५ प्रतिशत करको घोषणा गरेका थिए । 

तर क्यानडाको ओन्टारियोले अमेरिकाको बिजुली निर्यातमा २५ प्रतिशत कर लगाएपछि ट्रम्पले स्टील र अल्मुनियमको आयात कर दोब्बर पारेका हुन् । ‘क्यानडाको ओन्टारियोले अमेरिकामा आउने बिजुलीमा २५ प्रतिशत कर लगाएको आधारमा मैले मेरो वाणिज्य मन्त्रीलाई २५ प्रतिशत कर थप्न निर्देशन दिएको छु,’ ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेखेका छन् । 

ओन्टारियोका प्रिमियर डग फोर्डले अमेरिका जाने बिजुलीमा २५ प्रतिशत करको घोषणा गरेका हुन् । उक्त कदमबाट अमेरिकाका उत्तरी सीमावर्ती राज्यहरू न्युयोर्क, मिसिगन र मिनेसोटाका लगभग १५ लाख घर तथा व्यवसायहरू प्रभावित हुनेछन् ।

‘राष्ट्रपति ट्रम्पको शुल्क अमेरिकी अर्थतन्त्रको लागि विपत्ति हो । तिनीहरूले अमेरिकी परिवार र व्यवसायहरूको जीवनलाई अझ महँगो बनाइरहेका छन्,’ फोर्डले एक विज्ञप्तिमा भनेका छन् । ट्रम्पले आयात शुल्क बढाएको खण्डमा जवाफी कदम चाल्ने उनको चेतावनी छ । ‘आवश्यक परेमा म यो शुल्क बढाउन हिचकिचाउने छैन,’ उनले भनेका थिए, ‘यदि अमेरिका बढ्यो भने, म बिजुली पूर्ण रूपमा बन्द गर्न हिचकिचाउने छैन ।’

एजेन्सी

Link copied successfully