काठमाडौँ — इजरायलले गाजामा तत्काल बिजुलीको आपूर्ति बन्द गरेको छ । इजरायलका अनुसार बाँकी रहेका ५९ बन्धकको तत्काल रिहाइका लागि हमासमाथि दबाब बढाउन यो कदम चालिएको हो ।
इजरायलका ऊर्जामन्त्री एली कोहेनका अनुसार इजरायल इलेक्ट्रिसिटी कर्पोरेशनलाई गाजामा विद्युत् आपूर्ति बन्द गर्ने आदेश दिइएको छ ।
‘मैले गाजा पट्टीमा तुरुन्तै बिजुली आपूर्ति काट्ने आदेशमा हस्ताक्षर गरेको छु । हामी बन्धकहरूको रिहाइ र गाजाबाट हमासको उन्मूलन सुनिश्चित गर्न उपलब्ध सबै उपायहरू प्रयोग गर्नेछौं,’ उनले भने ।
गत हप्ता इजरायलले गाजामा राहत सामग्री, तेल र अन्य सामग्री बोकेका सवारीसाधनहरूको बाटो अवरुद्ध गरेको थियो । ऊर्जामन्त्री कोहेनले पानी आपूर्ति बन्द गर्ने बारेमा पनि सोचिरहेको बताए ।
इजरायल हमासले आफ्नो युद्धविरामको पहिलो चरणको अवधि बढाउन स्वीकार गरोस् भन्ने चाहन्छ ।
तर हमासले भने युद्धविरामको दोस्रो चरणको वार्ता सुरु होस् भन्ने चाहेको छ ।
