काठमाडौँ — अमेरिकाले आफ्ना नागरिकको यात्रालाई लिएर एक एडभाइजरी जारी गरेको छ । जसमा अमेरिकाका नागरिकलाई भारत–पाकिस्तान सीमा र लाइन अफ कन्ट्रोल आसपास यात्रा नगर्न भनिएको छ ।
ट्राभल एडभाइजरीका अनुसार पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको यात्रा नगर्न पनि भनिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार उक्त एडभाइजरी जारी गर्नुको कारण यी क्षेत्रमा आतंकवाद र सशस्त्र संघर्षलाई मानिएको छ ।
एडभाइजरीमा भनिएको छ, ‘हिंस्रक चरमपन्थी समूह पाकिस्तानमा आक्रमण गरिरहेका छन् । बलुचिस्तान प्रान्त र खैबर पख्तुनख्वामा आतंकवादी आक्रमण लगातार भइरहेका छन् ।’
यस्तै अघि भनिएको छ, ‘यसमा भूतपूर्व संघीय प्रशासित बमाइली इलाका पनि समावेश छ । जसलाई एफएटीए अर्थात् फेडरली एडमिनिस्टर्ड ट्राइबल एरिया भनिन्छ । यहाँ ठूलो संख्यामा आतंकवादी आक्रमण भइरहेका छन् । जसमा कैयौंको ज्यान गइसकेको छ । यहाँ साना आक्रमण भइरहन्छन् ।’
आतंकवाद र चरमपन्थीद्वारा गरिएका हिंसाका कारण स्थानीय सैन्य र प्रहरी इलाका पनि सुरक्षित नभएको बताइएको बीबीसीले जनाएको छ । आतंकवादी तथा चरमपन्थीले बिना चेतावनी बजार, सपिङ मल, सैन्य प्रतिष्ठान, विमानस्थल, पर्यटनस्थल, स्कुल, अस्पताल, धार्मिकस्थल र सरकारी संरचनामा निशाना बनाइरहेका छन् ।
