काठमाडौँ — अदालतको रिहाइ स्वीकृतिविरुद्ध अभियोजन पक्षले पुनरावेदन नगर्ने निर्णय गरेपछि दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योललाई शनिबार रिहा गरिएको छ ।
युन कालो गाडीबाट ओर्लिए र सियोलबाट लगभग २० किलोमिटर दक्षिणमा रहेको उइवाङमा रहेको सियोल डिटेन्सन सेन्टरबाट बाहिर निस्किए । हात हल्लाएर बाटोमा उभिएका आफ्ना समर्थकहरूलाई नमन गरेको देखिएको छ ।
मध्य सियोलमा रहेको राष्ट्रपति निवासमा आइपुगेपछि महाभियोग लगाइएका नेता आफ्ना समर्थकहरूसँग हात मिलाउन फेरि गाडीबाट ओर्लिएका थिए । फेब्रुअरी ४ मा उनको कानुनी टोलीले गरेको नजरबन्द रद्द गर्न युनको अनुरोधलाई स्वीकार गर्दै सियोल केन्द्रीय जिल्ला अदालतले पक्राउ परेका राष्ट्रपतिको रिहाइलाई स्वीकृति दिएको थियो ।
युनलाई जनवरी १५ मा राष्ट्रपति कार्यालयबाट पक्राउ गरिएको थियो र जनवरी २६ मा विद्रोहको शंकास्पद नेताको रूपमा हिरासतमा राखिएको थियो । अभियोजकहरूले जनवरी २६ मा स्थानीय समय अनुसार साँझ ६:५२ बजे युनविरुद्ध आरोप लगाएका थिए । युनले गतवर्ष डिसेम्बर ३ को रातमा आपतकालीन मार्शल ल घोषणा गरेका थिए । तर विपक्षी नेतृत्वको राष्ट्रिय सभाले केही घण्टापछि यसलाई खारेज गरेको थियो ।
युनलाई महाभियोग लगाउने प्रस्ताव डिसेम्बर १४ मा राष्ट्रिय सभामा पारित भएको थियो । त्यसबेलादेखि संवैधानिक अदालतले युनको महाभियोगमा ११ वटा सुनुवाइ गरिसकेको छ जसको अन्तिम फैसला अर्को हप्ता आउने अपेक्षा गरिएको छ ।
