कंग्रेसको संयुक्त सत्रमा ट्रम्प पूर्वराष्ट्रपति बाइडेन र विपक्षी दलमाथि खनिए, मस्कको प्रशंसा गरे, युक्रेनी राष्ट्रपतिको पत्रबारे चर्चा गरे, ग्रिनल्यान्ड टापु र पनामा नहरलाई अमेरिकी नियन्त्रणमा ल्याउने दाबी गरे
काठमाडौँ — ह्वाइटहाउसमा उथलपुथलपूर्ण ६ साता लामो कार्यकालपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति कंग्रेसको संयुक्त सत्रमा ‘दम्भ र पक्षपातपूर्ण’ भाषण दिएका छन् ।
सय मिनेट लामो भाषणका क्रममा ट्रम्प पूर्वराष्ट्रपति जो बाइडेन र विपक्षी दलमाथि खनिए, अर्बपति इलन मस्कको प्रशंसा गरे, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको पत्रबारे चर्चा गरे, ग्रिनल्यान्ड टापु र पनामा नहरलाई अमेरिकी नियन्त्रणमा ल्याउने अनि अमेरिकी सपना नरोकिने दाबी गरे ।
ट्रम्पले गरेको अमेरिकाको आधुनिक इतिहासकै लामो भाषण गरेका सबैभन्दा लामो उक्त भाषणलाई रिपब्लिकनहरूले प्रशंसा गरेका छन् । तर विपक्षी दल डेमोक्रेटिकले भने ट्रम्पको आलोचन गरेका छन् । ट्रम्पले भाषणको सुरुवाततिरै अर्बपति सल्लाहकार इलन मस्कको प्रशंसा लिए । ग्यालरीमा बसेर ट्रम्पको भाषण सुनिरहेका मस्कले हालै स्थापित डिपार्टमेन्ट अफ गभर्नेमेन्ट इफिसियन्सी (डज) को नेतृत्वमा छन् । डजले दसौं हजार संघीय कर्मचारीहरूलाई हटाइसकेको छ भने अर्बौं डलर वैदेशिक सहायता रोकिसकेको छ । ‘उनले धेरै कडा मिहिनेत गरिरहेका छन् । उनलाई यो आवश्यक थिएन,’ ट्रम्पले भनेका थिए । ट्रम्पले प्रशंसा गरेपछि मस्क भने उठेर ट्रम्पलाई हात उठाएर धन्यवाद प्रकट गरेका थिए ।
ट्रम्पले मस्कको खर्च कटौती योजनाअनुसार गरिएका कामको सूची सुनाएपछि रिपब्लिकनहरू हाँसेका थिए । तर डेमोक्रेटहरूले भने ‘झूट’ र ‘इलनले चोर्छन्’ भन्दै चिच्याएका थिए । ट्रम्पले भाषण सुरु गरेको केही पाँच मिनटभित्रै टेक्सासबाट प्रतिनिधित्व गर्ने सांसद एआई ग्रिनलाई सुरक्षाकर्मीले संसद् भवनबाट बाहिर निकालेका थिए । राष्ट्रपति बोलिरहँदा अवरोध नगर्न र आफ्नो सिटमा बस्न सभामुखले दिएको आदेश नमानेपछि उनलाई हलबाट बाहिर निकालिएको थियो ।
ट्रम्पले बोलिरहँदा डेमोक्रेट सांसदरहरूले भने ‘यो झूट हो’ भन्दै कराएका थिए । विपक्षी दल डेमोक्रेटिक दलका महिला सांसदरूले भने प्रदर्शनका लागि गुलाबी रङका सुटहरू लगाएका थिए । तीमध्ये केहीले ‘प्रतिरोध’ लेखेका कपडा लगाएका थिए । भाषणका बेला विपक्षी दलका सांसदहरू हलबाट बाहिरिएपछि ट्रम्पले ‘उनीहरूलाई खुसी पार्न मैले भन्ने केही कुरा नभएको’ बताएका थिए ।
ट्रम्पले क्यानाडा र मेक्सिकोमाथि मंगलबार लगाएको २५ प्रतिशत र चीनमाथि थपेको १० प्रतिशत करबारे पनि बोले । आफ्नो कदमका कारण व्यापार युद्ध निम्तन सक्ने भए पनि त्यसप्रति उनी खासै गम्भीर भने देखिएनन् । आफ्नो कर नीतिले अमेरिकालाई फेरि महान् र धनी बनाउने उनको भनाइ छ ।
‘अन्य देशहरूले दशकौंदेखि हाम्रोविरुद्ध आयत कर लगाइरहेका छन् । अब हाम्रो पालो हो । औसतमा, युरोपेली संघ, चीन, ब्राजिल, भारत, मेक्सिको र क्यानाडाबारे तपाईंले सुन्नुभएको छ ? हामीलाई उनीहरूले उच्च शुल्क लिन्छन् । यो धेरै अनुचित छ,’ ट्रम्पले भने ।
ट्रम्पले सीमा सुरक्षा र अध्यागमनलाई आफ्नो प्रशासनले महत्त्व दिएको बताए । अमेरिकी इतिहासमा सबैभन्दा व्यापक सीमा र आप्रवासीमाथि कडाइ गरेको ट्रम्पको भनाइ छ । ‘मिडिया र डेमोक्रेटिक दलका हाम्रा साथीहरूले नयाँ कानुन चाहिएको बताएका थिए । तर हामीलाई नयाँ राष्ट्रपति चाहिएको थियो,’ ट्रम्पले भने ।
ट्रम्पले डेनमार्कको टापु ग्रिनल्यान्ड र पनामा नहरलाई अमेरिकाले नियन्त्रणमा लिने बताए । ‘मसँग ग्रिनल्यान्डका अविश्वसनीय मानिसका लागि सन्देश छ,’ ट्रम्पले भने, ‘आफ्नो भविष्य निर्धारण गर्ने तपाईंको अधिकारलाई हामी दृढतापूर्वक समर्थन गर्छौं र यदि तपाईंले छनोट गर्नुभयो भने हामी तपाईंलाई अमेरिकामा स्वागत गर्छौं ।’ ट्रम्पले अमेरिकाको र अन्तर्राष्ट्रिय सुरक्षाका लागि पनि ग्रिनल्यान्ड महत्त्वपूर्ण भएको दोहोर्याएका छन् ।
‘मलाई लाग्छ कि, हामी यसलाई प्राप्त गर्नेछौं, एक वा अर्को तरिकाले,’ ट्रम्पले भने, ‘हामी यसलाई प्राप्त गर्न जाँदैछौं । हामी तपाईंलाई सुरक्षित राख्नेछौं । तपाईंलाई धनी बनाउनेछौं । ग्रिनल्यान्ड धेरै सानो जनसंख्या छ तर सैन्य सुरक्षाका लागि धेरै महत्त्वपूर्ण छ ।’
त्यस्तै, उनले पनामा नहर निर्माणका क्रममा हजारौं अमेरिकीले ज्यान गुमाएका र पनामा नहर अमेरिकाका लागि आवश्यक भएको बताए । ‘हामीले पनामा नहर पनामालाई दिएका हौं । चीनलाई होइन,’ पनामा नहरका बन्दरगाह चिनियाँ कम्पनीले कब्जामा लिएको दाबी गर्दै ट्रम्पले भने ।
ट्रम्पले सन् २०२१ मा अफगानिस्तानबाट फिर्ता हुने क्रममा काबुल विमानस्थलमा गराइएको आत्मघाती बम विस्फोटमा मारिएका १३ जना अमेरिकी सैनिकको सम्झना गर्दै बाइडेन प्रशासनअन्तर्गतको फिर्तीलाई ‘विपत्तिजनक र अयोग्य’ भएको दाबी गरे । ‘हाम्रो देशको इतिहासमा सायद सबैभन्दा लाजमर्दो क्षण हो,’ उनले भने ।
त्यसपछि उनले बम आक्रमणका लागि जिम्मेवार शीर्ष आतंकवादीलाई भर्खरै पक्राउ गरिएको घोषणा गर्न पाएकामा गर्व लागेको बताए । ‘ती आतंकवादी हाल अमेरिकी न्यायको तेज तरबारको सामना गर्दै छन्,’ ट्रम्पले भने, ‘यस राक्षसलाई पक्राउ गर्न मद्दत गरेकोमा पाकिस्तान सरकारलाई धन्यवाद दिए ।
सम्बोधनका क्रममा ट्रम्पले टेक्सासस्थित वन्यजन्तु संरक्षण केन्द्रको नाम ह्युस्टनकी एक बालिकाको नाममा राखिएको बताए । गत वर्ष कागजातविहीन एक आप्रवासीद्वारा मारिएकी १२ वर्षीया ती बालिकाकी आमा ट्रम्प पत्नी मेलानियसँगै संसद् भवनमा उपस्थित भएकी थिइन् ।
भाषणका क्रममा ट्रम्पले एउटा १३ वर्षीय बालकलाई ‘सेक्रेट सर्भिस’ को अधिकारी नियुक्त गर्ने आश्चर्यजनक प्रस्ताव गरे । मस्तिष्कको क्यान्सर भएका जेडी ड्यानिअललाई ‘सेक्रेट सर्भिस’ का नयाँ निर्देशकले फौजको सदस्यका रूपमा शपथ गराउने घोषणा गरे र ‘सेक्रेट सर्भिस’ मा नियुक्त भएको ब्याच प्रदान गरेका थिए ।
सम्बोधनको अन्त्यमा ट्रम्पले ‘अमेरिकाको स्वर्ण युग भर्खरै सुरु भएको’ बताएका छन् । कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकीको जीवनस्तर सुधार्ने बताएका छन् । ‘जीवनको उच्चतम गुणस्तर निर्माण गर्न, सुरक्षित, धनी र स्वस्थ समुदाय निर्माण गर्न जाँदै छौं,’ उनले भने, ‘हामी विज्ञानको विशाल सिमानाहरू जित्न जाँदै छौं र हामी मानवतालाई अन्तरिक्षमा लैजानेछौं र मंगल ग्रह र त्यसभन्दा टाढा पनि अमेरिकी झन्डा रोप्नेछौं ।’
(एजेन्सीहरूको सहयोगमा)
