अदालतमा उपस्थित नहुँदा राहुल गान्धीलाई दुई सय रुपैयाँ जरिवाना

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

Rahul Gandhi fined Rs 200 for not appearing in court

काठमाडौँ — उत्तर प्रदेशको लखनऊ अदालतले कांग्रेस नेता राहुल गान्धीलाई दुई सय भारतीय रुपैयाँ जरिवाना तोक्दै १४ अप्रिलसम्म अदालतमा हाजिर हुन निर्देशन दिएको छ ।

सन् २०२२ मा महाराष्ट्रको अकोलामा वीर सावरकरविरुद्ध विवादित बयान दिएको उनीमाथि आरोप छ । यसबारे गत जुनमा लखनऊ अदालतमा राहुलविरुद्ध रिट दायर भएको थियो । 

लगातार पेशीका लागि बोलाइए पनि उनी उपस्थित नभएपछि अदालतले जरिवाना तोकेको हो । रिटमा राहुलले सावरकरलाई ‘अंग्रेजको नोकर’ र ‘पेन्सन लिनेवाला’ भनेको आरोप छ । 

अदालतले आगामी सुनुवाइमा उपस्थित नभएमा गैर जमानतको वारेन्ट जारी हुनसक्ने बताएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यद्दपि यो पहिलोपटक भने होइन ।

राहुलविरुद्ध झारखण्डको चाइबासा अदालतले गत वर्ष गैर जमानती वारेन्ट जारी गरेको थियो । त्यसबेला गृहमन्त्री अमित शाहविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully