काठमाडौँ — उत्तराखण्डको चमौलीमा गएको हिमपहिरोमा परी ४ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान हिमपहिरोले बोर्डर रोड अर्गनाइजेसन(बीआरओ) को क्याम्प पुरिँदा ५४ जना फसेका थिए ।
पहिले ५७ भनिए पनि ५४ जना फसेको पुष्टि भएको चमौलीका जिल्ला अधिकारी सन्दीप तिवारीले जानकारी दिएका छन् ।
जिल्ला अधिकारी तिवारीका अनुसार ८ वटा कन्टेनरमा ५४ जना कामदार थिए । शुक्रबार र शनिबार गरी उनीहरूको उद्धार भएको पनि भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
जिल्ला अधिकारी तिवारीका अनुसार चिकित्सकले शनिबार ४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । अझै पनि केही व्यक्ति बेपत्ता भएको आशंकामा खोजी कार्य जारी रहेको भारतीय सेनाले जानकारी दिएको छ । समाचार संस्था एएनआईका अनुसार कामदारहरूको खोजीका लागि थर्मन इमेज क्यामेरा प्रयोग गरिएको छ ।
