लन्डन — बेलायत र फ्रान्सले युद्धग्रस्त युक्रेनमा शान्ति स्थापनाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्ने भएका छन् । युक्रन युद्ध रोक्ने विषयमा बेलायत र फ्रान्सले शान्ति योजना तयार गर्ने र त्यसबारे ट्रम्पसँग छलफल गर्ने बेलायती प्रधानमन्त्री केयर स्टार्मरको भनाइ छ ।
स्टार्मरका अनुसार युक्रेनी राष्ट्रपति जेलेन्स्की र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंसँगको छलफलपछि युद्ध रोक्नका लागि काम गर्ने सहमति भएको हो । यसमा अन्य एक-दुई देश थपिन सक्ने स्टार्मरको भनाइ छ । ‘बेलायत, फ्रान्स र सम्भवतः एक वा दुई अन्य देश युक्रेनसँग लडाइँ रोक्ने योजनामा काम गर्नेछन् । र, त्यसपछि हामीले त्यो योजनाबारे अमेरिकासँग छलफल गर्नेछौं ।’
युक्रेनले तीन वर्ष लामो रक्तपातपूर्ण द्वन्द्व भोगेको र सबै मिलेर काम गर्न सक्ने बाटो खोज्नुपर्ने स्टार्मरको भनाइ छ । ‘अब हामी दिगो शान्तिमा पुग्नुपर्छ । मलाई लाग्छ हामीले सही दिशामा एक कदम चालेका छौं,’ स्टारमरले बीबीसीमा भनेका छन् ।
यसअघि बेलायतले युक्रेनलाई २ अर्ब २६ करोड पाउन्ड सहयोग गर्ने विषयमा सम्झौता भइसकेको छ । खनिज सम्झौताका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग चर्काचर्की भएपछि बेलायत पुगेका युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र बेलायती प्रधानमन्त्री स्टार्मरबीच सहायता सम्झौता भएको हो । सम्झौताका क्रममा स्टार्मरले बेलायत सधैं युक्रेनको साथमा रहेको बताएका थिए ।
युक्रेन युद्धका विषयमा बेलायत र फ्रान्सको अगुवाईमा लन्डनमा युरोपेली नेताहरूले बैठक गरेक छन् । बैठकमा केयर स्टार्मर, म्याक्रों, जेलेन्स्कीसँगै युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान डेर लियोन, युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा लगायत विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरूको उपस्थित छन् ।
बैठकमा फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टब, रोमानियका कार्यबाहक राष्ट्रपति इलिए बोलोजान, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, जर्मनीका चान्सलर ओलाफ स्कोल्ज, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक स्कोफ, डेनमार्कका प्रधानमन्त्री मेट फ्रेडरिक्सन, स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टेर्सन, नर्वेका प्रधानमन्त्री युनास स्टोर, उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो) प्रमुख मार्क रुट लगायत सहभागी रहेका बीबीसीले जनाएको छ ।
सम्मेलनअघि इटालीका प्रधानमन्त्री मेलोनीले पत्रकारहरूसँग कुरा गर्दै सबै युरोपेली नेताहरू एउटै लक्ष्यमा प्रतिबद्ध रहेको र युक्रेनमा न्यायपूर्ण र दिगो शान्ति चाहेको बताएकी छन् । ‘मलाई लाग्छ हामी पश्चिममाहरू विभाजनको जोखिमबाट जोगिनुपर्छ । यसका लागि बेलायत र इटालीले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्,’ मेलोनीले भनिन् ।
