काठमाडौँ — भारतले संयुक्त राष्ट्र मानवअधिकार परिषद्मा पाकिस्तानलाई ‘असफल देश’को रुपमा टिप्पणी गर्दै अब अन्तर्राष्ट्रिय सहयोगको भरोसामा मात्र टिकिरहेको बताएको छ ।
परिषद्को ५० औं सत्रको बैठकमा भारतीय डिप्लोम्याट क्षीतिज त्यागीले पाकिस्तानी नेतृत्वमाथि सेनाका तर्फबाट हुने प्रोपोगान्डालाई फैलाउने गरेको आरोपसमेत लगाएका छन् ।
त्यागीले पाकिस्तानी कानुनमन्त्री आजम नजीर तरारले जम्मू–कश्मीरमा मानवधिकार उल्लंघन भइरहेको आरोपपछि यस्तो टिप्पणी गरेका हुन् ।
त्यागीले भने, ‘यो एकदमै दु:खद छ कि पाकिस्तान लगातार कश्मीर र भारतमाथि झुट फैलाइरहेको छ । त्यहाँका प्रतिनिध ओआईसीजस्तो मञ्चको मजाक बनाइरहेका छन् । पाकिस्तान ओआईसीलाई आफ्नो मुखपत्रजस्तो प्रयोग गर्दै यसको दुरुपयोग गरिरहेको छ ।’
केन्द्र शासित प्रदेश जम्मू–कश्मीर र लद्दाख सधैं भारतको अभिन्न अंग रहँदै आएको र अगाडी पनि रहने त्यागीले बताएका छन् । उनले भने, ‘जम्मू–कश्मीरमा पछिल्लो केही वर्षयता अभूतपूर्व राजनीतिक, सामाजिक र आर्थिक उन्नति भइरहेको छ ।’
