ट्रम्पको निसानामा सैन्य नेतृत्व 

चिफ अफ स्टाफ्स् चार्ल्स 'सीक्यू' ब्राउन बर्खास्त 

फाल्गुन १०, २०८१

एजेन्सी

Military leadership targeted by Trump

वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च सैन्य नेतृत्वमा ठूलो फेरबदलको तयारी स्वरूप 'जोइन्ट चिफ अफ स्टाफ्स्‌' अध्यक्षलाई बर्खास्त गरेका छन् । ट्रम्पले अप्रत्यासित रूपमा चिफ अफ स्टाफ्स् अध्यक्ष चार्ल्स क्यू ब्राउन जुनियरलाई पदबाट हटाएका हुन् ।  

'म जर्नेल चार्ल्स क्यू ब्राउनलाई हाम्रो देशको लागि ४० वर्ष भन्दा लामो सेवाको लागि धन्यवाद दिन चाहन्छु,'  ट्रम्पले सोशल मिडियामा लेखेका छन् । बीबीसीका अनुसार उनले अन्य पाँच जना उच्च पदस्थ सैन्य अधिकारीलाई पनि सरुवा गरिएको बताएका छन् ।  

अमेरिकामा जोइन्ट चिफ अफ स्टाफ्स् अध्यक्षले राष्ट्रपति र रक्षामन्त्रीलाई राष्ट्रिय सुरक्षामा सल्लाह दिने गर्छ । ब्राउन उक्त पदमा पुग्ने दोस्रो अश्वेत अधिकारी हुन् । सन् १९८९ देखि चार वर्षसम्म सेवारत कोलिन पावेल पहिलो अश्वेत जोइन्ट चिफ अफ स्टाफ थिए ।

यसअघि अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सेनामा विविधता, समता र समावेशी कार्यक्रममा ध्यान केन्द्रित गरेकोले जनरल ब्राउनलाई बर्खास्त गर्नुपर्ने बताएका थिए । त्यस्तै, हेगसेथले दुई अतिरिक्त वरिष्ठ सैन्य अधिकारीलाई बर्खास्त गर्ने घोषणा गरेका थिए । नौसेना अपरेसन्स् प्रमुख एडम लिसा फ्रानचेट्टी र वायुसेनाका उप-प्रमुख जर्नेल जिम स्लाइफलाई हेगसेथले निसाना बनाएका हुन् । फ्रानचेट्टी अमेरिकी नौसेनाको नेतृत्व गर्ने पहिलो महिला हुन् ।  

शुक्रबार हटाइएका तीनै शीर्ष अधिकारीहरू ट्रम्पका पूर्ववर्ती जो बाइडेनले नियुक्त गरेका थिए । 'राष्ट्रपति ट्रम्पको नेतृत्वमा हामीले नयाँ नेतृत्व चयन गर्नेछौं, जसले हाम्रो सेनालाई रोक्न, लडाई र युद्ध जित्ने मुख्य मिसनमा केन्द्रित गर्नेछ,' हेगसेथले एक विज्ञप्तिमा भनेका छन् । 

ट्रम्पले हालै सीआईएको सहायक निर्देशकको रूपमा सेवा गरेका वायुसेनाका लेफ्टिनेन्ट जर्नेल ड्यान केनलाई केनलाई चिफ अफ स्टाफ्स्‌को नयाँ अध्यक्ष बनाउने बताएका छन् । गत वर्ष 'कन्जरभेटिभ पोलिटिकल एक्शन कन्फरेन्स'का क्रममा ट्रम्पले इराकमा जर्नेल केनसँगको पहिलो भेटबारे स्मरण गरेका थिए । 'उनी तपाईंले पाउने कुनै पनि चलचित्र अभिनेता भन्दा राम्रो देखिन्थे,' ट्रम्पले भनेका थिए । सोही भाषणमा उनले अमेरिकी सेनाको प्रशंसा गरेका थिए । 

जर्नेल ब्राउन ट्रम्पले आफ्नो प्रस्थानको घोषणा गर्नुभन्दा झण्डै दुई घण्टा अघि शुक्रबार दक्षिणी अमेरिकी सीमामा सेन्य भ्रमणमा थिए । सन् २०२७ मा कार्यकाल सकिने भएपनि केहि दिनयता ट्रम्पले ब्राउनलाई हटाउन लागेको हल्ला चलेको थियो । 

सन् २०२० मा अश्वेत अमेरिकी जर्ज फ्लोयडको मृत्युपछिको अभिव्यक्तिका कारण जर्नेल ब्राउन समाचारमा छाएका थिए । सन् २०२२ मा वायुसेनाको चिफ अफ स्टाफ हुँदा ब्राउनले अल्पसंख्यक अश्वेतहरूको अनुपात बढाउन विविधता कार्यक्रममा हस्ताक्षर गरेका थिए । 

एजेन्सी

Link copied successfully