अमेरिकाको टेक्ससमा नेपालको झल्को

फाल्गुन ५, २०८१

सुदीप शिवाकोटी

A glimpse of Nepal in Texas, America

अमेरिका — घनघन बजेको पञ्चेबाजा, श्रृङ्गारिएकी कुमारी, दौरासुरुवाल ढाका टोपी, गुन्यु चोलोको पहिरनसँगै प्रदर्शनमा राखिएको बुद्धको मूर्ति, जाँतो र हलोले अमेरिकाको टेक्ससमा नेपालको झल्को दिएको छ ।

शनिबार टेक्ससको राजधानी अस्टिनमा मनाइएको ‘नेपाल डे’मा नेपालको झल्को दिने प्रदर्शन प्रस्तुत गरिएको थियो । नेपाल–अमेरिका द्वत्य सम्बन्धको ७५ वर्ष पुगेसँगै २०२३ मा टेक्सस राज्यसभाले फ्रेबुअरी १६ लाई ‘नेपाल डे’ घोषणा गरेको थियो । सोही अवसरमा दर्जन बढी नेपाली समुदायका संघ–संस्थाहरुले शनिबार नेपाल परेड कार्यक्रम आयोजना गरेका हुन् । 

टेक्ससमा दोस्रो पटक आयोजना गरिएको नेपाल परेडमा नेपालको संस्कृति, परम्परालाई प्रस्तुत गरिएको हो । कार्यक्रममा करिब १ हजार ५ सय नेपाली उपस्थित थिए । उनीहरुले आफ्नो भेषभुषाका साथ पञ्चेबाजाको धुनमा नेपालसँग सम्बन्धित गीत बजाउँदै र्‍याली निकालेका थिए ।

A glimpse of Nepal in Texas, America

कार्यक्रममा ७ वर्षीया नीमा मानन्धरलाई कुमारी बनाइएको थियो । उनी पहिलो पटक कुमारी बनेकी थिइन् । ग्रेटर अस्टिन नेपाली सोसाइटीको मुख्य आयोजनामा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका, भिजिट नेपाल अभियान, नेपाल अमेरिका पत्रकार संघ (नेजा), न्यूअस्टिन मधेसी नेपाली समाज, तामाङ सोसाइटी, फारवेस्टन नेप्लीज सोसाइटी, नेप्लीज सोसाइटी अफ टेक्सस (एनएसटी) लगायत दर्जन बढी नेपाली संघसंस्थाले सहभागीता जनाएका थिए ।

A glimpse of Nepal in Texas, America

ग्रेटर अस्टिन नेपाली सोसाइटीका अध्यक्ष विदुर खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा युलेस सिटी काउन्सिलका उपमेयर टिका पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले अमेरिकामा नेपालीको कला, संस्कृति र पराम्परा मौलाउँदै गएको बताए ।

उनले नेपालीको संख्या बढेसँगै हाम्रा पुस्ताहरुलाई कला, संस्कृतिबारे बुझाउन र अमेरिका र अमेरिकीसामु नेपाल चिनाउन यस्ता कार्यक्रमहरुले टेवा पुर्‍याउन उनले दाबी गरे । ‘हामीले हाम्रो मातृभूमि चिनाउन यहाँको राज्यसभाबाट नेपाल डे घोषणा गराएसँगै अमेरिकामा नेपालको कल संस्कृतिबारे प्रचारप्रसार गर्न मद्दत पुगेको छ,’ उनले भने, ‘यो हाम्रो लागि गौरवको विषय हो ।’

A glimpse of Nepal in Texas, America

अमेरिकाको न्यूयोर्क, मेरिल्याण्ड, म्यासाच्युसेस्ट, क्यालिफोर्नियाको राज्य सभाले पनि नेपाल डे घोषणा गरेको मितिमा त्यहाँका नेपाली समुदायले नेपाल परेड कार्यक्रम आयोजना गर्दै आएका छन् । यी राज्यमध्ये टेक्ससमा सबैभन्दा बढी नेपाली बसोबास गर्छन् । 

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully