रुस-युक्रेन युद्धबारे साउदी अरबमा वार्ता हुने 

फाल्गुन ४, २०८१

एजेन्सी

Russia-Ukraine war to be discussed in Saudi Arabia

वासिङटन — रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले रुसी अधिकारीहरूसँग साउदी अरबमा वार्ता गर्ने जनाएको छ । अमेरिकी अधिकारीहरूका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आगामी दिनमा साउदी अरबमा रुसी अधिकारीहरूसँग भेट्ने योजना बनाएका हुन् । 

वार्तामा रुबियोसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफ पनि सहभागी हुने सीबीएस न्युजले जनाएको छ । युक्रेनका लागि अमेरिकी विशेष दूत किथ केलोगले वार्तामा वासिङ्टन, मस्को र किभ सहभागी हुने बताएका छन् । उनले आफु पनि वार्तामा उपस्थित नहुने बताएका छन् । 

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने साउदी अरबमा हुने भनिएको वार्ताका लागि किभलाई निमन्त्रणा नगरिएको बताएका छन् । युक्रेनले कुनै प्रतिनिधिमण्डल पठाउने योजना नबनाएको उनको भनाइ छ । युरोपेली नेताहरूले युरोपसँग परामर्श नगरी अमेरिका रुससँगको शान्ति वार्तामा अगाडि बढिरहेको भन्दै आपत्ति जनाएका छन् । 

युक्रेनका युरोपेली सहयोगीहरूले युद्धमा आपत्‍कालीन शिखर सम्मेलनका लागि अर्को साता फ्रान्सको पेरिसमा भेला हुँदैछन् । वार्तामा युरोपलाई निम्तो नदिएको केलोगको भनाइ छ । यसअघिका वार्तामा धेरै पक्षहरू संलग्न भएकाले टुंगोमा पुग्न नसकेको उनको दाबी छ । 

अमेरिकी विदेशमन्त्री रुबियोले शनिबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग कुरा गरेका थिए । विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसका अनुसार लाभरोभसँगको कुराकानीमा रुबियोले 'युक्रेनमा द्वन्द्व अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिबद्धता' दोहोर्‍याएका थिए । 

एजेन्सी

Link copied successfully