रुसी राष्ट्रपति पुटिनसँग लामो र निकै फलदायी कुराकानी भएको ट्रम्पको भनाइ
काठमाडौँ — रुस र युक्रेन युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र रुसका राष्ट्रपतिबीचको टेलिफोन वार्ताले युरोपमा ठूलै तरंग उत्पन्न गराएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा रुसी समकक्षी भ्लादिमिर पुटिनसँग लामो र निकै फलदायी टेलिफोन वार्ता भएको उल्लेख गरे ।
पुटिनसँगको वार्तामा युक्रेन युद्ध अन्त्य गर्न तत्कालै वार्ता सुरू गर्ने सहमति जुटेको ट्रम्पले जनाएका छन् । दुवै देशले युक्रेन युद्ध अन्त्य गर्नका लागि वार्ता थाल्ने उनको भनाइ छ । कुराकानीका क्रममा दुवै राष्ट्रपतिले एकअर्कालाई आ-आफ्ना देशको भ्रमणका लागि निम्ता पनि दिएका छन् ।
रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई मस्को भ्रमणका लागि निमन्त्रणा गरेका रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए । ट्रम्पले पुटिनसँगको भेटको मितिबारे केही उल्लेख नगरे पनि साउदी अरबमा भेट हुने बताएका छन् ।
पुटिनसँगको वार्तापछि राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले वार्ता टुंगोमा पुगेको खण्डमा युक्रेनले उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो) को सदस्यता नपाउने र युद्धका क्रममा गुमाएका सबै भूभाग फिर्ता नपाउन सक्ने बताएका छन् ।
'मैले शान्ति स्थापनाको प्रयास गर्दैछु,' राष्ट्रपति ट्रम्पले भनेका छन्, 'म लाखौं मानिसहरूको हत्या गर्न रोक्न चाहन्छु । त्यसबाहेक मलाई अन्य कुनै कुराको वास्ता छैन ।' युक्रेन सन् २०१४ अघिजस्तै आफ्नो सीमामा फर्कने सम्भावना नभए पनि केही भूमि भने फिर्ता आउने ट्रम्पको भनाइ छ ।
‘हामी दुवै सहमत भएकाले रुस-युक्रेन युद्धमा लाखौंको मृत्यु रोक्न चाहन्छौं,' ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन् । क्रेमलिन प्रवक्ता पेस्कोभले पनि सँगै काम गर्ने समय आएको ट्रम्पको विचारलाई पुटिनले समर्थन गरेको बताएका छन् ।
पेस्कोभले अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनले युक्रेन युद्ध जारी राख्न र रुस-अमेरिका सम्बन्ध निकट हुन नदिन सबै उपाए अपनाएको आरोप लगाएका छन् ।
ट्रम्पले पुटिनसँग एकअर्काको देश भ्रमण गर्नेदेखि धेरै नजिकबाट काम गर्ने विपयमा सहमति भएको बताए । अमेरिकी राष्ट्रपतिले सन् २००९ यता रुसको र रुसी राष्ट्रपतिले सन् २०१५ यता अमेरिकाको भ्रमण गरेका छैनन् ।
दुई नेताहरूको टेलिफोन वार्ताबारे ट्रम्पको भनाइ सार्वजनिक भएसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पनि ट्रम्पसँग दीर्घकालीन र भरपर्दो शान्ति स्थापनका विपषयमा कुराकानी भएको बताएका छन् ।
जेलेन्स्कीले ट्रम्पसँग फोनमा निकै अर्थपूर्ण कुराकानी भएको बताएका छन् । 'युक्रेनभन्दा बढि शान्ति चाहने कोही छैन,' जेलेन्स्कीले भनेका छन्, 'हामी अमेरिकासँग मिलेर रुसी आक्रामकता रोक्न र दिगो तथा भरपर्दो शान्ति सुनिश्चित गर्न तयार भएका छौं ।'
म्यूनिख सुरक्षा सम्मेलनको साइडलाइन वार्तामा जेलेन्स्कीले शुक्रबार उप-राष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोसँग भेटवार्ता गर्ने ट्रम्पको भनाइ छ ।
यसअघि अमेरिकी रक्षामन्त्री पिट हेगसेथले युक्रेन नेटोमा आवद्ध हुने सम्भावना कम भएको बताएका थिए । नेटोका रक्षामन्त्रीहरूको बेल्जियममा आयोजित बैठकका क्रममा हेगसेथले युक्रेनले रुसले कब्जा गरेको सबै भूमि फिर्ता लिन नसकिने स्विकार गर्नुपर्ने बताएका छन् । 'हामी सन् २०१४ अगाडीको अवस्थामा फर्कन खोज्नु असम्भव हो भनेर स्विकार गर्नुपर्छ,' हेगसेथले भने । त्यस्तो लक्ष्य पछ्याउँदा युद्ध लम्बिने र थप पीडा निम्तने उनको भनाइ छ ।
तर युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने आफ्नो देशको संलग्नताबिना अमेरिका र रुसबीच भएको कुनै पनि शान्ति सम्झौतालाई आफ्नो देशले स्वीकार नगर्ने बताएका छन् । सबै कुरा पुटिनको योजनाअनुसार हुन दिन नहुने जेलेन्स्कीको भनाइ छ ।
'मलाई रुसी प्राथमिकताअनुसार ट्रम्प र पुटिनबीच वार्ता भएको भन्ने लाग्दैन । तर यो राम्रो भयो भन्ने लाग्दैन। किनभने युक्रेनबिना युक्रेनबारे कुनै कुरा हुन सक्दैन,' जेलेन्स्कीले भनेका छन् । उनले ट्रम्पसँगको टेलिफोन कुराकानीमा भने नेटोका विषयमा छलफल नभएको बताएका छन् ।
त्यस्तै, बेलायतले पनि युक्रेनको संलग्नताबिना युक्रेनको विषयमा कुनै पनि वार्ता नहुने जनाएको छ । नेटोका रक्षामन्त्रीहरूको बैठकमा भाग लिन बेल्जियम पुगेका बेलायती रक्षामन्त्री जोन हेलीले युक्रेनका विषयमा हुने कुनै पनि वार्तामा युक्रेनी पक्षको संलग्नता अनिवार्य भएको बताएका हुन् ।
'युक्रेनबिना युक्रेनको विषयमा कुनै वार्ता हुन सक्दैन,' उनले भने । अमेरिका र रुसका राष्ट्रपतिबीच युक्रेन युद्ध अन्त्य गर्न विषयमा टेलिफोन कुराकानी भएको सार्वजनिक भएसँगै हेलीको प्रतिक्रया सार्वजनिक भएको हो । ट्रम्पको भनाइको जवाफ दिँदै हेलीले भनेका छन्, 'नेटोको काम कुनै पनि वार्ताका लागि युक्रेनलाई सबैभन्दा बलियो स्थितिमा राख्नु हो ।'
नेटोमार्फत युक्रेनलाई समर्थन गर्ने नयाँ घोषणा हुने उनको भनाइ छ । 'हामी दिगो शान्ति चाहन्छौं । द्वन्द्व र आक्रामकतामा फर्किन चाहँदैनौं,' उनले भनेका छन्, 'यो पनि नबिर्सौं कि रूस युक्रेनभन्दा बाहिर पनि खतरा छ ।'
बीबीसीका अनुसार नेटोका विदेशमन्त्रीहरूको बैठकले भने युक्रेनलाई दिँदै आएको सहयोग थप मजबुद बनाउने सहमित गरेको छ । पोल्याण्डका रक्षामन्त्री भ्लादिस्लाव कोसिनियाक-कामिस्जले नेटोको 'र्यापिड रेस्पोन्स फोर्स' बढाउने योजनामा सहमति भएको बताएका छन् ।
नेटोको वेबसाइटका अनुसार स्थल, जल र हवाई सेनाका एकाइहरू संलग्न 'र्यापिड रेस्पोन्स फोर्स प्राविधिक रूपमा उन्नत र ले तत्काल प्रतिक्रिया जनाउने फौज हो । उक्त फौजले पोल्याण्डलगायत नेटोको पूर्वी भागको रक्षा गर्ने क्षमतालाई बलियो बनाउने कामिस्जको भनाइ छ ।
त्यस्तै नेटो प्रमुख मार्क रुटले युक्रेनमाथिको समर्थन जारी राख्ने बताएका छन् । युक्रेनलाई लडाइँको मोर्चामा बलियो अवस्थामा कायम राख्नु र वार्ताको नतिजा आफ्नो पक्षमा पार्न नेटो क्रियाशील रहेको उनको भनाइ छ । 'कुनै पनि वार्ताको नतिजा दिगो र बलियो हुनुपर्छ, ताकी पुटिनले फेरि कहिल्यै युक्रेनी भूमि कब्जा गर्ने प्रयास नगरून्,' उनले भनेका छन् ।
नेटोले युक्रेनका लागि ५० अर्ब युरोभन्दा बढीको सैन्य सहयोग गरेको जनाउँदै उनले युक्रेन र नेटोबीच संयुक्त कमाण्ड संरचना निर्माण भएको बताए । युक्रेन मामिलाबाट नेटोले केही सिकेको उनको भनाइ छ ।
त्यस्तै, जर्मन रक्षामन्त्रि बोरिस पिस्टोरियसले पनि अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइप्रति असहमति जनाएका छन् । उनले सबै कुरा वार्ताको टेबुलमा गर्नु राम्रो हुने सुझाव दिए । 'मेरो विचारमा युक्रेनको सम्भावित नेटो सदस्यता वा सम्भावित भूभागको क्षतिबारे वार्ताको टेबलमा बोल्नु राम्रो हुने थियो,' उनले भने । फ्रान्सका विदेशमन्त्री सेबास्टियन लेकोर्नुले पनि 'शक्तिमार्फत शान्ति' को विकल्प उचित नभएको बताएका छन् ।
(एजेन्सीहरूको सहयोगमा)
